हिमाल आरोहणको आकर्षण: शरदमा ६३७ जनाले लिए अनुमति, राजस्व सङ्कलन २४ करोड नजिक
काठमाडौँ। वसन्त ऋतुपछिको दोस्रो मुख्य सिजन मानिने शरद् ऋतु नेपालको पर्वतारोहण क्षेत्रका लागि अत्यन्तै उर्वर र महत्त्वपूर्ण समय मानिन्छ। यस समयमा मौसम अनुकूल हुने, हिमाल सफा देखिने र हिउँदयामभन्दा आरोहणका लागि सुरक्षित मानिने हुँदा विश्वभरका साहसिक पर्यटनप्रेमी तथा पर्वतारोहीहरूको आकर्षण नेपालका हिमालहरूतर्फ केन्द्रित हुने गर्दछ।
विश्व मानचित्रमा नेपाललाई पर्वतारोहणको प्रमुख गन्तव्यको रूपमा स्थापित गर्न र पर्यटनमार्फत राष्ट्रिय अर्थतन्त्रलाई टेवा पुर्याउन यस ऋतुको विशेष योगदान रहँदै आएको छ। पछिल्लो समय नेपाल पर्यटन बोर्ड र पर्यटन विभागले आरोहण व्यवस्थापनलाई सहज बनाउँदै सुरक्षा मापदण्डहरूलाई प्रभावकारी बनाउँदै लगेका छन्, जसले गर्दा विश्वका विभिन्न देशबाट आउने आरोहीहरूको सङ्ख्यामा निरन्तर वृद्धि भइरहेको छ।
हिमाल आरोहणले ट्रेकिङ, होटेल व्यवसाय र स्थानीय रोजगारी सिर्जना गर्नुका साथै नेपालको पर्यटन राजस्वमा समेत करोडौँ रुपैयाँको योगदान पुर्याउँदै आएको छ। यही क्रममा सन् २०२६ को शरद् ऋतुमा पनि नेपालका विभिन्न हिमाल आरोहणका लागि उत्साहजनक सहभागिता देखिएको छ।
पर्यटन विभागका अनुसार शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ जनाले अनुमति लिएका छन् । सन् २०२६ को शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६८ वटा टोलीका ६३७ जना आरोहीले अनुमति लिएका हुन् ।
विभागका सूचना अधिकारी सुरज घिमिरेले १८ हिमाल आरोहणका लागि ४७४ पुरुष र १६३ महिलाले आरोहण अनुमति लिएको जानकारी दिए । आरोहण अनुमति प्रदान गरेबापत विभागले आरोहीहरुबाट २३ करोड ८५ लाख १७ हजार ७९७ रोयल्टी सङ्कलन गरेको छ ।
मनास्लु हिमालमा सर्वाधिक आकर्षण
आरोहण अनुमति प्रदान गरेका हिमालमध्ये सबैभन्दा धेरै मनास्लु (८,१६३ मिटर) रहेको छ । मनास्लु आरोहणका लागि मात्रै ४३ टोलीका ५०० जना आरोहीले अनुमति लिएका छन् । उनीहरूबाट विभागले २२ करोड ५८ लाख ५७ हजार १८९ रोयल्टी सङ्कलन गरेको छ।
विभागका अनुसार धौलागिरि–१ आरोहणका लागि चार टोलीका ३४ जना, पुथा हिउँचुलीका लागि दुई टोलीका २० जना, डाङ्गा हिउँचुलीका लागि दुई टोलीका १६ जना, बरुणत्से हिमालका लागि एक टोलीका १० जनाले आरोहण अनुमति लिएका छन् ।
यस्तै, मकालु, गङ्गापूर्णा पश्चिम (लाङचेनेल), थोरोङ पिक, नोर्बु खाङ, अन्नपूर्ण–४, चाम्लाङ, लमजुङ हिमाल, पुमोरी, सारिबुङ, थापा पिक (धाम्पुस), पोखर खाङ, अर्दाङ र पेरीलगायतका हिमालका लागि अनुमति प्रदान गरिएको विभागले जनाएको छ। विभागले उक्त हिमालहरु आरोहणका लागि जारी गरेको आरोहण अनुमतिबाट १५ लाख ६८ हजार ७३४ अमेरिकी डलर अर्थात् रु २३ करोड ८५ लाख १७ हजार ७९७ नेपाली आम्दानी गरेको छ ।
हिमाल आरोहण क्षेत्रमा देखिएको यो उत्साहजनक सहभागिताले नेपाली पर्यटन उद्योगलाई पुनरुत्थान गर्न र राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन महत्त्वपूर्ण टेवा पुर्याएको छ। यसले विश्वमञ्चमा नेपाललाई सुरक्षित र आकर्षक पर्वतारोहण गन्तव्यको रूपमा थप उजागर गरेको छ।














