१३ आश्विन २०८३, मंगलबार

चीनबाट दशैँका लागि मगाइएका सामान बाटोमै थन्किए, व्यापारीलाई उठिवासको पिरलो



काठमाडौँ । नजिकिँदै गरेको बडादशैँ र तिहारजस्ता महान् चाडपर्वका बेला बजारमा नयाँ लुगा लगाउने र उपहार साटासाट गर्ने नेपालीहरूको रहरमा यतिबेला ठूलो तुषारापात परेको छ। चीनसँग जोडिएका प्रमुख व्यापारिक नाकाहरू बन्द भएपछि वैकल्पिक रूपमा प्रयोग गरिएको कोरला नाकासमेत सडक अवरुद्ध भएपछि व्यापारीहरू ठूलो आर्थिक संकटमा फसेका छन्।

गत भदौ १० गते आएको बाढीले रसुवागढी नाका र त्यहाँसम्म पुग्ने सडकमा ठूलो क्षति पुर्‍याएपछि चीनबाट सामान ल्याउन हम्मेहम्मे परेको छ।

रसुवामा भन्सार प्रक्रियामा आइसकेका लत्ताकपडा तथा अन्य मालसामान बाढीले बगाएपछि केही जोगिएका सामान मात्रै व्यापारीहरूले मुस्ताङको कोरला नाकातर्फ डाइभर्ट गरेका थिए। तर, केही दिनअघिको लगातारको वर्षाले कालीगण्डकी करिडोरअन्तर्गत कोरलासम्म पुग्ने सडकमा थुप्रै ठाउँमा पहिरो गएको छ भने हिउँले बाटो ढाकेको छ।

राजधानी काठमाण्डूबाट तुलनात्मक रूपमा छोटो दूरीमा रहेको तातोपानी नाका पनि पहिरोका कारण अस्तव्यस्त छ। सरकारले उत्तरी सीमाबाट हुने ढुवानीलाई सहज बनाउन कोरला नाका सञ्चालनमा ल्याए पनि लगातारको प्राकृतिक विपत्तिले यो बाटो भएर पनि समयमै सामान काठमाण्डू आइपुग्ने सम्भावना टरेको छ।

चाडपर्व लक्षित गरी वित्तीय संस्था र सहकारीबाट चर्को ब्याजमा ऋण काढेर चिनियाँ कपडा तथा अन्य सामान मगाएका व्यापारीहरू यतिबेला दोहोरो मारमा परेका छन्। बाढीले आधा सामान बगायो भने बाँकी रहेको थोरै सामान पनि समयमै बजारमा पुग्ने छाँटकाँट छैन।

जोमसोमदेखि कोरलासम्म तथा म्याग्दीतर्फका विभिन्न खण्डमा सडक पूर्ण रूपमा अवरुद्ध हुँदा मुस्ताङ सदरमुकाम नै राष्ट्रिय सडक सञ्जालबाट छुट्टिएको छ। सडक डिभिजन कार्यालयका अनुसार भत्किएको र पहिरोले अवरुद्ध भएको सडक खुलाउन अझै कम्तीमा १० देखि १५ दिनसम्म लाग्न सक्छ। यसले गर्दा दशैँको घटस्थापना सुरु भइसक्दा पनि ती सामान बजारमा उपलब्ध हुने अवस्था छैन।

व्यापारीहरूले लामो समयदेखि तातोपानी नाका पूर्ण रूपमा सञ्चालनमा ल्याउन सरकारसँग आग्रह गर्दै आएका छन्। चीनले एकतर्फी रूपमा तातोपानी नाका बन्द गरेपछि कूटनीतिक माध्यमबाट समस्या समाधान गर्न व्यवसायीहरूले जोड दिए पनि चिनियाँ पक्षबाट खासै सकारात्मक संकेत आएको छैन।

यदि उत्तरी नाकाहरू पूर्ण रूपमा सञ्चालन नभएमा भारतको कोलकाता पोर्ट हुँदै सामुद्रिक मार्गबाट सामान ल्याउनुपर्ने अर्को बाध्यकारी विकल्प मात्र बाँकी छ। तर, यो बाटोबाट सामान ल्याउँदा कम्तीमा एक महिनाभन्दा बढी समय लाग्ने र ढुवानी खर्चसमेत अत्यधिक महँगो पर्ने भएकाले साना तथा मझौला व्यापारीहरू थप धराशायी बन्ने स्थिति देखिएको छ।

चाडपर्व नजिकिँदै जाँदा बजारमा चिनियाँ सामानको अभाव देखिन थालेको छ भने व्यापारीहरूको चिन्ता दिनप्रतिदिन बढ्दै गएको छ।