१ कार्तिक २०८३, आइतबार

विमानस्थल आसपास चंगा, बेलुन र ड्रोन उडाउन नपाइने



काठमाडौं। बडादसैंकाे चहलपहल सुरू भएसँगै चंगा उडाउने क्रम बढ्न थालेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र त्यस आसपासका क्षेत्रमा चंगा, बेलुन तथा ड्रोन नउडाउन आग्रह गरेको छ।

विमान उड्ने र अवतरण गर्ने क्षेत्रमा यस्ता वस्तु पुगेमा हवाई सुरक्षामा गम्भीर असर पर्न सक्ने भन्दै प्राधिकरणले विशेषगरी चंगाको डोरी, बेलुन वा ड्रोनले विमानको सुरक्षित सञ्चालनमा बाधा पुर्‍याउने जोखिम रहने चेतावनी दिइएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले स्थानीय तह, सुरक्षा निकाय र सम्बन्धित पक्षसँग सहकार्य गर्दै यस विषयमा नियमित रूपमा जनचेतना अभियान सञ्चालन गर्दै आएको जनाएको छ।

कार्यालयले सर्वसाधारण, अभिभावक र बालबालिकालाई विमानस्थल आसपास चंगा, बेलुन र ड्रोन नउडाउन अनुरोध गर्दै सुरक्षित हवाई उडानका लागि सबैको जिम्मेवार सहभागिता आवश्यक रहेको उल्लेख गरेको छ।