१५ आश्विन २०८३, बिहिबार

जलवायु परिवर्तन र कूटनीतिक एजेन्डा बोकेर परराष्ट्रमन्त्री खनाल फिजी र अस्ट्रेलिया प्रस्थान गर्दै



जलवायु परिवर्तनका असर र हिमाली सरोकारलाई अन्तर्राष्ट्रिय मञ्चमा मुखरित गर्न परराष्ट्रमन्त्री शिशिर खनाल शनिबार फिजी, टुभालु र अस्ट्रेलियाको कूटनीतिक भ्रमणमा निस्कनुहुने भएको छ।

काठमाडाैँ । जलवायु परिवर्तनको मारमा परेका हिमाली राष्ट्रका पीडा र एजेन्डालाई विश्व समुदायसामु दृढताका साथ राख्न नेपाल सक्रिय बन्न पुगेको छ।

यसैक्रममा परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी महत्त्वपूर्ण ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन शनिबार फिजी जाने भएका छन्। चार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी ओशिनियाली मुलुकहरूतर्फ लाग्न लागेका छन् ।

फिजी र टुभालुमा आगामी अक्टोबर ५ र ६ तारिखमा आयोजना हुने उच्चस्तरीय प्रि–कोप लिडर्स इभेन्टमा नेपालको उपस्थिति विशेष रहने अपेक्षा गरिएको छ। भ्रमण तालिका अनुसार परराष्ट्रमन्त्री खनालले अक्टोबर ६ मा आयोजित नेताहरूको पूर्ण सत्रलाई सम्बोधन गर्ने छन्।

उक्त सत्रलाई सम्बोधन गर्दै उनले नेपालले भोगिरहेको जलवायुजन्य संकट, जलवायु न्यायको अपरिहार्यता र पर्वतीय पारिस्थितिकीय प्रणालीले सामना गरिरहेका गम्भीर चुनौतीहरूलाई प्रखर रूपमा प्रस्तुत गर्ने मन्त्रालयले बताएकाे छ।

मुख्य सत्रअघि उनले पलाउका राष्ट्रपति तथा अस्ट्रेलिया र फिजीका प्रधानमन्त्रीद्वारा संयुक्त रूपमा आयोजित सञ्चारकर्मीहरूसँगको विशेष प्रश्नोत्तर सत्रमा पनि सहभागिता जनाउने कार्यक्रम रहेको छ।

फिजी र टुभालुको कार्यक्रम सम्पन्न गरेपछि मन्त्री खनाल कूटनीतिक भ्रमणको दोस्रो चरणअन्तर्गत अस्ट्रेलियातर्फ प्रस्थान गर्नेछन्। अस्ट्रेलियाको राजधानी क्यानबेरामा उनले असाेज २२ (अक्टोबर ८) का दिन त्यहाँकी विदेशमन्त्री पेनी वङसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्ने छन्।

उक्त भेटका अवसरमा नेपाल र अस्ट्रेलियाबीचको लामो समयदेखिको द्विपक्षीय सम्बन्ध, आपसी हित, विकास सहकार्य र समसामयिक अन्तर्राष्ट्रिय मुद्दाहरूमा विस्तृत विचार विमर्श हुनेछ। यस भेटले दुई देशबीचको कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ।

अस्ट्रेलिया बसाइका क्रममा मन्त्री खनालले कूटनीतिक भेटघाटबाहेक प्रवासी नेपालीहरूसँग पनि नजिकबाट जोडिने अवसर जुटाएका छन्। क्यानबेरास्थित नेपाली राजदूतावास र सिड्नीमा रहेका नेपाली डायस्पोराले आयोजना गर्ने छुट्टाछुट्टै अन्तर्क्रियात्मक कार्यक्रमहरूमा उनी मुख्य अतिथिका रूपमा उपस्थित हुनेछन्।

ती कार्यक्रमहरूमा उनले अस्ट्रेलियामा बसोबास गरिरहेका नेपालीहरूको समस्या, अवसर र नेपालको विकासमा उनीहरूको भूमिकालगायतका विषयमा प्रत्यक्ष संवाद गर्ने भएका छन्। सबै राजकीय तथा भेटघाट कार्यक्रमहरू पूरा गरी परराष्ट्रमन्त्री खनाल आगामी असाेज २६ मा स्वदेश फर्कने कार्यक्रम तय भएको छ।