१८ आश्विन २०८३, आइतबार

ग्यासको कालोबजारी रोक्न सुरक्षा निकायलाई मैदानमा उतार्दै सरकार, सेना र प्रहरीले पनि सिलिन्डर बेच्ने



निजी क्षेत्रको सिन्डिकेट र कृत्रिम अभाव अन्त्य गर्न सरकारले नेपाली सेना र प्रहरीमार्फत खाना पकाउने एलपीजी ग्यास बिक्री गराउने भएको छ।

काठमाडाैँ । खाद्य तथा ऊर्जा सुरक्षामा बारम्बार देखिएको निजी क्षेत्रको एकाधिकार र सिन्डिकेटलाई तोड्दै सरकारले अब खाना पकाउने एलपीजी ग्यास बिक्री वितरणको जिम्मा सुरक्षा निकायलाई पनि दिने तयारी गरेको छ।

राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले दिएको जानकारी अनुसार, ग्यास व्यवसायमा भइरहेको कालोबजारी र असन्तुलन अन्त्य गर्न यो कदम चालिन लागेको हो।

यसअघि पेट्रोल र डिजेलको आपूर्तिमा सुरक्षा निकायले खेलेको प्रभावकारी भूमिकालाई आधार मानेर ग्यासमा पनि यस्तै रणनीतिक व्यवस्था गर्न लागिएको हो।

व्यवसायीहरूले विभिन्न बहानामा सामूहिक सौदाबाजी गर्ने, आपसी मिलेमतोमा बजारमा कृत्रिम अभाव सिर्जना गर्ने र इन्धन आपूर्तिलाई अस्थिर बनाउने प्रवृत्ति बढेसँगै सरकार कठोर बनेको छ। राज्य र उपभोक्तालाई सधैँ जोखिममा पार्ने यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्न सुरक्षा निकायको सहभागिता सुनिश्चित गर्न खोजिएको हो।

विगतमा निजी क्षेत्रका पेट्रोल पम्पहरूले विभिन्न माग राख्दै हड्ताल गर्दा वा बिक्री बन्द गर्दा नेपाली सेना र नेपाल प्रहरीका पम्पहरूले इन्धन आपूर्तिमा सहजता ल्याएका थिए। सोही अनुभवलाई मध्यनजर गर्दै खाना पकाउने ग्यासलाई पनि समान रणनीतिक महत्त्वको वस्तुका रूपमा लिँदै सुरक्षा निकायलाई रिफिलिङ र बिक्रीको अनुमति दिने निष्कर्षमा मन्त्रालय पुगेको हो।

हाल नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी तीनवटै सुरक्षा निकायले देशभर विभिन्न स्थानबाट पेट्रोल र डिजेल बिक्री वितरण गर्दै आएका छन्। मन्त्रालयको नयाँ योजनाअनुसार अब ती निकायले सञ्चालन गरेका पम्प तथा आउटलेटहरूमा ग्यासका लागि पनि छुट्टै काउन्टर वा व्यवस्थापन गरिनेछ।

सुरक्षा निकायसँग कम्तीमा एक-दुईवटा मात्रै ग्यास बिक्रीका आउटलेट भए पनि आपत्कालीन अवस्थामा वा बजारमा असहज परिस्थिति सिर्जना हुँदा आम उपभोक्ताले सहज रूपमा ग्यास प्राप्त गर्न सक्ने सरकारी दाबी छ। यस व्यवस्थाले बजारमा एकाधिकार चलाइरहेका केही व्यवसायीहरूको मनपरी अन्त्य हुने र उपभोक्ताले सुलभ तथा भरपर्दो रूपमा इन्धन पाउने विश्वास लिइएको छ।