१२ आश्विन २०८३, सोमबार

बाढी पहिरोले गर्दा १४ सय मेगावाट बिजुली उत्पादन अवरुद्ध, दसैँमा लोडसेडिङको जोखिम कति ?



काठमाडौँ। लगातारको वर्षा र बाढीले देशका विभिन्न जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्‍याएपछि करिब १,४०० मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनबाट बाहिरिएको छ। यसअघि भदौ १० गतेको बाढीले भोटेकोशी र त्रिशूली करिडरका आयोजनामा क्षति पुर्‍याउँदा ४३१ मेगावाट विद्युत् उत्पादन बन्द भएको एक महिना पनि नबित्दै फेरि ऊर्जा क्षेत्रमा ठूलो धक्का लागेको हो।

नेपाल विद्युत् प्राधिकरणका अनुसार, शुक्रबारदेखि आइतबारसम्मको अविरल वर्षाका कारण थप १,००० मेगावाट बिजुली ग्रिडमा जोडिन सक्ने अवस्था नरहेको जनाइएको छ।

कहाँ कति भयो क्षति ?

आइतबार आएको बाढीले दाना-कुश्मा खण्डको २२० केभी प्रसारण लाइनका दुईवटा टावरमा क्षति पुर्‍याएको प्राधिकरणका प्रवक्ता राजन ढकालले जानकारी दिए। उनका अनुसार कालिगण्डकी करिडरमा उत्पादित ३७० मेगावाट विद्युत् प्रसारण लाइनमै अवरोध आएका कारण राष्ट्रिय ग्रिडबाट छुटेको छ। कालिगण्डकी करिडरका संरचना र मर्स्याङ्दी करिडरका केही आयोजना सुरक्षाका कारण बन्द गर्नुपर्दा झन्डै एक हजार मेगावाट बिजुली आउट भएको प्रवक्ता ढकालले बताए।

यस्तै, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का अध्यक्ष मोहन डाँगीले कालिगण्डकीको प्रसारण लाइनमा क्षति पुग्दा ७ वटाभन्दा बढी आयोजनाको उत्पादन रोक्न बाध्य हुनुपरेको जानकारी दिए। उनका अनुसार टावर मर्मत भएलगत्तै ती क्षेत्रका अधिकांश आयोजना पुन: सञ्चालनमा आउनेछन्।

प्राधिकरणका अनुसार कालिगण्डकी करिडरका टावरहरू मर्मत गर्न ८ देखि १० दिनसम्म लाग्न सक्छ। त्यस्तै, हालै मात्र सञ्चालनमा आएको ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाको स्विचयार्डमा समेत बाढीले क्षति पुर्‍याएको छ।

यसअघि भदौ १० को बाढीले रसुवागढी, साञ्जेन, चिलिमे, माथिल्लो त्रिशूली ३ए, मैलुङ र देवीघाट लगायतका दर्जनभन्दा बढी आयोजनामा क्षति पुर्‍याएको थियो।

दसैँमा लोडसेडिङको जोखिम कति ?

विद्युत् उत्पादनमा ठूलो ह्रास आए पनि आगामी दसैँतिहार जस्ता चाडपर्वमा लोडसेडिङ हुने कुनै सम्भावना नरहेको प्राधिकरणले स्पष्ट पारेको छ। प्रवक्ता ढकालले पछिल्लो समय चाडपर्वका बेला विगत जस्तो विद्युत् माग उच्च नहुने बरु घट्ने भएकाले समस्या नपर्ने बताए।

इप्पानका अध्यक्ष डाँगीले पनि प्रसारण लाइन पुनर्स्थापनाका लागि निजी क्षेत्रले प्राधिकरणसँग मिलेर द्रुत गतिमा काम गरिरहेको बताएका छन्।बाढी आउनुअघि नेपालको कुल जडित क्षमता करिब ४,३०० मेगावाट पुगेको थियो भने आन्तरिक माग २,५०० मेगावाटको हाराहारीमा मात्र सीमित थियो।

मागभन्दा बढी भएको बिजुली भारत र बङ्गलादेश निर्यात हुँदै आएकोमा प्राकृतिक विपद्का कारण आयोजनाहरू प्रभावित भए पनि निर्यात पूर्ण रूपमा नरोकिएको प्राधिकरणको भनाइ छ। नेपालमा हिउँदको समयमा बर्खाको तुलनामा एक तिहाइ मात्रै विद्युत् उत्पादन हुने भएकाले त्यसबेला भने भारतबाट आयात गरेर माग धान्ने गरिन्छ।