११ आश्विन २०८३, आइतबार

कच्चा पदार्थ महँगिएपछि महिन्द्राका एसयूभी फेरि महँगा हुने सम्भावना



कच्चा पदार्थको मूल्य बढेपछि महिन्द्राले एसयूभी गाडीको मूल्य फेरि बढाउने संकेत गरेको छ।

काठमाडाैँ । कच्चा पदार्थको लागत निरन्तर बढ्दै गएपछि प्रसिद्ध भारतीय अटोमोबाइल कम्पनी महिन्द्रा एन्ड महिन्द्राले आफ्ना स्पोर्टस् युटिलिटी भेहिकल (एसयूभी) हरूको मूल्य फेरि बढाउने विषयमा गम्भीरतापूर्वक विचार गरिरहेको छ।

कम्पनीका अटोमोटिभ अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत नलिनीकान्त गोलागुन्टाले आगामी केही हप्ताभित्रै यससम्बन्धी अन्तिम निर्णय लिइने बताएका छन्। उनले हाल बजारको अवस्थालाई नजिकबाट नियालिरहेको र कच्चा पदार्थको मूल्यवृद्धिले पारेको दबाबका कारण मूल्य बढाउनुपर्ने स्थिति आएको उल्लेख गरे।

कम्पनीले चालु वर्षको जनवरी, अप्रिल र जुलाई महिनामा गरी यसअघि नै तीन पटक गाडीको मूल्य बढाइसकेको छ। विशेष गरी जुलाई महिनामा गरिएको मूल्यवृद्धिका क्रममा एसयूभीहरूको मूल्य करिब २.७ प्रतिशतले बढेको थियो।

अटोमोबाइल उद्योगमा देखिएको यो मूल्यवृद्धिका बाबजुद पनि गाडीको मागमा कुनै कमी नआएको र ग्राहकहरूको सोधपुछ तथा बुकिङ उत्साहजनक रूपमा नै भइरहेको गोलागुन्टाले बताए। उनका अनुसार गत वर्ष वस्तु तथा सेवा कर (जीएसटी) मा गरिएको कटौतीका कारण अहिले पनि गाडीको मूल्य जीएसटी लागू हुनुभन्दा अघिको स्तरभन्दा कम नै रहेको छ।

जीएसटी पूर्वको मूल्यभन्दा कम मूल्य कायम रहनु र कम्पनीसँग नयाँ डिजाइन तथा मोडेलका गाडीहरू उपलब्ध हुनुले आगामी चाडपर्वको सिजनमा महिन्द्रा मात्र नभई समग्र अटोमोबाइल उद्योगमै सवारीसाधनको माग बलियो रहने कम्पनीको विश्वास छ।

मुद्रास्फीति र कच्चा पदार्थको महँगीको दबाब झेलिरहेको भए पनि विगत एक वर्षको अवधिमा गरिएको मूल्यवृद्धिका बीच पनि जीएसटी अघिको सहुलियतले नै बजारलाई धानिरहेको उनले प्रस्ट पारे।

भविष्यको प्रविधि तथा नीतिगत दिशानिर्देशबारे कुरा गर्दै गोलागुन्टाले कम्पनीको मुख्य ध्यान विद्युतीय सवारीसाधन (इभी) मै केन्द्रित रहेको जानकारी दिए।

सरकारको नीति र कर्पोरेट औसत इन्धन दक्षता (काफे) का मापदण्डहरूले विद्युतीय सवारी र हाइब्रिड प्रविधिबीच स्पष्ट भिन्नता छुट्याएका कारण सरकारको लक्ष्य अनुरुप नै इभीलाई प्राथमिकता दिइएको उनले बताए। यदि आगामी दिनमा नियम तथा कानुनमा कुनै परिवर्तन आएमा कम्पनी परिस्थिति अनुसार अगाडि बढ्न सक्षम रहेको तर हालको प्राथमिकता भने विद्युतीय सवारी नै रहेको उनको भनाइ छ।

कम्पनीको उत्पादन क्षमता विस्तारको योजनाबारे चर्चा गर्दै गोलागुन्टाले हाल महिन्द्रासँग मासिक करिब ६० हजार इन्टरनल कम्ब्रस्चन इन्जिन (आईसीई) र ८ हजार विद्युतीय सवारी उत्पादन गर्ने क्षमता रहेको बताए।

आगामी मार्चको अन्त्य वा अप्रिलको सुरुसम्ममा यो क्षमतामा उल्लेख्य वृद्धि हुनेछ। जसअनुसार आईसीई गाडीको उत्पादन क्षमता ७० हजार पुग्नेछ भने इभीको क्षमता १२ हजार पुग्नेछ। यसरी आगामी छ महिनाभित्र कम्पनीको कुल मासिक उत्पादन क्षमता ६८ हजारबाट बढेर ८४ हजार पुग्नेछ।

आगामी दुई त्रैमासिक अवधिभित्र कम्पनीले बजारमा पाँचवटा नयाँ उत्पादनसहित दुईवटा ठूला लन्चहरू ल्याउने तयारी गरिरहेको छ। यसरी उत्पादन क्षमता बढाउनुको पछाडि आगामी दिनमा आउने नयाँ मोडलहरूको तयारी नै मुख्य कारण रहेको उनले बताए।

आगामी दुई त्रैमासिकभित्रै इन्धनबाट चल्ने आईसीईतर्फ एक र विद्युतीय सवारीतर्फ एक गरी दुईवटा ठूला गाडीहरू बजारमा सार्वजनिक गर्ने योजना रहेको छ।