बडादसैँअघिको तर्पण: आजदेखि सुरु भयो सोह्र श्राद्ध, कसरी गरिन्छ विधिपूर्वक पिण्डदान?
पितृप्रतिको श्रद्धा र दायित्वबोधको पर्वका रूपमा लिइने सोह्र श्राद्ध आजदेखि विधिवत् रूपमा सुरु भएको छ, जसअन्तर्गत पशुपतिनाथलगायत देशभरका धार्मिक स्थलमा पितृ तर्पण र पिण्डदान गर्नेहरूको चहलपहल बढेको छ।
काठमाडाैँ । हर वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आरम्भ हुने पितृ पक्ष अर्थात् सोह्र श्राद्ध आजदेखि औपचारिक रूपमा सुरु भएको छ। नेपाल पञ्चांग निर्णायक विकास समितिले मान्यता दिएको पात्रोअनुसार आज प्रतिपदा तिथिको श्राद्ध गर्नुपर्ने व्यवस्था छ।
सनातन संस्कारअनुसार ठूला चाडपर्व, यज्ञयागादि तथा शुभकार्य गर्नुअघि आफ्ना दिवंगत पितृहरूलाई श्रद्धापूर्वक सम्झिने पररिपाटी रहिआएको छ। यसै क्रममा आज पहिलो दिन देशका विभिन्न स्थानमा तर्पण, सिदादान र पिण्डदान गर्ने क्रम सुरु भएको छ।
आज प्रतिपदा तिथि परेकाहरूले राजधानीको पशुपतिनाथ मन्दिर परिसरसहित देशका विभिन्न शिवालय र नदी किनारमा पुगेर आफ्ना दिवंगत पितृका नाममा दान, तर्पण तथा पिण्डदान गरेका छन्। नेपाल पञ्चांग निर्णायक विकास समितिका पूर्वसदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईका अनुसार प्रतिपदा तिथिको पिण्डदान अपराह्नको समय पारेर गर्नुपर्ने शास्त्रीय विधान रहेको छ।
आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा पितृहरूलाई सम्मान प्रकट गरिने हुनाले यसलाई सोह्र श्राद्ध वा अपर पक्ष भनिएको हो।
धर्मशास्त्रका विज्ञहरूका अनुसार यो समयमा पितृहरूले आफ्ना सन्ततीबाट तर्पणको आश गरी बसेका हुन्छन्। यसरी विधिपूर्वक सोह्र श्राद्ध गर्दा पितृप्रतिको दायित्व पूरा हुनुका साथै पितृ ऋणबाट पनि मुक्ति पाइन्छ भन्ने धार्मिक विश्वास छ। धर्मशास्त्रविद् एवं समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतमले यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्ने शास्त्रीय वचन रहेको बताएका छन्।
उनका अनुसार जाताशौच, मृताशौच र पत्नी रजस्वला भएका बाहेक अन्य अवस्थामा सोह्र श्राद्ध छुटाइनु हुँदैन। साथै, यो कर्म सधैँ अपराह्नकालमै गर्नुपर्ने भए पनि कतिपय स्थानमा पुरोहितहरूले बिहानै गराउने गरेको पाइएको र त्यो शास्त्रसम्मत नभएको उनीहरूको भनाइ छ।
विभिन्न कारणवश निर्धारित तिथिमा सोह्र श्राद्ध गर्न नभ्याएका वा छुटेकाहरूका लागि शास्त्रमा विभिन्न विकल्पहरूको व्यवस्था गरिएको छ। आपद् धर्मअनुसार कुनै कारणले रोकिएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन छ।
यो समयमा पनि सम्भव नभएमा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन वा मङ्सिर महिनाको वृश्चिक सङ्क्रान्तिसम्म जुराएर गर्न सकिने ‘धर्मसिन्धु’ ग्रन्थमा उल्लेख गरिएको छ।
यीबाहेक आश्विन शुक्ल पक्षका अष्टमी, द्वादशी, औँसी, साथै भरणी नक्षत्र र व्यतीपात योग परेका दिन पनि छुटेका श्राद्ध गर्न मिल्ने शास्त्रीय आधार रहेको प्राडा भट्टराईले जानकारी दिए। यदि यी कुनै पनि समयमा गर्न नसकिएमा आफ्नै सामथ्र्यले वा ब्राह्मणमार्फत दैनिक १०८ मन्त्रको १० महिनासम्म जप गराएर पितृलाई तृप्ति दिन सकिने विकल्पसमेत शास्त्रमा पाइन्छ।
पितृ पक्षको यो विधिपूर्वकको समापनसँगै नेपालीहरूको महान् पर्व बडादसैँ अर्थात् दुर्गा पक्ष सुरु हुन्छ। ठूला पर्वहरू मनाउनुअघि आफ्ना पूर्वज तथा पितृहरूको तृप्तिका लागि सोह्र श्राद्ध गर्ने वैदिक सनातन पररिपाटी रहिआएको छ। यसले पारिवारिक उत्तरदायित्वबोध गराउनुका साथै सांस्कृतिक तथा धार्मिक मर्यादालाई समेत निरन्तरता दिने गर्दछ।

















