१९ आश्विन २०८३, सोमबार

स्टार्टअपबाट ग्लोबल बैंक बन्ने दाैडमा युराेपकाे रेभोलुट: एक दशकमै कसरी खडा गर्‍यो ११५ अर्ब डलरको साम्राज्य ? 



काठमाडाैं । मात्रै एक दशक अघि विदेशी मुद्रा सटहीमा कम शुल्कको आश्वासन दिँदै सुरु भएको एउटा फिनटेक कम्पनी, आज युरोपकै सबैभन्दा मूल्यवान् स्टार्टअप बनेको छ, जसकाे नाम हाे रेभोलुट ।

बेलायतमा स्थापना भएको रेभोलुट अहिले निजी कम्पनीको मूल्यांकनका आधारमा ११५ अर्ब अमेरिकी डलरको बनेको छ, जुन बेलायतको बार्कलेज र फ्रान्सको सोसाइटी जेनेरलजस्ता स्थापित बैंकभन्दा पनि बढी हो।

रेभोलुटलाई पूर्ण रूपमा विश्वव्यापी बनाउनु रेभोलुटका मुख्य कार्यकारी अधिकृत (सीईओ) निक स्टोरन्स्कीको सपना छ । त्यहि सपनालाई पच्छ्याउने क्रममा मेक्सिकोदेखि अस्ट्रेलियासम्म पखेटा फिजाउँदै गरेको यस कम्पनीले पछिल्ला हप्ताहरूमा धेरै देशमा बैंकिङ लाइसेन्स हात पारिसकेको छ।

जहाँ एचएसबीसी जस्ता पुराना र स्थापित वैश्विक बैंकहरू आफ्नो खुद्रा बैंकिङ (रिटेल) सेवा खुम्च्याउँदैछन्, त्यहीँ रेभोलुट भने संसारकै औँलामा गन्न सकिने ठूला बैंकको सूचीमा अटाउन आक्रामक रूपमा अघि बढिरहेको छ।

निजी बजारमा ११५ अर्ब अमेरिकी डलर मूल्याङ्कन गरिएको रेभोलुटको पहुँच र बजार मूल्य अहिले बेलायतको बार्कलेज र फ्रान्सको सोसिएते जेनेराल जस्ता दिग्गज बैंकभन्दा पनि माथि पुगेको छ। सन् २०२५ मा यसले १.७ अर्ब पाउन्ड (करिब २.२ अर्ब डलर) करअघिको नाफा कमाएकाे छ। हुन त यो बार्कलेजको ९ अर्ब पाउन्ड नाफाको तुलनामा थोरै हो, तर रेभोलुटको वृद्धिदर निकै लोभलाग्दो छ।

युरोपका बैंक सीईओहरू आज रेभोलुटको आक्रामक बजारीकरण र तीव्र वृद्धिलाई आफ्नो सबैभन्दा ठूलो चुनौतीका रूपमा हेर्न थालेका छन्।

विश्व बजार कब्जा गर्ने दौड: परम्परागत बैंकिङ हस्तीहरूलाई चुनाैति

आज यो डिजिटल बैंकले शताब्दीऔँ पुराना विशाल बैंकिङ हस्तीहरूलाई सीधा चुनौती दिइरहेको छ। तर, यसको यात्रा जति लोभलाग्दो छ, अगाडिको बाटो उत्तिकै चुनाैतिले भरिएकाे छ।

रेभोलुटको यो अभूतपूर्व उकालो यात्रा विवादरहित भने रहेन। सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) रोक्न नसकेको भन्दै लिथुआनियामा यसले जरिवाना तिर्नुपर्‍यो। त्यस्तै, अघिल्लो सेप्टेम्बरमा सरकारी अनुसन्धानकर्ताको रूपमा आएका ह्याकरहरूलाई गल्तीवश ग्राहकका विवरण पठाउँदा कम्पनी थप विवादमा तानियो।

यति मात्र होइन, बेलायतको लोकपाल (ओम्बुड्सम्यान) को तथ्याङ्क अनुसार सन् २०२४ र २०२५ मा वित्तीय ठगी (फ्रड) का घटनामा सबैभन्दा बढी गुनासो आउने बैंक रेभोलुट नै बनेको छ। यद्यपि, कम्पनीले आफूले ग्राहक सुरक्षालाई निकै गम्भीरताका साथ लिएको र प्रणाली थप बलियो बनाएको दाबी गर्दै आएको छ।

अब रेभोलुटको आँखा अमेरिकामा छ, जहाँ उसले अस्थायी लाइसेन्स पाइसकेको छ। तर, त्यहाँको अचाक्ली प्रतिस्पर्धालाई चिरेर अघि बढ्नु रेभोलुटका लागि निकै चुनौतीपूर्ण हुने देखिन्छ।

८ करोड ग्राहकको विशाल साम्राज्य तर आम्दानी सुस्त

रेभोलुटको वृद्धि मापन गर्ने सबैभन्दा बलियो आधार यसका ग्राहकको सङ्ख्या हो। आयरल्यान्डमा मात्रै ८० प्रतिशत वयस्क जनसङ्ख्याको रेभोलुटमा खाता छ। अहिले विश्वभर यसका ग्राहक ८ करोड पुगिसकेका छन्- जुन एचएसबीसी (४.१ करोड) भन्दा दोब्बर हो भने जेपी मोर्गन (८.४ करोड) को हाराहारीमा छ।

तर, ग्राहकको सङ्ख्या जति धेरै छ, प्रतिग्राहक आम्दानी भने परम्परागत बैंकको तुलनामा निकै सुस्त छ। यसको मुख्य कारण हो- रेभोलुटले परम्परागत बैंकहरू जस्तै लगानी वा ऋण प्रवाह गर्दैन। यसको आम्दानीको मुख्य स्रोत कार्ड सब्सक्रिप्शन र अन्य सेवा शुल्क हुन्।

सन् २०२५ को अन्त्यसम्ममा रेभोलुटले मात्र २.२ अर्ब पाउन्ड ऋण प्रवाह गरेको छ। यसको ‘लोन-टु-डिपोजिट’ अनुपात जम्मा ६ प्रतिशत छ, जबकि एचएसबीसीको ५५ प्रतिशत र सोसिएते जेनेरालको ८६ प्रतिशत छ।

तर, जानकारहरूका अनुसार घरकर्जा (होम लोन) र ठूला व्यावसायिक ऋणको क्षेत्रमा हात नहालेसम्म रेभोलुटले परम्परागत बैंकहरूलाई पूर्ण रूपमा विस्थापित गर्न गाह्रो हुनेछ।

रेभोलुटको सजिलो र आकर्षक मोबाइल एपका कारण करोडौँ मानिसले खाता त खोले, तर अधिकांशले यसलाई आफ्नो ‘मुख्य बैंकिङ खाता’ बनाएका छैनन्। मानिसहरू अझै पनि आफ्नो तलब बुझ्न, ठूला बचत राख्न वा नियमित खर्च चलाउन पुराना र परम्परागत बैंकमै भरोसा गर्छन्।

रेभोलुटले आफ्ना कति प्रतिशत ग्राहकले यसलाई मुख्य खाताका रूपमा प्रयोग गर्छन् भन्ने स्पष्ट नखुलाए पनि, गत वर्षको तुलनामा यो सङ्ख्या ४५ प्रतिशतले बढेको जनाएको छ।

यद्यपि कुल ग्राहकको तुलनामा यस्तो प्रयोग अझै पर्याप्त नभएको कम्पनीकै व्यवस्थापनले स्वीकार गरेको छ। त्यसैले ८ करोड ग्राहकको विशाल संख्या वास्तवमै दीर्घकालीन बैंकिङ व्यवसायमा कति रूपान्तरण हुन्छ भन्ने प्रश्न अब रेभोलुटको आगामी यात्राको सबैभन्दा महत्वपूर्ण परीक्षा बनेको छ।