चीनले लगातार १६औं महिनामा पनि स्थिर राख्यो ब्याजदर, आर्थिक दबाबले नयाँ निर्णयमा रोक
काठमाडाैं । चीनले लगातार सोह्रौं महिनामा पनि औसत ब्याजदर स्थिर राखेको छ। चीनको केन्द्रीय बैंकले बजारको अनुमान अनुरूप नै आइतबार यस्तो निर्णय गरेको हो।
युआन मुद्रा बलियो हुँदै गए पनि विश्वका अन्य प्रमुख केन्द्रीय बैंकहरूले कसिलो मौद्रिक नीति अपनाएका कारण चीनका लागि नयाँ मौद्रिक सहजता अपनाउने ठाउँ सीमित बनेको छ।
पिपल्स बैंक अफ चाइनाले एक वर्षको ऋण ब्याजदर ३.०० प्रतिशतमा कायम राखिएको छ भने पाँच वर्षको ऋण ब्याजदर ३.५० प्रतिशतमा अपरिवर्तित राखेको छ।
गत हप्ता अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याज दर बढाएको छ भने आगामी महिनाहरूमा थप दर वृद्धिको संकेत दिएको छ। ट्रम्प प्रशासनको समयमा बढ्दो मुद्रास्फिति नियन्त्रण गर्न असफल भएको यथार्थलाई स्वीकार गर्दै फेडका अध्यक्ष केभिन वार्सले ब्याजदर बढाएकाे घाेषणा गरेका थिए।
फेडले ब्याज दर बढाएपछि चीन सरकारको बन्डको तुलनामा बेन्चमार्क दश वर्षे अमेरिकी ट्रेजरीको प्रतिफल दर हालसम्मकै उच्च रेकर्डको आसपास पुगेको छ।
चीनको केन्द्रीय बैंकका गभर्नर पान गोङसेङका अनुसार नयाँ उद्योगहरूले लिएको गतिभन्दा घरजग्गा र स्थानीय सरकारको क्षेत्रमा कारोबार घट्दा ऋणको माग कम भएको छ। यही कारणले गर्दा चीनमा ऋण प्रवाह सुस्त हुनुलाई अहिले सामान्य अवस्था मानिन थालिएको छ।
घरेलु मागमा उल्लेखनीय रूपमा ठूलो कमजोरी नआएसम्म, विशेष गरी अमेरिकी फेडरल रिजर्भको कसिलो नीतिको पृष्ठभूमिमा, चौथो त्रैमासिकमा व्यापक मौद्रिक सहजताको सम्भावना घटेको छ।
चीन आफ्नो दर कटौती चक्रको अन्तिम चरणमा रहेको भन्दै चीनका अर्थशास्त्रीहरूले बैंकहरूको कसिलो नेट इन्टरेस्ट मार्जिन र डिफ्लेसनबाट हल्का इन्फ्लेसनतर्फको संक्रमणका कारण पिपल बैंक अफ चाइनाले यो वर्षको बाँकी अवधिभर ब्याज दर स्थिर राख्ने विश्वास व्यक्त गरे।
यद्यपि, आर्थिक वृद्धिदर कमजोर देखिएमा दर कटौती हुन सक्ने जोखिम भने कायमै रहेको उनीहरूकाे भनाइ छ।














