अर्थ मन्त्रालयमा सहसचिवहरूको जिम्मेवारी हेरफेर : राजस्वमा दाहाल, ठूला करदातामा आचार्य
काठमाडौं। अर्थ मन्त्रालयले विभिन्न महाशाखा तथा मातहतका कार्यालयमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको छ। मन्त्रालयले राजस्व व्यवस्थापन, बजेट, ठूला करदाता कार्यालय, भन्सार विभाग र महालेखा नियन्त्रकको कार्यालयमा नयाँ जिम्मेवारी तोकेको हो।
मन्त्रालयका अनुसार सुमन दाहाललाई राजस्व व्यवस्थापन महाशाखाको नेतृत्व दिइएको छ। यसअघि उनी बजेट महाशाखामा कार्यरत थिए। दाहालको स्थानमा लुम्बिनी प्रदेशबाट संघमा सरुवा भएर आएका बन्धुप्रसाद बाँस्तोलालाई बजेट महाशाखाको जिम्मेवारी दिइएको छ।
यस्तै, ठूला करदाता कार्यालयको प्रमुख कर प्रशासकमा प्रेम आचार्यलाई नियुक्त गरिएको छ। यसअघि उक्त पद सम्हालेका केदार शर्माले राजीनामा दिएपछि आचार्यलाई नयाँ जिम्मेवारी दिइएको हो।
त्यस्तै, कोशी प्रदेशबाट संघमा सरुवा भएर आएका नारायणप्रसाद रिसाललाई भन्सार विभागको उपमहानिर्देशकको जिम्मेवारी दिइएको छ।
महालेखा नियन्त्रकको कार्यालयतर्फ गोकुल बाँस्तोलालाई सहमहालेखा नियन्त्रकको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ। लोकसेवा आयोगको कोशी प्रदेश कार्यालयबाट संघमा सरुवा भएका बाँस्तोलाले यसअघि पनि उपसचिवका रूपमा लामो समय महालेखा नियन्त्रकको कार्यालयमा काम गरिसकेका छन्।
















