दरबारमार्गको अन्नपूर्ण स्क्वायरमा सर्भिस अपार्टमेन्ट नबन्ने, ६ तला घटेर २४० कोठामा सीमित भयो होटेल
नागरिक उड्डयन प्राधिकरणको उचाइ मापदण्ड र कागजी प्रक्रियागत अल्झनका कारण दरबारमार्गको अन्नपूर्ण स्क्वायर परियोजनाले आफ्नो बहुचर्चित सर्भिस अपार्टमेन्टको योजना रद्द गर्दै भवनको उचाइ र कोठा संख्या घटाएको छ।
काठमाडाैँ । काठमाडौँको मुटु दरबारमार्गस्थित ऐतिहासिक होटेल अन्नपूर्णको संरचनामा बन्न लागेको महत्त्वाकांक्षी परियोजनाको स्वरूप फेरिएको छ।
लामो समयदेखि सरकारी निकायको कागजी प्रक्रिया र अनुमति लिनुपर्ने झन्झट व्यहोर्दै आएका लगानीकर्ताहरूले यसको डिजाइनमा संशोधन गर्दै सुरुमा राखिएको सर्भिस अपार्टमेन्टको योजना पूर्ण रूपमा हटाएका हुन्।
भाटभटेनी सुपरमार्केट र लिटिल एन्जल्स ग्रुपको बहुमत लगानी रहेको अन्नपूर्ण स्क्वायर प्रालिले बनाउन लागेको यस परियोजनामा अब होटेल र कमर्सियल कम्प्लेक्स मात्रै रहने भएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान सुरक्षा क्षेत्र अन्तर्गत पर्ने भएकाले नेपाल नागरिक उड्डयन प्राधिकरणको भवन उचाइ मापदण्ड पालना गर्नुपर्ने भएपछि परियोजनाको डिजाइन परिवर्तन गरिएको हो। यसअघि २५ तलाको होटेल र २० तलाको सपिङ कम्प्लेक्ससहितको संरचना बनाउने योजना सार्वजनिक गरिएको थियो।
तर, प्राधिकरणको मापदण्डअनुसार भवनको उचाइ घटाउनुपर्ने भएपछि ६ वटा तला कम गरिएको लगानीकर्ता उमेश श्रेष्ठले बताए। तला घटेसँगै ३१८ कोठाको पाँचतारे होटेल अब २४० वटा कोठामा सीमित भएको छ। संशोधित योजनाअनुसार अब १९–१९ तलाका दुईवटा ठूला टावरहरू निर्माण हुनेछन्, जसमा एउटा टावर पूर्ण रूपमा होटेल हुनेछ भने अर्कोमा सपिङ तथा अफिस कम्प्लेक्स रहनेछन्।
परियोजनाको शिलान्यास भएर काम सुरु भएको लामो समय बितिसक्दा पनि सरकारी कार्यालयहरूबाट नक्सा पास लगायतका कागजात पाउन सास्ती भएको लगानीकर्ताहरूको गुनासो छ। नेपालको प्रशासनिक प्रणालीमा एकल विन्दु सेवा (वान डोर सिस्टम) नहुँदा एउटै कामका लागि १० भन्दा बढी छुट्टाछुट्टै सरकारी निकायहरूमा धाइरहनुपर्ने बाध्यता रहेको उनीहरू बताउँछन्।
विभिन्न कार्यालय धाउँदा धाउँदै झन्डै साढे दुइ वर्ष बितेको र यसै कारण समयमै काम अगाडि बढ्न नसकेको लगानीकर्ताहरूको भनाइ छ। यस विषयमा यसअघि नै नेतृत्व तहसम्म ध्यानाकर्षण गराइएको भए पनि व्यावहारिक कठिनाइहरू अझै कायम रहेको उनीहरूले बताएका छन्।
सर्भिस अपार्टमेन्टको योजना हटाइए पनि परियोजनाका अन्य केही सुविधाहरू भने फराकिलो बनाइएको छ। अपार्टमेन्टको ठाउँ खाली भएपछि होटेलको ब्याङ्केट्सको क्षेत्रफलमा वृद्धि गरिएको छ, जसले अब एकैपटकमा करिब ३ हजार जना अतिथिहरूलाई सेवा दिन सक्ने क्षमता राख्छ।
यस परियोजनाको कुल लगानी ८ अर्बदेखि साढे ८ अर्ब रुपैयाँसम्म पुग्ने अनुमान गरिएको छ। काठमाडौँ महानगरपालिकाबाट यसअघिनै आर्किटेक्चरल डिजाइन स्वीकृत भइसकेको छ भने प्राविधिक पक्षबाट माग गरिएका अन्तिम विवरणहरू बुझाएर अबको केही दिनमै विस्तृत स्ट्रक्चरल डिजाइनको स्वीकृति लिने तयारी भइरहेको छ।
विस्तृत स्ट्रक्चरल डिजाइन स्वीकृत हुनेबित्तिकै आगामी दसैँ वा तिहारको आसपासदेखि नै मुख्य निर्माण कार्यले गति लिने र त्यसको तीन वर्षभित्र निर्माण सम्पन्न गरेर सेवा सुरु गर्ने लक्ष्य राखिएको छ।
कोरोना महामारीपछि बन्द रहेको पुरानो पाँचतारे होटेल डेला अन्नपूर्णको स्थानमा बन्न लागेको यो नयाँ संरचनामा भारतको नामी आतिथ्यता ब्रान्ड आइटिसी होटेल्सको ‘वेलकम’ ब्रान्डले व्यवस्थापन सम्हाल्नेछ। यसअघि नै व्यवस्थापन सम्झौता भइसकेको यो परियोजना सञ्चालनमा आएपछि ५ सयभन्दा बढीले रोजगारी पाउने अपेक्षा गरिएको छ।















