१२ आश्विन २०८३, सोमबार

फेरि पक्राउ परे दुर्गा प्रसाईं



काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले फेरि पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई सोमबार बिहान पक्राउ गरेको हो।

पछिल्ला दिनमा प्रसाईंले दिएका अभिव्यक्तिका विषयमा सोधपुछ गर्न उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रसाईंका पछिल्ला अभिव्यक्तिलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्रीले समेत कारबाहीको माग गरेकी थिइन्। प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले प्रसाईंले आफूविरुद्ध लगाएका आरोपको खण्डन गरेकी थिइन्।

सांसद खतिवडा खत्रीले प्रसाईंले आफ्नो छोराको शवसँग सांसद पद साटेको आरोप लगाएको बताउँदै त्यसको विरोध गरेकी थिइन्। उक्त अभिव्यक्तिप्रति भावुक हुँदै उनले प्रसाईंलाई बोल्नुअघि हजारौँपटक सोच्न आग्रहसमेत गरेकी थिइन्।

उनले प्रसाईंका अभिव्यक्तिप्रति आपत्ति जनाउँदै कानुनी कारबाही गर्न माग गरेकी थिइन्। अहिले साइबर ब्युरोले पनि प्रसाईंका पछिल्ला अभिव्यक्तिकै विषयमा सोधपुछ अघि बढाएको जनाएको छ।