विराट एग्रीले आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त
काठमाडौँ। एनआईसी एशिया क्यापिटलले आफ्नो “आइडिया टु आइ–पी–ओ” सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना कालदेखि आईपीओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक पर्ने सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आइरहेको छ।
सोही सेवा अन्तर्गत इटहरी–१३, सुनसरीमा कारोवार कार्यालय रहेको बिराट एग्री लिमिटेडको प्रचलित कानूनको अधिनमा रही भविष्यमा सर्वसाधारणहरुमा प्राथमिक शेयर (आईपीओ)निष्कासन गर्नको लागि आवश्यक पर्ने सम्पूर्ण संस्थागत परामर्श सहितको सेवा उपलब्ध गराउने गरी एनआईसी एशिया क्यापिटल लिमिटेड र बिराट एग्री लिमिटेडबीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको हो।
नेपालको कृषि तथा एक्वाकल्चर क्षेत्रलाई व्यावसायिक, आधुनिक तथा दिगो ढाँचामा विकास गर्ने उद्देश्यले स्थापित बिराट एग्री लिमिटेड मोरङ र सुनसरी जिल्लामा १०० हेक्टरभन्दा बढी जलाशय क्षेत्रफलमा करिब १५० वटा पोखरीमार्फत व्यावसायिक एकीकृत कृषि तथा मत्स्यपालन गर्दै देशका ठूला तथा व्यवस्थित व्यावसायिक मत्स्य फार्ममध्ये एक अग्रणी व्यावसायिक मत्स्य फार्मका रूपमा अघि बढिरहेको छ।
कम्पनीले इटहरी–१३, खनार औद्योगिक क्षेत्रमा दैनिक २५ टन उत्पादन क्षमताको आधुनिक फिस फिड प्लान्टमार्फत आफ्ना परियोजना तथा बजारका लागि विभिन्न प्रकारका तैरिने र डुब्ने माछाका दाना उत्पादन तथा बिक्री–वितरण गर्दै आएको छ।
कृषि तथा मत्स्यपालन क्षेत्रको सम्पूर्ण मूल्य शृङ्खलालाई एकीकृत गर्दै उत्पादन, प्रशोधन, प्याकेजिङ तथा बजारीकरणलाई थप व्यवस्थित र व्यावसायिक बनाउने दीर्घकालीन योजनाअनुरूप कम्पनीले प्रस्तावित सार्वजनिक शेयर निष्कासनबाट प्राप्त पूँजीलाई उत्पादन क्षमता विस्तार, आधुनिक प्रशोधन प्रविधि तथा व्यावसायिक पूर्वाधार विकासमा परिचालन गर्दै आगामी दिनमा विभिन्न महत्वपूर्ण परियोजना अघि बढाउने लक्ष्य लिएको छ।
बिराट एग्रीले पाङ्गास फिलेटिङ तथा फिस प्रोसेसिङ प्लान्ट आधुनिक प्रविधिबाट पाङ्गास माछा प्रशोधन गरी फिलेट तथा अन्य मूल्य अभिवृद्धि भएका माछाजन्य प्रजातिको उत्पादन, प्याकेजिङ तथा बजारीकरण गर्ने प्लान्ट स्थापना गर्ने तथा हाल सञ्चालनमा रहेको फ्लोटिङ फिस फिड प्लान्टका अतिरिक्त माछा तथा पशुपंक्षीका लागि आवश्यक पोषणयुक्त दाना उत्पादन गर्न दैनिक १० टन क्षमताको आधुनिक पेलेट फिड प्लान्ट स्थापना गर्ने लक्ष्य लिएको छ ।
आगामी दिनमा एकीकृत कृषि तथा मत्स्य भ्यालु चेनका यी पूर्वाधारहरूको विकाससँगै बिराट एग्रीले उत्पादनदेखि प्रशोधन, प्याकेजिङ तथा बजारीकरणसम्मको सम्पूर्ण प्रक्रियालाई एकीकृत प्रणालीमा जोड्ने लक्ष्य समेत राखेको छ।
कम्पनीले “फार्म टु मार्केट” अवधारणा अन्तर्गत आफ्नै फार्ममा माछा उत्पादन, माछाको दाना उत्पादन, आधुनिक प्रशोधन तथा फिलेटिङ, कोल्ड स्टोरेज, प्याकेजिङ र बजार व्यवस्थापनलाई एउटै एकीकृत व्यावसायिक चक्रमा विकास गर्ने योजना अघि बढाइरहेको छ।
बिराट एग्रोको यस विस्तार योजनाले नेपालको कृषि तथा एक्वाकल्चर क्षेत्रमा मूल्य अभिवृद्धि, आधुनिक प्रविधिको प्रयोग, रोजगारी सिर्जना तथा आयात प्रतिस्थापनमा योगदान पुर्याउने लक्ष्यका साथ अगाढी रहेको छ ।
साथै एनआईसी एशिया क्यापिटलले “आइडिया टु आइपीओ” सेवा अन्तर्गत प्रा.लि. लाई पब्लिक कम्पनीमा परिणत गर्नेदेखि साधारण शेयर निष्काशन सम्मको कार्य गर्न आवश्यक परामर्श सेवा संचालन गरिरहेको हुँदा उक्त सेवा लिन चाहने कम्पनीहरुले क्यापिटलका प्रमुख मर्चेण्ट बैंकिङ्ग अधिकृत दामोदर रायमाझीलाई मोबाइल नम्बर ९८५११८४९७९ मा सोझै सम्पर्क गर्न सकिने व्यहोरा जानकारी गराइन्छ।














