३ आश्विन २०८३, शनिबार

घाटा र मन्दीलाई चिर्दै सोनापुर मिनरल्सको आक्रामक कमब्याक, एकै वर्ष साढे ४ अर्बको व्यापार



काठमाडाैं । विगतका वर्षहरूमा सिमेन्ट उद्योग क्षेत्रले भोगेको आर्थिक सुस्तता र मन्दीको प्रभावबाट गुज्रिएको सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले वित्तीय प्रदर्शनमा लोभलाग्दो पुनरागमन गरेको छ।

आर्थिक वर्ष २०२२ देखि २०२६ सम्मको पाँच वर्षको तथ्यांकलाई विश्लेषण गर्दा कम्पनीले मन्दीको जोखिमलाई पछाडि पार्दै आम्दानी र नाफा दुवैमा उल्लेख्य सुधार गरेकाे छ।

चालु आर्थिक वर्ष २०२६ मा कम्पनीले ४ अर्ब ४१ करोड ९० लाख रुपैयाँ बराबरकाे व्यापार गरेकाे छ। जुन गत आर्थिक वर्ष २०२५ काे तुलनामा ६८ प्रतिशतकाे वृद्धि हाे । अघिल्लाे वर्ष कम्पनीले २ अर्ब ६२ करोड ४० लाख रुपैयाँ बराबरकाे व्यापार गरेकाे छ।

अघिल्लाे वर्षहरूकाे कुरा गर्दा सन् २०२२ मा २ अर्ब ३७ करोड ५० लाख रुपैयाँ बराबरकाे व्यापार गरेकाे कम्पनीले आर्थिक वर्ष २०२३ र २०२४ मा कम्पनीकाे व्यापारमा भारी गिरावट आएकाे थियाे ।

आर्थिक वर्ष २०२३ मा सोनापुर मिनरल्सकाे व्यापार १ अर्ब ८० करोड १० लाख र २०२४ मा १ अर्ब ६४ करोड १० लाख रुपैयाँमा झरेकाे थियाे ।

व्यापारसँगै कम्पनीको नाफा कमाउने क्षमतामा पनि ठूलो सुधार आएको छ। आर्थिक वर्ष २०२६ मा कम्पनीको सञ्चालन नाफा दरमा पनि ठूलो सुधार आएको छ।

उक्त आर्थिक वर्षमा कम्पनीको सञ्चालन नाफा दर २३.९६ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्ष २२.२६ प्रतिशत मात्र रहेको थियो। त्यसैगरी आर्थिक वर्ष २०२५ मा ४ करोड ७० लाख रुपैयाँमा सीमित रहेको खुद नाफा आर्थिक वर्ष २०२६ मा उच्च वृद्धि भई ३३ करोड ७० लाख रुपैयाँ पुगेको छ। यससँगै कम्पनीको खुद नाफा दर पनि १.८० प्रतिशतबाट बढेर ७.६३ प्रतिशत पुगेको छ।

कम्पनीको आन्तरिक नगद प्रवाहमा आएको सुधारले ऋण भुक्तानी क्षमतालाई समेत बलियो बनाएको छ। आर्थिक वर्ष २०२६ मा कुल ऋण घटेर ६ अर्ब ४० करोड २० लाख रुपैयाँमा झरेको छ, जुन अघिल्लो वर्ष ६ अर्ब ७८ करोड ३० लाख रुपैयाँ रहेको थियो।

कम्पनीको वर्किङ क्यापिटल व्यवस्थापनमा पनि उल्लेखनीय सुधार देखिएको छ। अघिल्लो आर्थिक वर्ष २०२५ मा ५१० दिन रहेको कम्पनीको कार्यसञ्चालन चक्र आर्थिक वर्ष २०२६ मा घटेर ३५९ दिनमा झरेको छ। सामान बिक्रीपछिको रकम सङ्कलन अवधि १२९ दिनबाट घटेर ११५ दिनमा आएको छ भने मौज्दात राख्ने समय ४३४ दिनबाट घटेर २९० दिनमा ओर्लिएको छ।

कम्पनीले आफ्नै चुनढुङ्गा खानी प्रयोग गरी उत्पादन लागत घटाउन सफल भएकाले नाफा र व्यापार दुवैमा यो फड्को मार्न सम्भव भएको हो।

यसैबीच, कम्पनीले कुल ८ अर्ब ६६ करोड ४ लाख ९० हजार रुपैयाँ बराबरको बैंक कर्जा सुविधाका लागि रेटिङ गराएको छ। वित्तीय अवस्था र ऋण भुक्तानी क्षमतामा आएको सुदृढ सुधारलाई मध्यनजर गर्दै क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीको रेटिङमा स्तरोन्नति गरेको छ।

एजेन्सीले सोनापुर मिनरल्सको इस्युअर रेटिङका साथै ६ अर्ब ३८ करोड ८४ लाख ९० हजार रुपैयाँ बराबरको दीर्घकालीन बैंक सुविधाको रेटिङ सुधारेर डबल बी प्लस पुर्‍याएको छ। त्यस्तै २ अर्ब २७ करोड २० लाख रुपैयाँ बराबरको अल्पकालीन बैंक सुविधाका लागि ए फोर प्लस रेटिङ प्रदान गरेको छ।

वित्तीय प्रदर्शनमा सुधार आए तापनि सिमेन्ट उद्योगको चक्रिय प्रकृति र तीव्र प्रतिस्पर्धाका कारण कम्पनीसामु केही जोखिमहरू भने कायमै छन्। मुलुकभित्र हुने पूर्वाधार विकास तथा निर्माण कार्यको गतिमा आउने उतारचढाव र बर्खायाममा निर्माण गतिविधि सुस्त हुने भएकाले सिमेन्टको माग र उत्पादन क्षमताको उपयोगमा प्रत्यक्ष असर पर्ने प्रतिवेदमा उल्लेख छ।

 यसका साथै, सिमेन्ट आयातमा रहेको भन्सार दर वा सरकारी नीतिमा आउने परिवर्तन, क्लिंकरमा आत्मनिर्भरता हासिल गरे तापनि कोइला, आइरन ओर, फ्लाइ एश र जिप्सम जस्ता कच्चा पदार्थका लागि बजारमै निर्भर रहनुपर्ने र यसकाे मूल्यमा हुने उतारचढावले नाफाको दरमा दबाब सिर्जना गर्न सक्छ।

अर्कोतर्फ, स्वदेशी सिमेन्ट बजारमा बढेको तीव्र प्रतिस्पर्धाले पनि चुनौती थपेको छ। नेपालमा हाल ६० भन्दा बढी सिमेन्ट उत्पादक र २० भन्दा बढी क्लिंकर उद्योगहरू सञ्चालनमा रहेकाले बजारमा अस्वस्थ प्रतिस्पर्धा र मूल्य निर्धारणमा कडाइ हुने स्थिति छ। स्थापित ब्रान्डहरूको वर्चस्व र बजारमा उच्च उत्पादन क्षमताका कारण उत्पादन लागत र बिक्री मूल्य सन्तुलनमा राख्नु सोनापुर मिनरल्सका लागि मुख्य चुनौतीपूर्ण पक्षका रूपमा देखिएको छ।

सन् २००८ को जुनमा प्राइभेट लिमिटेडका रूपमा स्थापना भएको यो कम्पनी सन् २०२२ जुलाई २२ देखि सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडका रूपमा सञ्चालनमा छ। कम्पनीले हाल सोना सिमेन्ट ब्रान्डमा ओपीसी र सोना श्री सिमेन्ट ब्रान्डमा पीपीसी सिमेन्ट उत्पादन तथा बिक्री गर्दै आएको छ।