नेपाल इन्जिनियरिङ कलेजमा नवप्रवेशी विद्यार्थीलाई स्वागत तथा शैक्षिक अभिमुखीकरण कार्यक्रम सम्पन्न
काठमाडौँ। नेपाल इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र २०८३ का लागि भर्ना भएका नवप्रवेशी विद्यार्थीलाई स्वागत गर्दै शैक्षिक अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ।
सोमबार कलेज परिसरमा आयोजित कार्यक्रममा कलेजका प्राचार्य इ. दुर्गाप्रसाद भण्डारीले जेन–जी पुस्ताका विद्यार्थीलाई स्वागत गर्दै इन्जिनियरिङ शिक्षाका विभिन्न पक्ष, यसको सम्भावना तथा समाज र राष्ट्र निर्माणमा इन्जिनियरिङ क्षेत्रको भूमिकाबारे जानकारी गराए।
उनले इन्जिनियरिङ विधामा विभिन्न आयाम र सम्भावना रहेको चर्चा गर्दै प्राचार्य भण्डारीले इन्जिनियरिङ समाज तथा राष्ट्र विकासको महत्वपूर्ण आधार भएको बताए। उनले भने, “इन्जिनियरिङ एउटा मात्र विषय होइन, यसका धेरै आयाम छन् । देश र समाजको विकासमा इन्जिनियरिङले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ।”
स्नातक तहको चारवर्षे अध्ययन अवधिमा विद्यार्थीले निरन्तर मेहनत र अनुशासनका साथ अध्ययन गर्नुपर्नेमा जोड दिँदै प्राचार्य भण्डारीले विद्यार्थीलाई आवश्यक ज्ञान, सीप र मार्गदर्शन प्रदान गर्न कलेज सदैव प्रतिबद्ध रहेको बताए।
नवप्रवेशी विद्यार्थीलाई स्वागत गर्दै उनले जेन–जी पुस्ताबाट आफूहरूले पनि नयाँ सोच र प्रविधिका विषयमा धेरै कुरा सिक्न सक्ने बताए। “यो पुस्तालाई कलेजमा स्वागत गर्न पाउँदा हामी अत्यन्त खुसी छौँ । तपाईंहरू जेन–जी पुस्ताबाट हामीले पनि धेरै कुरा सिक्न सक्छौँ,” उनले भने । विद्यार्थीको सफलता नै कलेजको सफलता भएको उनको भनाइ थियो ।
कार्यक्रममा कलेजका सहायक प्राचार्य मोहनध्वज केसीले विद्यार्थीलाई गुणस्तरीय इन्जिनियरिङ शिक्षा प्रदान गर्न कलेज प्रतिबद्ध रहेको बताए। विद्यार्थीका जिज्ञासा तथा समस्याको समाधानका लागि पूर्णकालीन फ्याकल्टीको व्यवस्था गरिएको जानकारी दिँदै उनले प्रयोगात्मक शिक्षालाई प्राथमिकता दिइएको बताए।
कलेजमा आधुनिक प्रयोगशाला, पुस्तकालयलगायत अध्ययन तथा प्रयोगात्मक शिक्षणका लागि आवश्यक सुविधाहरू उपलब्ध रहेको जानकारी दिँदै सहायक प्राचार्य केसीले विद्यार्थीले आफ्नो सपना र उद्देश्य पूरा गर्न चारवर्षे अध्ययन अवधिमा निरन्तर मेहनत गर्नुपर्नेमा जोड दिए।
शैक्षिक अभिमुखीकरण कार्यक्रममा विभिन्न विभागका फ्याकल्टीहरूले सम्बन्धित विषयको पाठ्यक्रम, अध्ययन–अध्यापनको शैली, मूल्याङ्कन प्रणाली, विद्यार्थीले पालना गर्नुपर्ने नियम तथा कलेजका शैक्षिक गतिविधिबारे जानकारी गराएका थिए ।
कलेजका मिडिया रिलेसन अफिसर महेश पुजाराका अनुसार अभिमुखीकरण कार्यक्रममा नवप्रवेशी विद्यार्थीलाई कलेजको शैक्षिक वातावरण, विभागीय संरचना, प्रयोगात्मक शिक्षण तथा विद्यार्थीले अपनाउनुपर्ने शैक्षिक अनुशासनबारे समेत जानकारी दिइएको थियो।
यस वर्ष नेपाल इन्जिनियरिङ कलेजका अधिकांश सिट भरिइसकेको कलेजले जनाएको छ। कलेजका अनुसार आर्किटेक्चर, सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, इन्फरमेशन एण्ड कम्युनिकेशन तथा सिभिल एण्ड रुरल इन्जिनियरिङ लगायतका कार्यक्रमहरूमा अधिकांश सिट भरिएका छन् ।
मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित कलेजले हरेक वर्ष करिब रु. १५ करोड बराबरका विभिन्न छात्रवृत्ति प्रदान गर्दै आएको जनाएको छ। छात्रवृत्तिको अवसर, गुणस्तरीय शिक्षा तथा तुलनात्मक रूपमा पहुँचयोग्य शुल्कका कारण विद्यार्थीको आकर्षण बढ्दै गएको कलेजको भनाइ छ।
त्यसैगरी, शहरी कोलाहल र भिडभाडबाट टाढा शान्त, स्वच्छ तथा हरियाली वातावरणमा कलेज अवस्थित रहेकाले पनि विद्यार्थीको रोजाइमा नेपाल इन्जिनियरिङ कलेज पर्ने गरेको कलेजले जनाएको छ।
















