८ आश्विन २०८३, बिहिबार

शेयर लगानीमा बैंकहरूलाई राहत: राष्ट्र बैंकद्वारा ६ महिनाको होल्डिङ अवधि घटाएर ४५ दिन कायम



काठमाडौँ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि शेयर र डिबेञ्चरमा लगानी गर्ने नीतिमा लचकता अपनाउँदै न्यूनतम होल्डिङ अवधि ४५ दिनमा झारेकाे छ ।

नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूका लागि जारी गरिएको एकीकृत निर्देशन, २०८२ मा संशोधन गर्दै न्यूनतम होल्डिङ अवधि ६ महिनाबाट घटाएर ४५ दिन कायम गरेको हाे ।

नयाँ व्यवस्थाअनुसार अब बैंक तथा वित्तीय संस्थाहरूले सर्वसाधारणमा शेयर बिक्री गरी धितोपत्र विनिमय बजार (नेप्से) मा सूचीकृत भइसकेका कम्पनीको शेयर तथा डिबेञ्चर खरिद गरेपछि कम्तीमा ४५ दिनसम्म होल्ड गर्नुपर्नेछ। ४५ दिन पूरा भएपछि उनीहरूले सो शेयर बजारमा बिक्री गर्न पाउनेछन्।

तर, ४५ दिनभन्दा कम समयमै किन्ने र बेच्ने (अल्पकालीन ट्रेडिङ वा सट्टेबाजी) गर्न भने पाइने छैन। केन्द्रीय बैंकले कुनै पनि किसिमको प्रबन्धबाट संगठित संस्थाको शेयर तथा डिबेञ्चरमा अल्पकालीन लगानी गर्न नपाउने व्यवस्थालाई भने निरन्तरता दिएको छ।

यसैगरी, बैंकहरूले सरकारी ऋणपत्र, राष्ट्र बैंक ऋणपत्र तथा अन्य उपकरणहरूमा लगानी गर्दा त्यसको सट्टेबाजी जोखिम न्यूनीकरण हुने गरी स्पष्ट नीति तथा कार्यविधि आफ्नो सञ्चालक समितिबाट स्वीकृत गराउनुपर्नेछ। लगानी नीतिमा टेक प्रोफिट/स्टप लसको सीमा, स्वार्थको द्वन्द्व नियन्त्रण र लगानीको वर्गीकरण अनिवार्य रूपमा तोकिनुपर्नेछ।

यस्तै, संशोधनमार्फत वाणिज्य बैंकहरूका लागि आर्थिक वर्ष २०८३/८४ का लागि काउन्टरसाइक्लिकल बफर शून्य प्रतिशत कायम रहने व्यवस्था समेत गरिएको छ। बैंकहरूले आफ्ना लगानीका विवरणहरू मासिक रूपमा तोकिएको ढाँचामा राष्ट्र बैंकमा अनिवार्य पेस गर्नुपर्नेछ।