भारतको धौलीगंगा बाँध खोलिँदै, महाकालीमा जलस्तर बढ्ने जोखिम
काठमाडौँ। भारतको उत्तराखण्डमा रहेको धौलीगंगा जलविद्युत् आयोजनाको बाँधका ढोका ४८ घण्टासम्म खुला राखिने भएको छ। बाँधमा जमेको सिल्ट हटाउने तथा सफाइ गर्ने कामका लागि ढोका खोल्न लागिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको हो।
प्रशासनका अनुसार असोज १७ गते शनिबार राति १ बजेदेखि असोज १९ गते सोमबार राति १ बजेसम्म बाँधका ढोका खुला रहनेछन्। बाँधबाट पानी छोडिएपछि महाकाली नदीको बहाव र जलस्तर बढ्न सक्ने भएकाले नदी आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ।
विशेषगरी महाकाली नदीमा जाने, नदी किनारमा आवतजावत गर्ने वा आसपासका क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरूलाई जोखिमलाई ध्यानमा राख्दै सुरक्षित रहन अनुरोध गरिएको छ।
बाँधका ढोका निर्धारित समयपछि बन्द गरिए पनि त्यसपछि केही समयसम्म महाकाली नदीको जलस्तरमा वृद्धि हुन सक्ने सम्भावना रहेको प्रशासनले जनाएको छ। त्यसैले तटीय क्षेत्रका बासिन्दालाई थप सतर्क रहन आग्रह गरिएको छ।
















