१२ आश्विन २०८३, सोमबार

दशैँमा सार्वजनिक यातायातको भाडा नबढ्ने, यात्रु ठगी रोक्नुपर्नेमा महासंघको जोड



काठमाडौं। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चाडपर्वका बेला सार्वजनिक यातायातको भाडा वृद्धि नगर्ने प्रतिबद्धता जनाएको छ। पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि नभएसम्म यात्रुले हाल कायम भाडादरमै सेवा पाउने महासंघले स्पष्ट पारेको हो।

सोमबार प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले पेट्रोलियम पदार्थको मूल्य यथावत् रहे सार्वजनिक यातायातको भाडा पनि नबढाउने प्रतिबद्धता गरेका हुन्।

उनका अनुसार चाडपर्वको समयमा अग्रिम टिकट बुकिङ गर्नु मात्रै पर्याप्त नभई यात्रुलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउनु प्रमुख चुनौती रहेको छ।

सडकको कमजोर अवस्था तथा विभिन्न स्थानमा हुने अवरोधका कारण चाडपर्वमा यातायात सञ्चालन चुनौतीपूर्ण बन्ने गरेको सिटौलाले बताए।यस्ता समस्या भए पनि सरकारसँग समन्वय गरेर सार्वजनिक यातायात सेवा निरन्तर सञ्चालन गर्ने महासंघको तयारी रहेको उनले जानकारी दिए।

सिटौलाले दसैँलगायत चाडपर्वमा सडकका खाल्डाखुल्डी पुर्ने, सडक सुरक्षामा ध्यान दिने र यात्रुवाहक सवारीलाई प्राथमिकता दिने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरे।

यात्रु ठगी रोक्नुपर्नेमा जोड

यस्तै, यात्रु ठगी नियन्त्रण गर्न बिचौलियाको गतिविधि तथा जथाभावी टिकट बिक्री गर्ने प्रवृत्ति रोक्नुपर्नेमा महासंघले जोड दिएको छ। यात्रुले तोकिएका बसपार्क र आधिकारिक टिकट काउन्टरबाट मात्रै टिकट खरिद गर्ने व्यवस्था प्रभावकारी बनाउनुपर्ने सिटौलाको भनाइ छ।

सरकारले निर्धारण गरेको नर्मल, डिलक्स र सुपर डिलक्स सवारीसाधनको श्रेणीअनुसारको भाडादर कार्यान्वयन गर्न व्यवसायी प्रतिबद्ध रहेको उनले बताए। चाडपर्वका लागि अग्रिम बुकिङ भइसकेका सवारीसाधनलाई अन्य प्रयोजनमा रिजर्भ नगर्न व्यवसायीलाई निर्देशन दिइएको सिटौलाले बताए।

त्यस्तै, लामो दूरीमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा दुईजना चालक राख्ने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गरिने उनले जानकारी दिए। चाडपर्वमा एकतर्फी यात्रुको चाप अत्यधिक बढ्ने भएकाले त्यसको व्यवस्थापनका लागि आवश्यक योजना बनाउनुपर्ने महासंघको सुझाव छ। सडकमा यातायातको सहज आवागमनका लागि निश्चित समयमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाउनसमेत सरकारसँग आग्रह गरिएको छ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढे पनि सरकारले नागरिकको हितलाई ध्यानमा राख्दै इन्धनको मूल्य स्थिर राख्नुपर्ने सिटौलाले बताए। उनका अनुसार इन्धनको मूल्य नबढेसम्म सार्वजनिक यातायातको भाडा वृद्धि गरिने छैन।