४ आश्विन २०८३, आइतबार

जलवायु मुद्दालाई प्राथमिकता दिन परराष्ट्रमा बन्यो पहिलो ‘वातावरण कूटनीति शाखा’



जलवायु परिवर्तनका मुद्दालाई अन्तर्राष्ट्रियस्तरमा प्रभावकारी रूपमा उठाउन परराष्ट्र मन्त्रालयले पहिलोपटक छुट्टै वातावरण कूटनीति शाखा स्थापना गरेको छ।

काठमाडाैँ । जलवायु तथा वातावरणीय मुद्दाहरूमा नेपालको कूटनीतिक प्रयासलाई थप संस्थागत, परिपक्व र प्रभावकारी बनाउने उद्देश्यले सरकारले एक महत्त्वपूर्ण कदम चालेको छ।

पछिल्लो समय जलवायु परिवर्तनले मुलुकको विकास, अर्थतन्त्र र जनजीवनमा पारिरहेको गम्भीर असरलाई मध्यनजर गर्दै परराष्ट्र मन्त्रालयले पहिलोपटक छुट्टै ‘वातावरण कूटनीति शाखा’ स्थापना गरेको हो।

मन्त्रालयले सञ्चालन गरेको संगठन तथा व्यवस्थापन सर्वेक्षणको प्रतिवेदनका आधारमा यो संरचना तयार पारिएको हो। नयाँ व्यवस्था अनुसार संयुक्त राष्ट्रसंघ तथा विशिष्टीकृत संघसंस्था महाशाखाअन्तर्गत रहने यस ‘आर्थिक, सामाजिक विकास तथा वातावरण कूटनीति शाखा’ को नेतृत्व एक जना उपसचिवले गर्नेछन्।

विश्व मंचमा नेपालले राख्दै आएका जलवायुसम्बन्धी एजेन्डालाई अब नियमित र योजनावद्ध रूपमा अघि बढाउन यो शाखाले कूटनीतिक सहजीकरणको भूमिका खेल्नेछ।

संस्थागत प्राथमिकताको रूपमा जलवायु कूटनीति

नेपालले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु परिवर्तन र वातावरण संरक्षणको पक्षमा लामो समयदेखि सक्रिय सहभागिता जनाउँदै आएको छ। तर, यसरी गरिने सहभागितालाई अब अल्पकालीन वा सम्मेलनकेन्द्रित मात्र नभई दीर्घकालीन र स्थायी नीतिका रूपमा अघि बढाउनुपर्ने खाँचो औंल्याइएको छ।

परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु कूटनीतिलाई केवल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप) हरूमा सहभागिता जनाउने सीमाभन्दा माथि उठाएर संस्थागत रूपमा बलियो बनाउनुपर्नेमा जोड दिए।

उहाँले मुलुकको दीर्घकालीन हित र आवश्यकतालाई ध्यानमा राखेर नै मन्त्रालयमा यो शाखा खडा गरिएको स्पष्ट पारे। जलवायु परिवर्तनका कारण सिर्जना हुने विपद्का घटना वा आपत्कालीन अवस्थामा मात्र प्रतिक्रिया जनाउने शैलीभन्दा माथि उठेर, नियमित कूटनीतिक कार्ययोजनाका साथ अघि बढ्न यो संरचना कोसेढुङ्गा साबित हुने मन्त्री खनालको भनाइ छ।

हाललाई प्रारम्भिक चरणको कार्यबोझ र आवश्यकताअनुसार यो शाखाले काम थाल्नेछ भने आगामी दिनमा कार्यक्षेत्रको व्यापकता हेरी यसको दायरा र संरचनालाई थप फराकिलो बनाउँदै लगिनेछ।