५ आश्विन २०८३, सोमबार

पर्यटन क्षेत्रका चुनौतीबीच छायाँ देवी कम्प्लेक्सको व्यापारिक छलाङ: आम्दानी र नगद प्रवाह दुवैमा सुधार



काठमाडाैं । पछिल्ला वर्षहरुमा नेपालको पर्यटन तथा होटल क्षेत्रले भोगेका विविध बाह्य चुनौतीहरूका बाबजुद छायाँ देवी कम्प्लेक्स लिमिटेडलेआफ्नो वित्तीय प्रदर्शनमा लोभलाग्दो सुधार दर्ता गरेको छ।

आर्थिक वर्ष २०२४ देखि २०२६ सम्मको तीन वर्षको तथ्याङ्कलाई विश्लेषण गर्दा कम्पनीले सञ्चालन आम्दानी र नगद प्रवाह दुवैमा क्रमिक सुधार गर्दै वित्तीय अवस्थालाई थप सुदृढ बनाएको देखिन्छ।

चालु आर्थिक वर्ष २०२६ मा कम्पनीले ८९ करोड २० लाख रुपैयाँ बराबरको व्यापार (सञ्चालन आम्दानी) गरेको छ। जुन गत आर्थिक वर्ष २०२५ को ८६ करोड २० लाख रुपैयाँको तुलनामा करिब ३ प्रतिशतको वृद्धि हो। अघिल्लो आर्थिक वर्ष २०२४ मा कम्पनीले ८५ करोड ७० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो।

कम्पनीको व्यापारमा मुख्य योगदान होटल सञ्चालनको रहेको छ। आर्थिक वर्ष २०२६ मा होटल सञ्चालनबाट हुने आम्दानी ७ प्रतिशतले बढेर ८० करोड १० लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ७४ करोड ८० लाख रुपैयाँ रहेको थियो।

व्यापारसँगै कम्पनीको सञ्चालन नाफा दरमा सुधार आएको छ। आर्थिक वर्ष २०२६ मा कम्पनीको सञ्चालन नाफा दर ३९.०८ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्ष ३८.११ प्रतिशत मात्र रहेको थियो। अघिल्लो वर्ष २०२४ मा भने यो दर ४१.६७ प्रतिशत रहेको थियो।

त्यसैगरी, अघिल्लो आर्थिक वर्ष २०२५ को तुलनामा आर्थिक वर्ष २०२६ मा कम्पनीको खुद नगद प्रवाह ३० प्रतिशतको उच्च वृद्धि भई २१ करोड २० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यो रकम १६ करोड ३० लाख रुपैयाँमा सीमित थियो।

कम्पनीको आन्तरिक नगद प्रवाहमा आएको सुधार र घट्दो ब्याजदरले ऋण भुक्तानी क्षमतालाई समेत बलियो बनाएको छ। आर्थिक वर्ष २०२६ मा कुल ऋण र खुद नगद प्रवाहको अनुपात घटेर ८.६१ गुणामा झरेको छ, जुन अघिल्लो वर्ष ११.६६ गुणा र आर्थिक वर्ष २०२४ मा १४.४५ गुणा रहेको थियो। यसैगरी ब्याज भुक्तानी क्षमता २.८१ गुणा पुगेको छ, जुन अघिल्लो वर्ष २.१५ गुणा मात्र थियो।

यसैबीच कम्पनीले कुल १ अर्ब ८५ करोड रुपैयाँ बराबरको बैंक कर्जा सुविधाका लागि रेटिङ गराएको छ। वित्तीय अवस्था र ऋण भुक्तानी क्षमतामा आएको सुदृढ सुधारलाई मध्यनजर गर्दै क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले कम्पनीको रेटिङमा स्तरोन्नति गरेको छ।

एजेन्सीले छायाँ देवी कम्प्लेक्सको इस्युअर रेटिङका साथै १ अर्ब ८० करोड ७० लाख रुपैयाँ बराबरको दीर्घकालीन बैंक सुविधाको रेटिङ सुधारेर ट्रिपल बी पुर्‍याएको छ। त्यस्तै ४ करोड ३० लाख रुपैयाँ बराबरको अल्पकालीन बैंक सुविधाका लागि ए थ्री प्लस रेटिङ प्रदान गरेको छ।

वित्तीय प्रदर्शनमा सुधार आए तापनि होटल तथा पर्यटन क्षेत्रको चक्रिय प्रकृति र तीव्र प्रतिस्पर्धाका कारण कम्पनीसामु केही जोखिमहरू भने कायमै छन्। अन्तर्राष्ट्रिय परिस्थिति, आन्तरिक आन्दोलन तथा प्रदर्शनहरूले पर्यटकको आगमन र कोठाको मागमा प्रत्यक्ष असर पार्ने प्रतिवेदनमा उल्लेख छ। सन् २०२६ को पहिलो ७ महिनामा ६ लाख ९२ हजार २२८ जना पर्यटक भित्रिए तापनि यस्ता बाह्य कारणले होटल व्यवसाय प्रभावित हुन सक्ने देखिन्छ।

यसका साथै, एकल सम्पत्तिमा निर्भर रहनुपर्ने जोखिम, बैंकहरूको उतारचढावपूर्ण ब्याजदर र वैदेशिक मुद्रामा हुने उतारचढावले नाफाको दरमा दबाब सिर्जना गर्न सक्छ।

अर्कोतर्फ, स्वदेशी होटल बजारमा बढेको तीव्र प्रतिस्पर्धाले पनि चुनौती थपेको छ। काठमाडौँ उपत्यकामा नयाँ तथा स्थापित स्टार होटलहरूको उपस्थिति र उच्च प्रतिस्पर्धाका कारण कोठाको दर र बिक्री सन्तुलनमा राख्नु छायाँ देवी कम्प्लेक्सका लागि मुख्य चुनौतीपूर्ण पक्षका रूपमा देखिएको छ।

सन् २००८ को जनवरीमा प्राइभेट लिमिटेडका रूपमा स्थापना भएको यो कम्पनी सन् २०२१ जुन २५ देखि पब्लिक लिमिटेडका रूपमा सञ्चालनमा छ। कम्पनीले काठमाडौँको ठमेलमा मेरियट इन्टरनेसनलको अलफ्ट ब्रान्डअन्तर्गत १६७ कोठासहितको पाँचतारे होटल र व्यापारिक कम्प्लेक्स सञ्चालन गर्दै आएको छ।