मनपरी सर्भेयर छनोट अन्त्य गर्न बीमा प्राधिकरणद्वारा स्वचालित प्रणालीको थालनी
बीमा क्षेत्रमा पारदर्शिता र सुशासन कायम गर्ने उद्देश्यसहित नेपाल बीमा प्राधिकरणले दाबी मूल्याङ्कनका लागि ‘अटोमेटिक सर्भेयर डेपुटेसन सिस्टम’ सञ्चालनमा ल्याएको छ।
काठमाडाैँ । नेपालको बीमा क्षेत्रमा लामो समयदेखि उठ्दै आएको छनोटको अनियमितता र विभेदको अन्त्य गर्न नेपाल बीमा प्राधिकरणले एक महत्वपूर्ण कदम चालेको छ।
प्राधिकरणले बीमा दाबीको क्षति मूल्याङ्कनका लागि सर्भेयर खटाउने प्रक्रियालाई पूर्णरूपमा डिजिटल र स्वचालित बनाउँदै ‘अटोमेटिक सर्भेयर डेपुटेसन सिस्टम’ को परीक्षण सुरु गरेको छ।
सोमबारबाट औपचारिक रूपमा परीक्षण थालिएको यस नयाँ प्रणालीले बीमा कम्पनीहरूले आफ्नो अनुकूलका व्यक्तिलाई मात्र काम दिने प्रवृत्तिमा पूर्णरूपमा रोक लगाउने विश्वास लिइएको छ। परम्परागत शैलीको छनोट प्रक्रियालाई विस्थापित गर्दै ल्याइएको यो प्रविधिले बीमा दाबी फर्स्याटलाई छिटो, छरितो र न्यायसङ्गत बनाउने अपेक्षा गरिएको छ।
हालसम्म बीमा कम्पनीहरूले व्यक्तिगत वा संस्थागत रूपमा आफूलाई सहज लाग्ने सर्भेयरलाई मात्र छनोट गर्ने गरेको गुनासो व्यापक रूपमा उठ्ने गरेको थियो।
यसले गर्दा केही निश्चित सर्भेयरले मात्रै अत्यधिक काम पाउने र योग्य भए पनि धेरैले अवसरबाट वञ्चित हुनुपर्ने अवस्था थियो। यसै समस्यालाई सधैँका लागि अन्त्य गर्न नयाँ प्रणालीमा ६ सय ८० भन्दा बढी सर्भेयरहरूको विस्तृत विवरण प्रविष्ट गरिएको छ।
यसमा उनीहरूको विशेषज्ञता, वरिष्ठता, भौगोलिक उपलब्धता, कार्यसम्पादनको पोर्टफोलियो र हालसम्म लिएका कामहरूको फेहरिस्त समावेश छ।
प्रणालीले घटनाको प्रकृति र आवश्यकता अनुसार स्वतः योग्य सर्भेयरको छनोट गर्ने भएकाले अब कसैको व्यक्तिगत सिफारिस वा दबाबले काम पाउने दिनको अन्त्य हुनेछ।
प्रविधिले तय गर्नेछ विशेषज्ञ
यस प्रणालीको मुख्य विशेषता भनेको यसले कृत्रिम बौद्धिकता वा निर्धारित मापदण्डका आधारमा सही समयमा सही सर्भेयर खटाउनु हो।
उदाहरणका लागि कुनै स्थानमा सवारी दुर्घटनाको घटना घटेको अवस्थामा उक्त क्षेत्रमा उपलब्ध, सवारी साधनको दाबी हेर्न विज्ञता हासिल गरेको र हाल कार्यभार कम भएको सर्भेयरलाई प्रणालीले स्वतः छनोट गरिदिन्छ।
यसले गर्दा बीमा कम्पनीका अधिकारीहरूले म्यानुअल्ली नाम छानेर खटाउनुपर्ने झन्झटबाट मुक्ति पाउनेछन्। साथै, प्रत्येक सर्भेयरले पाएको कामको अनुपात र त्यसको प्रगति विवरण पनि प्रणालीले नै ट्र्याक गर्नेछ, जसले गर्दा कार्यबोझमा समेत सन्तुलन कायम हुनेछ।
सरोकारवालाको सहभागिता
सफ्टवेयर निर्माण गर्नुपूर्व बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, सूचना प्रविधि प्रमुख, दाबी प्रमुख र स्वयं सर्भेयरहरूसँग विस्तृत छलफल गरी सुझाव लिइएको थियो। उनीहरूका सुझावलाई समेटेर तयार पारिएको यो सफ्टवेयर पूर्णरूपमा सुरक्षित बनाउन फायरवाल र भिएपीटीलगायतका सुरक्षा परीक्षणहरू पनि गरिनेछन्।
प्राविधिक पक्षलाई अझ बढी प्रभावकारी बनाउन असोज १३ गते नै निर्जीवन बीमा कम्पनीका आइटी र क्लेम प्रमुखहरूलाई विशेष अनलाइन तालिम दिइएको थियो। आगामी दिनमा सर्भेयरहरूलाई पनि यसको प्रयोगसम्बन्धी तालिम दिएर पूर्ण क्षमतामा सञ्चालनमा ल्याइने तयारी भइरहेको छ।
यो स्वचालित प्रणालीले छोटो समयमै दाबी फर्स्याटको लागत र समय कटौती गर्न ठूलो भूमिका खेल्नेछ। म्यानुअल्ली हुने ढिलासुस्ती, गलत मूल्याङ्कनका कारण उत्पन्न हुने विवाद र ग्राहकका गुनासोहरू अब सहजै समाधान हुनेछन्।
यस प्रणालीमार्फत भविष्यमा सङ्कलन हुने ठूलो परिमाणको तथ्याङ्कले आगामी दिनमा बीमा क्षेत्रका नयाँ नीति तथा नियमहरू तर्जुमा गर्न गतिलो आधार प्रदान गर्नेछ। सर्भेयरहरूको कार्यसम्पादनको लेखाजोखा र सेवाग्राहीको प्रतिक्रियाको नियमित अध्ययन समेत गर्न सकिने भएकाले यसले समग्र बीमा बजारको सुशासनलाई उचाइमा पुर्याउने विश्वास गरिएको छ।















