११ आश्विन २०८३, आइतबार

कालीगण्डकी बाढी अपडेट : पर्वतमा ८० घर बगे, फर्से बस्तीमा ठूलो क्षति



काठमाडौं । कालीगण्डकी नदीमा आएको बाढीका कारण पर्वतको जलजला गाउँपालिका–८ स्थित फर्से बस्तीमा ठूलो क्षति पुगेको छ। बाढीले बस्तीका करिब ८० घर बगाएको सशस्त्र प्रहरी बलले जनाएको हो।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार शनिबार रातिदेखि नै नदीको पानी बस्तीमा पस्न थालेपछि स्थानीय बासिन्दा सुरक्षित स्थानतर्फ लागेका थिए।

हालसम्म घटनामा मानवीय क्षति भएको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ। बाढीका कारण बाँकी घरहरू पनि जोखिममा परेपछि उद्धार टोलीले स्थानीय बासिन्दासँगै घरभित्रका आवश्यक सामानसमेत सुरक्षित स्थानमा सारिएको जनाएको छ।

जोखिमको सूचना पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २५ चन्डिका गण, पर्वत र नेपाल प्रहरीको संयुक्त टोली घटनास्थलमा परिचालन भएको थियो।

बाढी प्रभावित क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुनुका साथै फोन सम्पर्कमा समेत समस्या देखिएको बताइएको छ। घटनाबाट भएको क्षतिको थप विवरण संकलन भइरहेको छ।