सलिकाेका सिईओ चंकी क्षेत्री एआईआरडीसीको उपाध्यक्षमा निर्वाचित
काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड ( सलिकाे) का प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री एसोसिएसन अफ इन्स्योरेर्स एन्ड रिइन्स्योरेर्स अफ डेभलपिङ कन्ट्रीज (एआईआरडीसी) को उपाध्यक्ष पदमा निर्वाचित भएका छन्।
जिम्बाब्वेको हरारेस्थित रेनबो टावर्स होटलमा सेप्टेम्बर २८, २०२६ मा सम्पन्न एआईआरडीसीको जनरल मेम्बरसिप मिटिङमा क्षेत्री उपाध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनी एआईआरडीसीको एग्जिक्युटिभ बोर्ड अफ ट्रस्टिजको सदस्यसमेत रहनेछन् ।
विकासशील मुलुकका बीमा तथा पुनर्बीमा कम्पनीहरूबीच सहकार्य, ज्ञान तथा अनुभव आदान-प्रदान र बीमा क्षेत्रको विकास एवं विस्तारलाई प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको एआईआरडीसीमा क्षेत्रीको निर्वाचित नेतृत्वले नेपालको बीमा क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा थप प्रतिनिधित्व र सहकार्यको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
एआईआरडीसीको आगामी बोर्ड अफ ट्रस्टिज मिटिङ अप्रिल ६, २०२७ मा मनिला, फिलिपिन्समा आयोजना हुने तय भएको छ । यसैगरी सन् २०२८ मा काठमाडौं, नेपालमा आयोजना हुने २५ औँ एआईआरडीसी कन्फरेन्सको लोकल अर्गनाइजिंग कमिटीका अध्यक्षको जिम्मेवारीसमेत क्षेत्रीले सम्हाल्ने छन्।
उक्त सम्मेलन सफलतापूर्वक आयोजना गर्न उनको नेतृत्वमा नेपाल तथा एआईआरडीसीका सदस्य राष्ट्रहरूबीच समन्वय र सहकार्यलाई थप सुदृढ गरिनेछ।
एआईआरडीसीको उपाध्यक्षका रूपमा क्षेत्रीले संस्थाका उद्देश्यहरू प्रवर्द्धन गर्न तथा नेपालका अन्य मा तथा पुनर्बीमा कम्पनीहरूलाई समेत एआईआरडीसीको सदस्यतर्फ प्रोत्साहित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।
क्षेत्रीले एआईआरडीसीको उपाध्यक्षको जिम्मेवारी प्राप्त गरेकोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेकाे छ ।















