इरान युद्धको लागत बढ्दै : अमेरिकाद्वारा ४३ अर्ब ६० करोड डलर खर्च
काठमाडौँ। इरानसँग जारी सैन्य द्वन्द्वका कारण अमेरिकाको युद्धसम्बन्धी खर्च तीव्र रूपमा बढिरहेको छ। अमेरिकी सेन्ट्रल कमान्डले सांसदहरूलाई उपलब्ध गराएको पछिल्लो विवरणअनुसार सेप्टेम्बर ३ सम्म इरानविरुद्धको सैन्य अभियानमा अमेरिकाले ४३ अर्ब ६० करोड अमेरिकी डलर खर्च गरिसकेको छ।
फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि युद्धको आर्थिक भार निरन्तर बढ्दै गएको हो। यसअघि अमेरिकी कंग्रेसनल बजेट कार्यालय (सीबीओ) ले अगस्ट १ सम्म युद्धमा करिब ३८ अर्ब डलर खर्च भएको अनुमान सार्वजनिक गरेको थियो। पछिल्लो विवरणअनुसार त्यसयता केही सातामै अमेरिकी सैन्य खर्च ५ अर्ब ६० करोड डलरले बढेको छ।
सीबीओले युद्धको वर्तमान तीव्रता कायम रहेमा अमेरिकाले प्रत्येक महिना करिब ३ अर्ब डलर वा त्योभन्दा बढी अतिरिक्त खर्च गर्नुपर्ने अवस्था आउन सक्ने जनाएको छ। कुल खर्चमध्ये सबैभन्दा ठूलो हिस्सा हतियार तथा क्षेप्यास्त्रमा गएको छ। पछिल्लो अनुमानअनुसार यस शीर्षकमा मात्रै २८ अर्ब १० करोड डलर खर्च भइसकेको छ। अगस्ट १ सम्म यस्तो खर्च २१ अर्ब ७० करोड डलर रहेको थियो। यसरी केही सातामै हतियार सम्बन्धी खर्च ६ अर्ब ४० करोड डलरले बढेको देखिन्छ।
अमेरिकाले इरानी क्षेप्यास्त्र र ड्रोन आक्रमण रोक्न प्याट्रियट तथा थाडजस्ता प्रतिरक्षा प्रणाली ठूलो मात्रामा प्रयोग गरिरहेको छ। यसको असर अमेरिकी क्षेप्यास्त्र भण्डारमा समेत परेको अधिकारीहरूले बताएका छन्। युरोपमा अमेरिकी तथा नाटो अधिकारीहरूले पनि क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको उपलब्धतामा दबाब बढिरहेको बताएका छन्। साउदी अरबमा समेत यस्ता क्षेप्यास्त्रको मौज्दात घट्दै गएपछि थप सहयोगका लागि क्षेत्रीय तथा पश्चिमी साझेदारसँग समन्वय भइरहेको जनाइएको छ।
सैन्य संरचना क्षतिग्रस्त
अमेरिकी सेनाले सांसदहरूलाई दिएको विवरणमा युद्धपोत, लडाकु विमान र सैन्य अखडाको सञ्चालनसँगै क्षतिग्रस्त सैन्य उपकरणको प्रतिस्थापन तथा घाइते सैनिकको उपचार खर्च समावेश गरिएको छ। तर मध्यपूर्वस्थित अमेरिकी सैन्य आधारमा भएको सम्पूर्ण भौतिक क्षतिको लागत भने यो अनुमानमा समेटिएको छैन।
अमेरिकी रक्षा मन्त्रालयका महानिरीक्षकको प्रतिवेदनअनुसार इरानी क्षेप्यास्त्र तथा ड्रोन आक्रमणबाट कुवेत, बहराइन, कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरब, इराक, ओमान र जोर्डनमा रहेका अमेरिकी सैन्य संरचनाका सयौँ भवन तथा पूर्वाधारमा क्षति पुगेको छ।
ती संरचनाको क्षतिको विस्तृत आर्थिक मूल्याङ्कन पूरा भइनसकेकाले सार्वजनिक गरिएको ४३ अर्ब ६० करोड डलरको खर्च वास्तविक कुल लागतभन्दा कम हुन सक्ने समेत देखीएको छ। अमेरिकी रक्षा मन्त्रालयका अनुसार युद्धका क्रममा हालसम्म १८ अमेरिकी सैनिकको मृत्यु भएको छ भने ८३० भन्दा बढी सैनिक घाइते भएका छन्।
आगामी आवका लागि १.५ ट्रिलियन डलरको सैन्य बजेट प्रस्ताव
युद्ध खर्च बढेपछि अमेरिकी प्रशासनले थप ९५ अर्ब डलरको बजेट प्याकेज स्वीकृत गर्न संसद्सँग आग्रह गरेको छ। आगामी आर्थिक वर्षका लागि करिब १.५ ट्रिलियन डलर बराबरको सैन्य बजेट प्रस्तावसमेत अघि सारिएको छ।
इरानसँगको द्वन्द्वको असर अमेरिकी सैन्य खर्चमा मात्र सीमित छैन। होर्मुज जलडमरूमध्य र लाल सागर हुँदै हुने तेल तथा अन्य व्यापारिक ढुवानी प्रभावित हुँदा अन्तर्राष्ट्रिय ऊर्जा बजार र विश्व व्यापारमा समेत दबाब बढेको छ।
सीबीओका अनुसार युद्ध लम्बिँदै गए तेल तथा प्राकृतिक ग्यासको आपूर्तिमा थप अवरोध आउन सक्छ। त्यसको असर विश्व अर्थतन्त्रसँगै अमेरिकी मुद्रास्फीतिमा समेत पर्न सक्ने आकलन गरिएको छ।
सेप्टेम्बर ३ सम्मको ४३ अर्ब ६० करोड डलर खर्चले इरानविरुद्धको सैन्य अभियान अमेरिकाका लागि ठूलो वित्तीय दायित्व बन्दै गएको देखाउँछ। युद्धको अवधि र सैन्य गतिविधिको स्तरमा परिवर्तन नआए आगामी महिनाहरूमा खर्च अझ बढ्न सक्ने अनुमान गरिएको छ।














