८ आश्विन २०८३, बिहिबार

बाढी प्रभावित क्षेत्रमा डुसान बोबक्याटको सहयोग: १० करोडभन्दा बढीका उपकरण सरकारलाई हस्तान्तरण



काठमाडौँ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि डुसान बोबक्याट इन्डिया प्रालिले नेपाल सरकारलाई १० करोड रुपैयाँभन्दा बढी मूल्यका विभिन्न उपकरण सहयोग गरेको छ। भदौ १० गते आएको बाढीबाट जनजीवन, घर, सडक तथा महत्वपूर्ण पूर्वाधारमा पुगेको क्षतिपछिको पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले उपकरण उपलब्ध गराइएको हो।

सहयोगअन्तर्गत बोबक्याटका ४ थान मिनी एक्साभेटर, २ थान ब्याकहो लोडर, ३ थान स्किड स्टियर लोडर र ६ थान टावर लाइट उपलब्ध गराइएको छ। यी उपकरण भग्नावशेष हटाउन, उत्खनन गर्न, अवरुद्ध क्षेत्रमा पहुँच विस्तार गर्न, सडक पुनःस्थापना तथा अन्य आपत्कालीन पुनःस्थापना कार्यमा प्रयोग गरिने जनाइएको छ।

उपकरणलाई नेपालका अधिकृत डिलर एफजी इन्कर्पोरेटेड प्रालिको सहकार्यमा आवश्यक सर्भिस तथा तयारी गरी सञ्चालनयोग्य बनाइएको कम्पनीले जनाएको छ। एफजी इन्कर्पोरेटेडका अध्यक्ष पवन कुमार गुप्ता, प्रबन्ध निर्देशक केदार लामिछाने तथा निर्देशक पारितोष गुप्ता र विपिन लामिछानेले संयुक्त रूपमा नेपाल सरकारका गृहमन्त्रीलाई उपकरण हस्तान्तरण गरेका हुन्।

डुसान बोबक्याटले बाढी प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै नेपाल सरकारसँगको सहकार्यमा उद्धार, पुनःस्थापना तथा क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणमा सहयोग जारी राख्ने जनाएको छ।