१३ आश्विन २०८३, मंगलबार

अध्ययन बिदा लिएर गायब हुने शिक्षक कर्मचारीबाट त्रिविद्वारा करोडौँ असुल



काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि)को लगानीमा अध्ययन बिदा लिएर जाने अनि विदेशमा विभिन्न अवसर उपभोग गर्ने, तर विश्वविद्यालय र राष्ट्रप्रतिको उत्तरदायित्व भुलेर उतै गायब हुने प्रवृत्ति त्रिविका लागि वर्षौंदेखि गम्भीर चुनौती बन्दै आएको छ।

विश्वविद्यालयको आन्तरिक स्रोत र राज्यको लगानीमा उच्च शिक्षा हासिल गरेपछि नियमअनुसार सेवामा फर्केर योगदान दिनुपर्ने दायित्वबाट पन्छिने केही शिक्षक तथा कर्मचारीहरूको यो लापरबाहीले त्रिविको प्राज्ञिक वातावरण र आर्थिक अनुशासनमाथि नै गम्भीर क्षति पुर्‍याएको गुनासो उठ्दै आइरहेको छ।

यसै बेथिति र उत्तरदायित्वहीनतालाई सधैँका लागि अन्त्य गर्न त्रिभुवन विश्वविद्यालयले हाल कठोर प्रशासनिक तथा आर्थिक हस्तक्षेपको नीति अगाडि बढाएको छ। लामो समयसम्म चेतावनीलाई बेवास्ता गर्दै आएका शिक्षक तथा कर्मचारीहरूलाई कानुनको दायरामा ल्याउन त्रिवि रजिष्ट्रारको कार्यालयले अध्ययन बिदाको दुरुपयोग गर्नेहरूबाट हर्जानासहितको रकम असुलीलाई तीव्र पार्दै यसलाई एउटा अभियानकै रूपमा अगाडि बढाएको छ।

सेवामा नफर्किएका शिक्षक–कर्मचारीबाट १६ करोड बढी असुल

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अध्ययन बिदा लिएर विश्वविद्यालयको नियमअनुसार सेवामा नफर्किएका शिक्षक तथा कर्मचारीबाट हालसम्म करिब १६ करोड ५० लाख रुपैयाँ असुल गरेको छ। त्रिवि रजिष्ट्रार कार्यालयअन्तर्गत कर्मचारी प्रशासन महाशाखाका अनुसार ७५ वटा छुट्टाछुट्टै प्रकरणबाट उक्त रकम असुल गरिएको हो।

अध्ययन बिदा सकिएपछि विश्वविद्यालयमा हाजिर नभएका तथा सेवामा फर्किए पनि अनिवार्य रूपमा पूरा गर्नुपर्ने सेवा अवधि पूरा नगरेका शिक्षक–कर्मचारीमाथि रकम असुलीको प्रक्रिया अघि बढाइएको त्रिविले जनाएको छ। नियमअनुसार अध्ययन बिदाका क्रममा विश्वविद्यालयबाट प्राप्त तलब, भत्ता तथा अन्य सुविधामा हर्जाना जोडेर रकम फिर्ता गराउने व्यवस्था लागू गरिएको छ।

२१ करोड बढी असुल गरिने

त्रिविले थप प्रकरणहरूको विवरण संकलन र हिसाब–किताब तयार गर्ने कामसमेत जारी राखेको जनाएको छ। हालसम्म हिसाब निकालिएका प्रकरणमा मात्रै करिब २१ करोड ५० लाख रुपैयाँ असुल गर्नुपर्ने देखिएको विश्वविद्यालयको भनाइ छ।

सम्पर्कमा आएका सम्बन्धित शिक्षक तथा कर्मचारीका व्यक्तिगत अभिलेख अध्ययन गर्ने र उनीहरूले विश्वविद्यालयलाई बुझाउनुपर्ने रकम निर्धारण गरी असुली प्रक्रिया अघि बढाउने काम भइरहेको त्रिविले जनाएको छ।

विश्वविद्यालयले अध्ययन बिदा सकिएपछि नियमअनुसार सेवामा नफर्किएका वा तोकिएको सेवा अवधि पूरा नगरेका शिक्षक तथा कर्मचारीलाई २०८३ साल पुस मसान्तसम्म रजिष्ट्रार कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ। उनीहरूले [email protected] मा इमेल गरेर पनि सम्पर्क गर्न सक्नेछन्।

तोकिएको समयभित्र सम्पर्क नगरेमा सम्बन्धित व्यक्तिले विश्वविद्यालयसँग गरेको कबुलियतनामा र प्रचलित विश्वविद्यालय नियमअनुसार कानुनी प्रक्रिया अघि बढाइने त्रिविले जनाएको छ।