हिमालय एयरलाइन्सले असोज १२ देखि काठमाडौं-सांघाई सिधा उडान पुन: सुरु गर्ने
काठमाडौँ। निजी क्षेत्रको वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले काठमाडौँ र सांघाईबीचको नियमित सिधा उडान पुन: सञ्चालनमा ल्याउने भएको छ।
कम्पनीले आगामी असोज १२ गतेदेखि काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र चीनको सांघाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थललाई जोड्दै नियमित उडान सुरु गर्ने जानकारी दिएको छ।
प्रारम्भिक चरणमा यस रुटमा साताको दुईपटक उडान भरिनेछ, जसअन्तर्गत काठमाडौँबाट सांघाईका लागि प्रत्येक सोमबार र शुक्रबार तथा सांघाईबाट काठमाडौँका लागि हरेक मङ्गलबार र शनिबार उडान हुने तालिका तय गरिएको छ।
आगामी दिनमा यात्रुको चाप र मागलाई अध्ययन गर्दै उडान सङ्ख्या थप्ने योजना रहेको कम्पनीले जनाएको छ। यो सिधा उडान पुन: सुरु भएसँगै नेपाल र चीनबीचको व्यापारिक गतिविधि, पर्यटकीय आवगमन र जनस्तरको सम्बन्ध थप सुदृढ हुने अपेक्षा गरिएको छ।















