१९ आश्विन २०८३, सोमबार

पर्यटन क्षेत्र एउटै छातामुनि : नेपाल पर्यटन महासंघ गठन गरिँदै, लगानीमैत्री ऐन बनाउन जोड



काठमाडौं। पर्यटन क्षेत्रका साझा समस्या तथा चुनौतीलाई संस्थागत रूपमा उठाउन पर्यटनसम्बन्धी विभिन्न संघसंस्थाले ‘नेपाल पर्यटन महासंघ’ गठन गर्ने तयारी गरेका छन्। ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डेको अध्यक्षतामा बसेको बैठकले साझा मुद्दामा एकीकृत भएर अघि बढ्ने निर्णय गरेको हो।

बैठकमा नेपाल पर्यटन बोर्ड, टान, होटल एसोसिएसन नेपाल (हान), नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), नेपाल पर्वतारोहण संघ (एनएमए), पाट्टा नेपाल, नारालगायत संस्थाका अध्यक्ष तथा प्रतिनिधि सहभागी थिए।

पर्यटन क्षेत्रका साझा मुद्दामा एउटै आवाज बनाउने तयारी

प्रस्तावित महासंघलाई पर्यटन क्षेत्रका साझा सरोकारमा निजी क्षेत्रको एकीकृत धारणा निर्माण गर्ने र सरकार तथा सम्बन्धित निकायसँग समन्वय तथा संवाद गर्ने साझा मञ्चका रूपमा विकास गर्ने अवधारणा अघि सारिएको छ।

बैठकले पर्यटन क्षेत्रका समस्या पहिचान गरी विभिन्न संस्थाको छुट्टाछुट्टै पहलभन्दा एकीकृत समूह, साझा अवधारणा र एउटै आवाजमार्फत समाधान खोज्नुपर्नेमा जोड दिएको छ। सरकार तथा सम्बन्धित निकायसँग संयुक्त रूपमा पहल गर्ने विषयमा पनि सहभागीहरूबीच सहमति भएको छ।

भदौ १० गते आएको बाढी तथा विपद्मा ज्यान गुमाएका नेपाली तथा विदेशी नागरिकप्रति बैठकले श्रद्धाञ्जली व्यक्त गरेको छ। शोकसन्तप्त परिवारप्रति समवेदना जनाउँदै अझै बेपत्ता रहेका व्यक्तिको खोज तथा उद्धारलाई तीव्र बनाउन सम्बन्धित निकायलाई आग्रह गरिएको छ।

विपद्मा ज्यान गुमाएका तथा बेपत्ता भएका पर्यटनकर्मीका परिवारलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गर्ने निर्णयसमेत बैठकले गरेको छ। साथै, विपद्का पीडितहरूको सम्झनामा अन्तर्राष्ट्रियस्तरको स्मारक पार्क निर्माण गर्न सरकारसमक्ष आग्रह गर्ने निर्णय भएको छ।

नयाँ पर्यटन ऐन व्यावहारिक र लगानीमैत्री बनाउन जोड

सरकारले नयाँ पर्यटन ऐन ल्याउने तयारी गरिरहेका बेला बैठकले प्रस्तावित कानुन पर्यटन क्षेत्रको वर्तमान आवश्यकता र नेपालको मौलिक विशेषतालाई समेट्ने गरी निर्माण गर्नुपर्नेमा जोड दिएको छ।

नेपालको भौगोलिक तथा प्राकृतिक अवस्था, सांस्कृतिक विविधता, पर्यटन व्यवसायको वास्तविक अवस्था र अन्तर्राष्ट्रिय अभ्यासलाई आधार बनाएर नयाँ ऐन तयार गर्नुपर्ने बैठकको निष्कर्ष छ। ऐनले समावेशी, सुरक्षित, लगानीमैत्री तथा दिगो पर्यटन विकासलाई प्रोत्साहन गर्नुपर्नेमा पनि सहभागीहरूले जोड दिएका छन्।

बैठकमा नेपाल पर्यटन बोर्डको बजेट तथा आगामी कार्यक्रमबारे पनि छलफल भएको थियो। निजी क्षेत्रका प्रतिनिधिले अन्तर्राष्ट्रिय पर्यटन बजारमा भइरहेको परिवर्तन, बढ्दो प्रतिस्पर्धा र उद्योगको आवश्यकतालाई ध्यानमा राख्दै बोर्डको बजेटलाई अझ पर्यटन तथा व्यवसायमैत्री बनाउनुपर्ने धारणा राखेका छन्।

पर्यटन प्रवर्द्धनका नाममा बजेट खर्च गर्नेभन्दा त्यसबाट प्राप्त हुने परिणामलाई केन्द्रमा राख्नुपर्नेमा बैठकले जोड दिएको छ। बजार अनुसन्धान, अन्तर्राष्ट्रिय मार्केटिङ, डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगलाई प्राथमिकता दिनुपर्ने सुझाव दिइएको छ।

त्यसैगरी नयाँ पर्यटक बजारको पहिचान तथा विस्तार, नयाँ गन्तव्य र पर्यटन उत्पादनको विकास तथा प्रवर्द्धनलाई प्रभावकारी बनाउँदै कार्यक्रमको उपलब्धि मापन गर्न सकिने प्रणाली विकास गर्नुपर्नेमा पनि बैठकले जोड दिएको छ।