बाढीले तहसनहस पारेको त्रिशूली थ्री–बी हब सबस्टेशन अन्यत्रै सार्ने तयारीमा प्राधिकरण
बाढीले तहसनहस बनाएको त्रिशूली थ्री–बी हब सबस्टेशन सुरक्षित डाँडामा सार्ने वा नार्ने भन्ने विषयमा नेपाल विद्युत् प्राधिकरणले विस्तृत प्राविधिक अध्ययन थाल्ने भएको छ ।
काठमाडाैँ । केही समयअघि त्रिशूली नदीमा आएको भीषण बाढीले गम्भीर क्षति पुर्याएको २२० केभी त्रिशूली थ्री–बी हब सबस्टेशनलाई सुरक्षित स्थानमा सार्ने विषयमा नेपाल विद्युत् प्राधिकरणले गम्भीरतापूर्वक अध्ययन अघि बढाउने भएको छ ।
नुवाकोट र रसुवा क्षेत्रका एक दर्जनभन्दा बढी जलविद्युत् आयोजनाको बिजुली जोड्ने महत्त्वपूर्ण मानिएको यो सबस्टेशन गत वर्ष र हालैको बाढीबाट समेत नराम्ररी प्रभावित भएपछि यसको भविष्यलाई लिएर नयाँ बहस सुरु भएको हो ।
बाढीले नदीको सतह र भौगोलिक बनावट नै पूर्णरूपमा फेरिदिएपछि अब पुरानै ठाउँमा संरचना उभ्याउनु कति सुरक्षित हुन्छ भन्ने प्रश्न उब्जिएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले विपद्ले नदीको स्वरूप र तसतह दुवैमा व्यापक फेरबदल ल्याएकाले पुरानो स्थान कति उपयुक्त छ भन्नेबारे प्राविधिक तथा विज्ञहरूको टोलीमार्फत विस्तृत अध्ययन गराइने बताए ।
उनका अनुसार यदि अध्ययनले सबस्टेशन अन्यत्रै सार्नुपर्ने औचित्य देखाएमा नयाँ जग्गा खोजी, वातावरणीय प्रभाव मूल्यांकन र आवश्यक कानुनी प्रक्रिया पूरा गरेर मात्र पुनर्निर्माणको काम थालिनेछ । यसपटकको प्राकृतिक विपत्तिले नेपालका ऊर्जा पूर्वाधार निर्माण गर्दा अपनाइने सुरक्षा मापदण्ड र जोखिम मूल्यांकनलाई थप कडा बनाउनु पर्ने पाठ पढाएको उनको भनाइ छ ।
तर, प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ भने यो सबस्टेशन अब पुरानै ठाउँमा बनाउनै नसकिने ठोकुवा गर्छन् । पटक–पटक बाढीको चपेटामा परेको र भूगोल नै जोखिमपूर्ण भइसकेकाले यसलाई नदी किनारको तल्लो भागबाट झिकी सुरक्षित तथा माथिल्लो डाँडातिरको भूभागमा सार्नुको विकल्प नरहेको उनको तर्क छ ।
यद्यपि, नयाँ ठाउँमा जग्गा पाउन मुस्किल हुने र पूर्वाधार नयाँबाट सुरु गर्नुपर्ने भएकाले यसको लागत भने स्वाभाविक रूपमा बढ्ने उनले प्रस्ट्याएका छन् ।
विगतका अनुभव र पछिल्ला विपद्हरूले ऊर्जा क्षेत्रलाई दिएको चेतावनीलाई मध्यनजर गर्दै प्राधिकरणले अब बन्ने संरचनाहरूका लागि हजार वर्षसम्मको बाढीको तथ्यांक, हिमनदी फुटेर आउने आकस्मिक बाढी र नदीदेखिको सुरक्षित दूरीलाई डिजाइनको मुख्य आधार बनाउनुपर्ने निष्कर्ष निकालेको छ ।
विज्ञहरूको विस्तृत प्रतिवेदन आएपछि मात्रै सबस्टेशनको स्थानान्तरण र भावी रणनीतिको अन्तिम टुंगो लाग्नेछ ।














