१३ आश्विन २०८३, मंगलबार

भारतमा आधा मूल्यमै टाटाका ईभी: ६ वटै सिरिजमा ‘बास’ सुविधा विस्तार, नेपालमा के छ तयारी?



काठमाडौं । टाटा डट ईभीले भारतमा आफ्नो सम्पूर्ण विद्युतीय सवारीसाधन पोर्टफोलियोमा ‘ब्याट्री–एज–अ–सर्भिस’ अर्थात् ‘बास’ सुविधा विस्तार गरेको छ।

यो सुविधामार्फत ग्राहकले गाडी र त्यसमा प्रयोग हुने ब्याट्रीको मूल्य छुट्टाछुट्टै वित्तीय व्यवस्थामार्फत तिर्न सक्नेछन्। यसले विद्युतीय गाडी खरिद गर्दा सुरुमा तिर्नुपर्ने रकम घटाउनेछ।

भारतमा सोमबारदेखि लागू गरिएको यो योजनाअन्तर्गत टियागो डट ईभीको गाडी मूल्य ४.६९ लाख भारतीय रुपैयाँबाट सुरु हुनेछ। तर यो ब्याट्रीसहितको पूर्ण गाडीको मूल्य भने होइन। बास योजनामा गाडीको मूल्य र ब्याट्रीको लागत छुट्टाछुट्टै राखिने भएकाले ग्राहकले ब्याट्रीका लागि छुट्टै किस्ता वा प्रयोगका आधारमा तोकिएको शुल्क तिर्नुपर्ने हुन्छ।

यसअघि टियागो डट ईभी र पञ्च डट ईभीमा मात्रै उपलब्ध रहेको बास सुविधा अब नेक्सन डट ईभी, कर्भ डट ईभी, सियारा डट ईभी र ह्यारियर डट ईभीमा समेत विस्तार गरिएको हो। यससँगै टाटाको भारतस्थित सम्पूर्ण विद्युतीय सवारीसाधन पोर्टफोलियो बास योजनामा समेटिएको छ।

बास योजनामा गाडीको ब्याट्रीको मूल्यलाई गाडीको मुख्य मूल्यबाट अलग गरिन्छ। गाडी र ब्याट्रीका लागि छुट्टाछुट्टै ऋण खाता हुने भएकाले ग्राहकले गाडी किन्दा सुरुमा कम रकम तिर्न सक्नेछन्। ब्याट्रीतर्फको किस्ता वा प्रयोग लागत भने ब्याट्रीको क्षमता, सुरुआती भुक्तानी र ऋणको अवधिअनुसार फरक हुनेछ।

टाटाले यो सुविधाका लागि विभिन्न वित्तीय संस्थासँग साझेदारी गरेको जनाएको छ। ग्राहकले चाहेमा ब्याट्रीसहितको गाडी परम्परागत तरिकाबाट एकैपटक खरिद गर्न सक्नेछन् भने बास रोज्नेले गाडी र ब्याट्रीका लागि छुट्टाछुट्टै वित्तीय सुविधा लिन सक्नेछन्।

कम्पनीका अनुसार बासअन्तर्गत तोकिएको प्रतिकिलोमिटर लागत चार्जिङ खर्च भने होइन। यसमा गाडी चार्ज गर्दा लाग्ने विद्युत् खर्च, मर्मतसम्भार तथा अन्य सञ्चालन खर्च समावेश छैन। त्यस्तै, सार्वजनिक गरिएका मूल्य प्रारम्भिक ट्रिमका लागि हुन् र व्यक्तिगत प्रयोगकर्ताका लागि मात्रै लागू हुन्छन्। बीमा, रोड ट्याक्स, टीसीएस तथा अन्य कानुनी करसमेत यी मूल्यमा समावेश छैनन्।

टाटाले बासअन्तर्गत मूल्य निर्धारण गर्दा टियागो डट ईभीका लागि दैनिक ४४ किलोमिटर र अन्य मोडलका लागि दैनिक ६० किलोमिटरको प्रयोगलाई आधार मानेको छ। त्यसैले ग्राहकले तिर्नुपर्ने वास्तविक रकम छनोट गरिएको मोडल, भेरियन्ट, वित्तीय संस्था, ऋण अवधि र प्रयोगको अवस्थाअनुसार फरक पर्न सक्छ।

‘बास’ योजनामा टाटा ईभीको मूल्य कति घट्यो?

१९ किलोवाट–आवर ब्याट्री भएको टियागो डट ईभीको नियमित सुरुआती मूल्य ६.९९ लाख भारु रहेकोमा बासअन्तर्गत गाडीको सुरुआती मूल्य ४.६९ लाख भारु कायम गरिएको छ। यसको ब्याट्री प्रयोग तथा वित्तीय लागत २.६ भारु प्रतिकिलोमिटर तोकिएको छ।

३० किलोवाट–आवर ब्याट्री भएको पञ्च डट ईभीको नियमित सुरुआती मूल्य ९.७९ लाख भारु हो। बासअन्तर्गत यसको गाडी मूल्य ६.५९ लाख भारुबाट सुरु हुन्छ भने ब्याट्री लागत २.६ भारु प्रतिकिलोमिटर रहेको छ।

४५ किलोवाट–आवर ब्याट्री भएको नेक्सन डट ईभीको नियमित सुरुआती मूल्य १४.३४ लाख भारु रहेकामा बासअन्तर्गत ८.९९ लाख भारुबाट सुरु हुनेछ। यसको ब्याट्री प्रयोग लागत ४.४ भारु प्रतिकिलोमिटर छ।

५५ किलोवाट–आवर ब्याट्री भएको कर्भ डट ईभीको नियमित सुरुआती मूल्य १७.१९ लाख भारु हो। बासअन्तर्गत यसको गाडी मूल्य १०.९९ लाख भारुबाट सुरु हुन्छ भने ब्याट्री लागत ५ भारु प्रतिकिलोमिटर तोकिएको छ।

६३ किलोवाट–आवर ब्याट्री भएको सियारा डट ईभीको नियमित सुरुआती मूल्य १८.७९ लाख भारु रहेकामा बासअन्तर्गत गाडीको सुरुआती मूल्य ११.९९ लाख भारु कायम गरिएको छ। यसको ब्याट्री लागत ५.५ भारु प्रतिकिलोमिटर छ।

त्यस्तै, ६५ किलोवाट–आवर ब्याट्री भएको ह्यारियर डट ईभीको नियमित सुरुआती मूल्य २१.७९ लाख भारु रहेकोमा बास योजनाअन्तर्गत गाडीको मूल्य १४.४९ लाख भारुबाट सुरु हुन्छ। यसको ब्याट्री प्रयोग तथा वित्तीय लागत ५.९ भारु प्रतिकिलोमिटर तोकिएको छ।

नेपालमा कहिले सुरु होला ?

भारतमा टाटा डट ईभीले सम्पूर्ण ईभी पोर्टफोलियोमै ‘बास’ सुविधा विस्तार गरिसकेपछि नेपालमा पनि यस्तो वित्तीय मोडल लागू हुने सम्भावनाबारे चासो बढ्न थालेको छ।

नेपालमा टाटाका गाडीहरूको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ रहेको छ, तर अहिलेसम्म नेपालमा यो योजना लागू भएको छैन। भारतीय बजारमा जस्तै नेपालमा पनि गाडी र ब्याट्रीको मूल्य छुट्ट्याएर बिक्री गर्ने वा बास सुविधा भित्र्याउने विषयमा सिप्रदी वा टाटाका तर्फबाट हालसम्म कुनै आधिकारिक घोषणा भएको छैन।

विशेषगरी नेपालमा विद्युतीय गाडीको कुल मूल्यमा ब्याट्रीको हिस्सा ठूलो हुने भएकाले ब्याट्रीको लागतलाई छुट्टै वित्तीय व्यवस्था (फाइनान्स) मा राख्ने यस्तो मोडल नेपालमा आउन सके नेपाली ग्राहकका लागि पनि सुरुआती खरिद लागत (अपफ्रन्ट कष्ट) उल्लेख्य रूपमा घट्न सक्ने देखिन्छ।