आईपीओ ल्याउन अब नयाँ मापदण्ड, सेबाेनले जारी गरेकाे सार्वजनिक निष्काशनको सामान्य योग्यता सम्बन्धी निर्देशिकामा के छ ?
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्न चाहने कम्पनीका लागि सार्वजनिक निष्काशनको सामान्य योग्यता सम्बन्धी निर्देशिका, २०८३ को मस्यौदा तयार पारेको छ।
सार्वजनिक निष्काशनका लागि योग्य, पारदर्शी तथा दिगो संगठित संस्थाहरूको छनोट सुनिश्चित गर्ने र लगानीकर्ताको हित संरक्षण गर्ने उद्देश्यले यो निर्देशिका तयार पारिएको सेबोनले जनाएको छ।
यसका साथै पुँजी बजारमा निष्पक्ष, व्यवस्थित तथा विश्वसनीय सार्वजनिक निष्काशन प्रणालीको विकास गर्ने, सुशासन, वित्तीय अनुशासन तथा पारदर्शितालाई प्रवर्द्धन गर्ने, विभिन्न उद्योगको प्रकृति अनुरूप जोखिममा आधारित प्रारम्भिक सार्वजनिक निष्काशन योग्यता प्रणाली विकास गर्ने र नेपालको पुँजी बजारको दीर्घकालीन तथा दिगो विकासमा योगदान पुऱ्याउने उद्देश्यसमेत यो निर्देशिकाको रहेको छ।
यो निर्देशिका सर्वसाधारणमा धितोपत्र निष्काशन गर्न चाहने, पब्लिक कम्पनीमा रूपान्तरण भई सार्वजनिक निष्काशन गर्न चाहने र प्रचलित कानून बमोजिम सार्वजनिक निष्काशनको स्वीकृति प्राप्त अन्य संगठित संस्थाहरूमा लागू हुनेछ।
आईपीओ निष्काशनका लागि चाँहिने सामान्य याेग्यता
सार्वजनिक निष्काशन गर्न चाहने प्रत्येक संगठित संस्थाले यो निर्देशिका तथा प्रचलित कानून बमोजिम निश्चित आधारभूत योग्यताहरू पूरा गरेको हुनुपर्छ। जसअन्तर्गत संस्था प्रचलित ऐन बमोजिम विधिवत् रूपमा दर्ता भएको हुनुपर्नेछ।
यसैगरी, संस्थाले आफ्नो मुख्य उद्देश्य प्राप्तिका लागि उपयोग गरिएको सम्पत्तिको आधारमा व्यवसाय सञ्चालन गरी लेखापरीक्षण तथा वार्षिक साधारण सभा गरिसकेको हुनुपर्नेछ भने प्रचलित कानून बमोजिम आवश्यक इजाजत, अनुमति वा स्वीकृति प्राप्त गरेको हुनुपर्नेछ। साथै, निर्देशिकामा तोकिएका वित्तीय, संस्थागत सुशासन तथा सूचना प्रवाहसम्बन्धी मापदण्ड पूरा गरेको हुनुपर्छ।
सार्वजनिक निष्काशनबाट प्राप्त हुने रकमको उपयोगसम्बन्धी स्पष्ट योजना साधारण सभाबाट स्वीकृत भएको हुनुपर्छ। संगठित संस्था वा यसको संस्थापक शेयरधनी, सञ्चालक तथा प्रमुख व्यवस्थापनका व्यक्तिहरू यो निर्देशिका बमोजिम योग्य रहेको हुनुपर्नेछ। निष्काशन तथा बिक्री प्रबन्धकले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने संस्थाका योग्यताहरू पूरा भएको सुनिश्चित गरेपछि मात्र निष्काशन तथा बिक्री सम्झौता गर्नुपर्छ।
प्रारम्भिक सार्वजनिक निष्काशन गर्नुपर्ने न्यूनतम शेयर संख्या बोर्डले तोके बमोजिम हुनेछ। संगठित संस्थाले आफ्नो आधिकारिक वेबसाइट सञ्चालनमा ल्याएको हुनुपर्छ, जसमा कम्तिमा विगत ३ वर्षको वित्तीय विवरण सहितको वार्षिक प्रतिवेदन, व्यवसायिक सम्भावना र चुनौती, भावी योजना, सञ्चालक समितिका सदस्यहरू तथा प्रमुख कार्यकारी अधिकृतको योग्यता, अनुभव र उनीहरूको संस्थामा भएको लगानीको रकम तथा प्रतिशत उल्लेख भएको हुनुपर्छ।
यो निर्देशिका लागू भएपश्चात् प्रारम्भिक सार्वजनिक निष्काशनका लागि निवेदन पेश गरेका संगठित संस्थाले बोर्डको स्वीकृति बिना आफ्नो पूँजी संरचना परिवर्तन गर्न पाउने छैनन्। साथै, निवेदन पेश गर्नु पूर्व संगठित संस्थाले पछिल्लो तीन आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण अनिवार्य रूपमा आफ्नो र धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको वेबसाइट मार्फत सार्वजनिक गरेको हुनुपर्छ।
सार्वजनिक निष्काशन गर्नुअघि संगठित संस्थाले निरन्तर व्यवसाय सञ्चालन गरेको हुनुपर्नेछ भने बोर्डले सम्बन्धित क्षेत्रको प्रकृति, जोखिम र पूँजी संरचनालाई ध्यानमा राखी उद्योग वा क्षेत्रगत रूपमा फरक-फरक न्यूनतम अवधि निर्धारण गर्न सक्नेछ। साथै, पूर्वाधार, प्रविधि, अनुसन्धानमा आधारित वा अन्य विशेष प्रकृतिका उद्योगहरूको हकमा बोर्डले आवश्यक शर्तसहित छुट्टै मापदण्ड लागू गर्नेछ।














