अर्को जलप्रकोपको जोखिम : मौसम विभाग पुगे गृह र ऊर्जामन्त्री, विपद् प्रतिकार्यको तयारी आवश्यक
काठमाडौं। असोज ९ गतेदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपात हुनसक्ने पूर्वानुमानपछि गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले मौसमसम्बन्धी पछिल्लो अवस्थाबारे जानकारी लिएका छन्।
दुवै मन्त्रीले बबरमहलस्थित नेपाल मौसम विज्ञान विभागको कार्यालय पुगेर महानिर्देशक अर्चना श्रेष्ठ, प्रवक्ता विभूति पोखरेलसहित मौसमविद्सँग भेटवार्ता गरेका थिए। भेटका क्रममा सम्भावित मौसमजन्य विपद्, जोखिमको अवस्था र त्यसबाट बच्न अपनाउनुपर्ने तयारीबारे छलफल भएको थियो।
जलप्रकोपको जोखिम
विभागका मौसमविद्का अनुसार बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव नेपालमा देखिने क्रममा रहेकाले विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने अवस्था छ। उच्च हिमाली क्षेत्रमा भने उल्लेख्य हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
यो मौसम प्रणाली देशका अधिकांश भूभागमा फैलिन सक्ने अनुमान गरिएको छ। विशेषगरी पहाडी तथा तराई क्षेत्रमा भारी वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातका कारण बाढी, डुबान, नदी कटान तथा पहिरोजस्ता जोखिम बढ्न सक्ने विभागको भनाइ छ।
मौसम विभागकी प्रवक्ता विभूति पोखरेलका अनुसार हालको पूर्वानुमानअनुसार लुम्बिनी र गण्डकी प्रदेशमा वर्षाको प्रभाव तुलनात्मक रूपमा बढी देखिने सम्भावना छ। जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्क रहन तथा उच्च हिमाली क्षेत्रमा अनावश्यक यात्रा नगर्न उनले आग्रह गरेकी छन्।
विभागले सम्भावित जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित सरकारी निकायसँग नियमित रूपमा सूचना आदानप्रदान गरिरहेको जनाएको छ।
यस्तो छ मौसमविद्को चेतावनी
मौसम पूर्वानुमान महाशाखाका अनुसार उत्तर अण्डमान सागर र आसपास विकसित भएको न्यूनचापीय क्षेत्र अहिले बंगालको खाडीको मध्य भागमा पुगेको छ। उक्त प्रणाली थप शक्तिशाली हुँदै ‘डिप डिप्रेसन’ अर्थात बलियो न्यूनचापीय क्षेत्रमा परिणत भएको महाशाखाले जनाएको छ।
पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढ्ने अनुमान गरिएको यस प्रणालीका कारण बुधबारदेखि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि क्रमश: बढ्ने सम्भावना छ।
असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुनसक्ने विभागको अनुमान छ। ती प्रदेशका एक–दुई स्थानमा भने अति भारी वर्षासमेत हुनसक्ने चेतावनी दिइएको छ।
यसैगरी मधेश, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा कर्णाली प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
राति र लामो दूरीको यात्रा नगर्न आग्रह
मौसम विभागले विशेष मौसम बुलेटिन सार्वजनिक गरेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सम्भावित जोखिमलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्राधिकरणले अत्यावश्यक अवस्था बाहेक टाढाको यात्रा नगर्न तथा विशेषगरी रातिको समयमा यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।
सम्भावित विपद् व्यवस्थापनका लागि संघीय मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय र स्वयंसेवकलाई आवश्यक सूचना प्रवाह तथा प्रतिकार्यको तयारीमा रहनसमेत भनिएको छ।
जोखिमयुक्त राजमार्ग तथा सडकमा अवरोध उत्पन्न भए तत्काल हटाउन सकिने गरी डोजर, एक्साभेटर, लोडरलगायत आवश्यक उपकरण तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।
गत भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको बाढीपछि विपद् व्यवस्थापनमा सरकार चुकेको भन्दै कतिपय क्षेत्रहरुमा आलोचलना भइरहेकाले र फेरी जलप्रकोपको जोखिम रहेकाले प्रतिकार्यको तयारी थाल्न उपयुक्त हुनेमा विज्ञहरुले जोड दिएका छन्।
















