राष्ट्रिय वाणिज्य बैंकको अगुवाईमा रुकुम पश्चिममा २१ मेघावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने
काठमाडाैं । रूकुम पश्चिम जिल्लाको आठबिसकोट नगरपालिकामा बन्ने २१ मेगावाट क्षमताको जल्दीगाड जलविद्युत आयोजना निर्माणको लागि प्रबर्द्धक कम्पनी र सहवित्तीयकरणमा सहभागी बैंकहरू बीच वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।
आयोजनाको कूल लागत रू. ४ अर्ब ६० करोड रूपैयॅा मध्ये राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको अगुवाईमा नेपाल बैंक लिमिटेड र नेपाल पूर्वाधार विकास बैंक लिमिटेड मार्फत सहवित्तीयकरण कर्जा ३ अर्ब ४२ करोड रुपैयाँ प्रदान गर्ने र बाँकी रकम स्वपॅूजीबाट व्यवस्थापन गर्ने सहमती भएको छ । सहवित्तीयकरण कर्जातर्फ राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १ अर्ब ४२ करोड रुपैयाँ, नेपाल बैंक लिमिटेडको १ अर्ब रुपैयाँ र नेपाल पूर्वाधार विकास बैंक लिमिटेडको १ अर्ब रुपैयाँ लगानी रहनेछ ।
यस प्रकारको आयोजनामा वित्तीय साझेदारको रूपमा अगुवाई गर्न पाउनु बैंकको लागि गौरवको विषय हो । यसबाट कर्णाली क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा सकरात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
आयोजना निर्माणका लागि आवश्यक वित्तीय व्यवस्थापन सुनिश्चित गर्ने उद्देश्यले आयोजना तथा बैंक प्रतिनिधिहरूको उपस्थितिमा बिहीबार राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको केन्द्रीय कार्यालय सिंहदरबारप्लाजामा एक समारोहका बीच सम्झौता पत्र आदानप्रदान गर्ने कार्य सम्पन्न गरिएको छ ।














