कुमारी र सिटिजन्स बैंकले डाक्याे साधारणसभा, लाभांश पारितसँगै अरू के के छन् एजेन्डा ?
काठमाडाैं । कुमारी बैंक लिमिटेड र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आ-आफ्नो वार्षिक साधारणसभा आह्वान गरेका छन्।
दुवै बैंकले आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई प्रस्ताव गरिएको लाभांश वितरण गर्ने एजेन्डासहित सभा बोलाएका हुन्।
कुमारी बैंकले आफ्नो २६ औँ वार्षिक साधारणसभा आगामी असोज २८ गते काठमाडौंको सुवर्ण शमशेर सडकस्थित सिल्भर ओक ब्यांक्वेट एन्ड इभेन्ट्समा बिहान ११ बजेबाट सुरु हुनेगरी आयोजना गर्ने निर्णय गरेको छ।
बैंकले गत आर्थिक वर्ष २०८२/८३ का लागि वितरणयोग्य रकमबाट शेयरधनीहरूलाई हाल कायम चुक्तापुँजीको २.१०५३ प्रतिशतले हुन आउने ५५ करोड २१ लाख २३ हजार ३९६ रुपैयाँ ६३ पैसा नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ।
सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै बैंकका सहायक कम्पनीहरू कुमारी क्यापिटल र केबीएल सेक्युरिटिजको वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण पनि पारित गर्नेछ।
यसैगरी, चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गरिनेछ भने लाभांश तथा सभा प्रयोजनका लागि बैंकले असोज १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।
यसैगरी, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पनि आफ्नो २० औँ वार्षिक साधारणसभा असोज २८ गते नै काठमाडौंको डिल्लीबजारस्थित अमृतभोगमा बिहान ११ बजेबाट गर्नेगरी आह्वान गरेको छ।
यस बैंकको सभाले गत आर्थिक वर्ष २०८२।८३ का लागि शेयरधनीहरूलाई हाल कायम चुक्तापुँजीको कुल ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ, जसमा ३.८० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२० प्रतिशत नगद लाभांश रहेका छन्।
बोनस शेयर वितरणपछि बैंकको जारी तथा चुक्तापुँजी वृद्धि हुनेछ र त्यसका लागि प्रबन्धपत्रमा संशोधन गर्न नियमनकारी निकायहरूबाट कुनै निर्देशन प्राप्त भएमा सोहीबमोजिम आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।
सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन, सहायक कम्पनीहरूको एकीकृत वित्तीय विवरण, तथा चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।
सिटिजन्स बैंकले पनि लाभांश र सभा प्रयोजनका लागि असोज १९ गते नै बुक क्लोज गर्ने निर्णय गरेको छ।

















