नेपालमा बाल क्यान्सर उपचार सुधारका लागि राष्ट्रिय समन्वयमा जोड
काठमाडौं। बाल क्यान्सर उपचारसम्बन्धी राष्ट्रिय गोष्ठीले नेपालमा बाल क्यान्सर उपचारका लागि थप प्रभावकारी समन्वय, उपचारमा पहुँच विस्तार तथा अझ एकीकृत राष्ट्रिय दृष्टिकोण अवलम्बन गर्न आह्वान गरेको छ।
विश्व बाल क्यान्सर (डब्ल्यू सीसी), रमेश गुप्ता मेमोरियल ट्रस्ट (आरजीएमटी) र टीएसीसीको संयुक्त आयोजनामा काठमाडौंमा गत २९ सेप्टेम्बरमा ‘राष्ट्रिय बाल क्यान्सर उपचार तथा सरोकारवाला सहभागिता गोष्ठी’ नैशनल सिम्पोज़ियम ऑन चाइल्डहुड कैंसर केयर एंड स्टेकहोल्डर एंगेजमेंट आयोजना गरिएको थियो ।
गोष्ठीमा नेपाल सरकारका प्रतिनिधि, बाल क्यान्सर उपचारमा संलग्न अस्पताल, स्वास्थ्यकर्मी, पेशागत संघसंस्था, प्रतिष्ठान, गैरसरकारी संस्था, अभिभावक, क्यान्सरबाट निको भएका व्यक्ति तथा अन्तर्राष्ट्रिय साझेदार संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो।
गोष्ठीमा नेपालमा बाल क्यान्सर उपचारको क्षेत्रमा भएका प्रगतिको समीक्षा गर्दै रोगको प्रारम्भिक पहिचान, समयमै स्वास्थ्य संस्थामा पठाउने व्यवस्था, उपचारमा समान पहुँच, आवश्यक औषधि तथा परीक्षण, सहायक उपचार, पोषण, मनोसामाजिक सेवा, परिवार सहयोग, उपचारपछिको जीवन तथा उपचारको परिणाम मापनलगायतका क्षेत्रमा अझै रहेका चुनौतीबारे छलफल गरिएको थियो।
बाल क्यान्सरलाई राष्ट्रिय स्वास्थ्य प्राथमिकतामा थप महत्व दिनुपर्ने र क्यान्सर नियन्त्रण तथा सार्वभौमिक स्वास्थ्य पहुँचसम्बन्धी प्रयासमा यसलाई थप प्रभावकारी रूपमा समेट्नु पर्नेमा सहभागीहरूले जोड दिएका थिए। गोष्ठीले स्पष्ट जिम्मेवारी, मापनयोग्य लक्ष्य र निश्चित समयसीमा सहित बाल क्यान्सरसम्बन्धी समन्वित राष्ट्रिय कार्ययोजना आवश्यक रहेको निष्कर्ष निकालेको थियो।
समुदायस्तरमा जनचेतना अभिवृद्धि, स्वास्थ्य सेवाको पहिलो तहमा कार्यरत स्वास्थ्यकर्मीको क्षमता विकास, बिरामीलाई तत्काल सम्बन्धित स्वास्थ्य संस्थामा पठाउने प्रभावकारी प्रणाली, निदान सम्बन्धी सेवा सुदृढीकरण तथा विशेषज्ञ उपचारमा परिवारले भोग्दै आएका कठिनाइ कम गर्न क्षेत्रीय र साझा उपचार सञ्जाल विकास गर्नुपर्ने सुझाव दिइएको थियो ।
यसैगरी, बाल क्यान्सर उपचार केन्द्रहरूको राष्ट्रियस्तरमा मूल्यांकन गर्नुपर्ने आवश्यकताको विषयमा छलफल गरिएको थियो । यस्तो मूल्यांकन मार्फत जनशक्तिको क्षमता, रोग पहिचान तथा परीक्षण सेवा, औषधिको उपलब्धता, उपचार सेवा, बिरामी सुरक्षा, सहायक उपचार तथा मनोसामाजिक सेवाको अवस्थाको समीक्षा गर्नुपर्ने सुझाव दिइएको छ ।
गोष्ठीमा बालबालिकाको आवश्यकता र परिवारको भूमिकालाई केन्द्रमा राख्दै गुणस्तरीय उपचार सेवा सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको थियो । आवश्यक औषधि तथा रगतजन्य सामग्रीको सहज र नियमित उपलब्धता, बाल क्यान्सर उपचारमा संलग्न नर्सिङ जनशक्तिको क्षमता विकास, किमोथेरापी तथा संक्रमण नियन्त्रणसम्बन्धी मापदण्डको प्रभावकारी कार्यान्वयन, पोषण र मानसिक स्वास्थ्यसम्बन्धी सहयोग बढाउनुका साथै दुखाइ र असहजता कम गर्ने उपचार तथा उपचारपछि दिइने सेवामा सुधार गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।
बाल क्यान्सरसम्बन्धी राष्ट्रिय तथ्यांक प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए। रोग पहिचानमा हुने ढिलाइ, उपचार बीचमै छाड्ने अवस्था, उपचार पूरा गर्ने दर, रोग पुन: देखिने अवस्था, बिरामीको बाँच्ने दर तथा जीवनस्तरजस्ता महत्वपूर्ण सूचकको नियमित अभिलेखीकरण, अनुगमन र मूल्यांकनका लागि भरपर्दो तथ्यांक प्रणाली विकास गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।
गोष्ठीले सरकार, अस्पताल, पेशागत संघसंस्था, नागरिक समाज, अभिभावक, क्यान्सरबाट निको भएका व्यक्ति तथा अन्तर्राष्ट्रिय साझेदारको सहभागितामा राष्ट्रिय बाल क्यान्सर समन्वय संयन्त्र स्थापना वा विद्यमान संयन्त्रलाई थप सुदृढ गर्न सिफारिस गरेको छ। उक्त संयन्त्रमार्फत बाल क्यान्सर उपचारसम्बन्धी प्रगतिको नियमित अनुगमन, वार्षिक समीक्षा तथा जिम्मेवारीको सुनिश्चितता गर्नुपर्ने सुझाव दिइएको छ।















