६ आश्विन २०८३, मंगलबार

प्राविधिक समस्या हट्यो, आजबाट सेयर बजार नियमित



काठमाडाैँ । प्राविधिक समस्याका कारण एक दिनयता ठप्प बनेको सेयर बजारमा आजदेखि नियमित लयमा फर्किने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का ७२ वटा ब्रोकर कम्पनीका सर्भर राखिएको मुख्य डेटा सेन्टरमा देखिएको जटिलता पूर्ण रूपमा हल भएपछि आजबाट सेयर कारोबार सुचारु हुन लागेको हो ।

प्रणालीमा अचानक देखिएको समस्याका कारण लगानीकर्ताहरू द्विविधामा रहे पनि अब बजार पूर्ण क्षमताका साथ सञ्चालनमा आउने निश्चित भएको नेप्सेले जनाएकाे छ ।

गत असोज ४ गते बिहानको समयमा ब्रोकर कम्पनीहरूको सर्भर व्यवस्थापन गर्ने ‘डेटा हब प्रालि’ को प्राविधिक संरचनामा अचानक समस्या देखा परेको थियो । डेटा सेन्टरको उक्त गडबडी सामान्य स्तरको नभएकोले यसले समग्र प्रणालीमा नै गम्भीर असर पार्न सक्ने खतरा बढेको थियो ।

हबभित्र देखिएको सोही प्राविधिक संकटका कारण नेप्सेले हिजाे असोज ५ गतेकाे नियमित सेयर कारोबार स्थगित गर्नुपर्ने बाध्यकारी स्थिति आएको थियो ।

डेटा सेन्टरको समस्या ज्यूँका त्यूँ रहेको अवस्थामा जबर्जस्ती बजार सञ्चालन गर्दा मुख्य कारोबार प्रणालीमा नै अपूरणीय क्षति पुग्न सक्ने जोखिम देखिएको थियो । सोही जोखिमलाई मध्यनजर गर्दै स्टक ब्रोकर एसोसिएसन अफ नेपालले तत्कालका लागि कारोबार रोक्न अनुरोध गर्दै नेप्सेसमक्ष औपचारिक निवेदन पेस गरेको थियो ।

ब्रोकरहरूको सोही आग्रह र धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ को उपनियम १ ले दिएको अधिकार प्रयोग गर्दै नेप्सेले एक दिनका लागि बजार बन्द गर्ने निर्णय लिएको थियो ।

डेटा हबका विज्ञ प्राविधिकहरूको टोलीले दिनरात खटिएर गरेको मर्मतसम्भारपछि अहिले सम्पूर्ण समस्याहरू निराकरण भइसकेकाे नेप्सेले बताएकाे छ ।

सेयर बजारको मेरुदण्ड मानिने डेटा सेन्टर पूर्ण रूपमा सुरक्षित र सञ्चालनयोग्य भइसकेको जानकारी प्राप्त भएपछि नेप्सेले आजदेखि पूर्ववत् रूपमै कारोबार सञ्चालन गर्ने घोषणा गरेको छ ।

नेप्सेले वेवपेजमा एक सूचना प्रकाशित गर्दै भनेकाे छ- “नेपाल स्टक एक्सचेन्ज लिमिटेडका ७२ कारोबार सदस्यहरुका डाटा सेन्टरको रूपमा रहेको Data Hub प्रा.लि.मा देखिएको प्राविधिक समस्या समाधान भएको जानकारी प्राप्त भएको हुँदा आज मिति २०८३/०६/०६ देखि नेप्सेमा पूर्ववत कारोबार संचालन हुने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराउँदछौँ ।”