बाढी पहिरोका कारण दूरसञ्चार क्षेत्रमा झण्डै ९ करोडको क्षति
काठमाडौँ। सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढी पहिरोका कारण क्षतिग्रस्त दूरसञ्चार संरचना मर्मत र पुनर्निर्माणको काम तीव्र रूपमा अघि बढिरहेको बताएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भोटेकोशीसहित पछिल्ला बाढीपहिरोबाट दूरसञ्चार क्षेत्रमा करिब ८ करोड ८५ लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको जानकारी दिए।
उनका अनुसार प्रभावित क्षेत्रमा सञ्चार सेवा यथाशीघ्र सञ्चालनमा ल्याउन सरकार र सम्बन्धित निकायले प्राथमिकताका साथ काम गरिरहेका छन्। भोटेकोशी बाढीका क्रममा नेपाल टेलिकमका तीनवटा टावर पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए। ती स्थानमा तत्काल वैकल्पिक टावर जडान गरेर सेवा पुन: सञ्चालन गरिएको मन्त्री तिमिल्सिनाले बताए।
रसुवागढी क्षेत्रमा सडक सम्पर्क विच्छेद भएपछि आवश्यक उपकरण हेलिकप्टरबाट पुर्याएर सौर्य ऊर्जामा आधारित टावर सञ्चालनमा ल्याइएको उनले संसद्लाई जानकारी गराए।
पछिल्लो बाढीपहिरोबाट गण्डकी प्रदेशका ११ जिल्लामा रहेका २९१ दूरसञ्चार साइट प्रभावित भएका थिए। तीमध्ये २४६ साइटको मर्मत सम्पन्न भई सेवा सञ्चालनमा आइसकेको छ भने ४५ साइटमा अझै काम बाँकी छ। विद्युत् आपूर्ति पुन:स्थापित भएपछि ती साइटबाट पनि सेवा सञ्चालन गर्न सकिने मन्त्री तिमिल्सिनाको भनाइ छ।
विद्युत् समस्या समाधानका लागि ऊर्जा मन्त्रालयसँग समन्वय गर्दै प्राविधिक टोली र जेनेरेटरसमेत परिचालन गरिएको छ। बाढीपहिरोले टावरहरूमा मात्र नभई अप्टिकल फाइबर तथा मुख्य ट्रान्समिसन नेटवर्कमा समेत क्षति पुर्याएको छ। ती संरचनाको मर्मत कार्य पनि चरणबद्ध रूपमा अघि बढाइएको मन्त्रालयले जनाएको छ।
फाइबर नेटवर्कमा क्षति पुगेर सेवा अवरुद्ध भएका केही क्षेत्रमा भने तत्कालीन समाधानका रूपमा माइक्रोवेभ प्रविधि प्रयोग गरी सञ्चार सेवा निरन्तर राखिएको मन्त्री तिमिल्सिनाले बताए।















