१५ आश्विन २०८३, बिहिबार

सवारीसाधन दर्तामा देखिएका समस्या समाधान गर्न प्रशासनसँग नाडाको छलफल सम्पन्न



काठमाडौँ। सवारी साधन दर्ता प्रक्रियाका सम्बन्धमा काठमाण्डौ जिल्ला प्रशासन कार्यालय र नाडाविच छलफल भएको छ। असोज १४ गते नाडाका महासचिव मिलनबाबु मल्लको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले काठमाण्डौ जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसंग भेटगरी सवारी साधनहरुको दर्ताको सम्बन्धमा देखा परेका समस्याहरुको विषयमा विस्तृत छलफल गरेको हो।

उक्त भेटघाट तथा छलफलमा नाडाका महासचिव मिलनबाबु मल्लले हाल चाडपर्वको समय नजिकिँदै गएको तथा यातायात व्यवस्था कार्यालयहरुमा समेत सवारीसाधन दर्ता सम्बन्धी कार्यको चाप बढिरहेको अवस्थामा कार्यालयमा उपलब्ध जनशक्ति सीमित हुँदा सेवाग्राही तथा कम्पनीका प्रतिनिधिहरूको काम समयमै सम्पन्न गर्न केही कठिनाइ भइरहेको बताए।

उनले कम्पनीका प्रतिनिधिहरूले आफ्ना कम्पनीको तर्फबाट आवश्यक कागजात पेश गर्ने तथा सवारीसाधन दर्तासम्बन्धी आवश्यक कार्यमा सहजीकरण गर्ने भए तापनि कार्यालयमा हुने नियमित प्रक्रिया तथा कर्मचारीको कार्यचापका कारण उक्त कार्य सम्पन्न गर्न अपेक्षाकृत बढी समय लाग्ने गरेकोले यस विषयमा तत्काल सहयोग र समन्वयका लागि अनुरोध गरेका हुन्।

सोहि छलफलको क्रममा नाडाका सचिव तथा टु ह्वीलर समितिका सभापति मेघराज पौडेलले असोज ८ गते यातायात व्यवस्था कार्यालयका प्रमुख राजन पोखरेलसंग नाडा प्रतिनिधिहरुले भेटगरी उक्त विषयमा समाधानका लागि छलफल समेत गरिसकेको जानकारी दिए।

छलफलको अन्त्यमा प्रमुख जिल्ला अधिकारी पौडेलले यस विषयमा सम्बन्धित यातायात व्यवस्था कार्यालयहरुसंग छलफल र समन्वय गरी समस्याको समाधान गरिने बताए। उक्त भेटघाट तथा छलफलमा नाडाका केन्द्रीय कार्य समिति सदस्य विमल साह, नाडा टु हवीलर समितिका सदस्यद्धय योगेन गुरुङ्ग तथा दिपक रौनियार समेतको उपस्थिति रहेको थियो।