५ आश्विन २०८३, सोमबार

संस्थापकले नकिनेपछि हिमालयन बैंकले साढे ८ लाख कित्ता शेयर सर्वसाधारणमा ल्यायो



हिमालयन बैंकको साढे आठ लाखभन्दा बढी कित्ता संस्थापक शेयर अब सर्वसाधारण लगानीकर्ताले पनि किन्न पाउने भएका छन्।

काठमाडाैँ । हिमालयन बैंक लिमिटेडले आफ्ना विद्यमान संस्थापक शेयरधनीले नकिनेको साढे ८ लाखभन्दा बढी कित्ता शेयर अब सर्वसाधारण लगानीकर्ताका लागि खुला गरेको छ।

बैंकले विभिन्न चार जना संस्थापक शेयरधनीका नाममा रहेको कुल ८ लाख ५० हजार १२४ दशमलव ५७ कित्ता शेयर अन्य व्यक्ति तथा संस्थागत खरीदकर्ताहरूलाई बिक्री गर्ने प्रक्रिया अगाडि बढाएको हो।

यसअघि बैंकले यी शेयरहरू पहिलो प्राथमिकताका रूपमा विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्रै ३५ दिने सूचना जारी गरेर खरिद आह्वान गरेको थियो। तर, तोकिएको समय अवधिमा संस्थापक शेयरधनीहरूबाट आवेदन नपरेपछि बैंकले कानुनबमोजिम सर्वसाधारण व्यक्ति तथा विभिन्न संस्थाहरूका लागि पनि यो अवसर खुला गरेको जानकारी दिएको छ।

यी शेयरहरू खरिद गर्न चाहने इच्छुक लगानीकर्ताहरूले आगामी १५ दिनभित्र आफ्नो आवेदन दिनुपर्नेछ। बैंकले यसअघि असोज ५ गते नै यससम्बन्धी औपचारिक सूचना प्रकाशित गरी प्रक्रिया सुरु गरिसकेको छ।

तोकिएको समयावधिभित्र आवश्यक कागजातसहित रितपूर्वक आवेदन पेश गर्ने खरीदकर्ताहरूले यो संस्थापक शेयरमा लगानी गर्ने अवसर प्राप्त गर्नेछन्।