३ कार्तिक २०८३, मंगलबार

दसैँको फुर्सद, किताबको साथ : पैसा, लगानी र बजार बुझ्न कहाँबाट सुरु गर्ने ?



काठमाडौं । दसैँ आयो। घर फर्किनेहरूको भीड बढेको छ। शहर केही दिनका लागि शान्त हुँदैछ। वर्षभरि समयको पछाडि दौडिरहेका मानिसलाई केही दिन भए पनि आफ्नै लागि समय मिलेको छ। यो समय टीका–जमरा, आफन्त भेटघाट र मिठोमसिनोका लागि त हो नै। तर दसैँको यही लामो बिदालाई आफ्नो पैसा, लगानी, व्यवसाय र देशको अर्थतन्त्र बुझ्ने अवसर बनाउन सकिन्छ।

हामी पैसा कमाउँछौँ। बैंकमा राख्छौँ। ऋण लिन्छौँ। बीमा गर्छौँ। कसैले सेयर किन्छौँ। कसैले व्यवसाय गर्छौँ। विदेशमा रहेका परिवारका सदस्यले पठाएको रेमिट्यान्सले घर चल्छ, गाउँमा चहलपहल बढ्छ र देशको अर्थतन्त्रमा पैसा थपिन्छ।

तर, यी सबै कुरा आपसमा कसरी जोडिएका छन् ? बैंकमा राखिएको एक हजार रुपैयाँले अर्थतन्त्रमा के भूमिका खेल्छ ? ब्याजदर घट्दा व्यवसायीलाई के फरक पर्छ ? बीमा किन अर्थतन्त्रको हिस्सा हो ? सेयर बजार किन कहिले उकालो र कहिले ओरालो लाग्छ ? रेमिट्यान्सले घर मात्र चलाउँछ कि राष्ट्रिय अर्थतन्त्र पनि चलाउँछ ? र व्यवसाय सफल हुन पैसा मात्र पर्याप्त हुन्छ कि बजार र व्यवस्थापनको ज्ञान पनि चाहिन्छ ? यी प्रश्नको उत्तर खोज्न अर्थशास्त्रका ठूला–ठूला पाठ्यपुस्तक बोकेर बस्नैपर्छ भन्ने छैन।

नेपाली भाषामै लेखिएका केही पुस्तकले सामान्य पाठकलाई पनि अर्थतन्त्रको संसारमा प्रवेश गराउन सक्छन्। यसपालिको दसैँमा एउटा किताब हातमा लिनुहोस्, सायद त्यसले पैसालाई हेर्ने तपाईंको दृष्टिकोण नै बदलिदिन सक्छ।

‘अर्थात् अर्थतन्त्र’ : नेपालको आर्थिक कथा बुझ्ने सुरुवात

लेखक : सुजीव शाक्य
प्रकाशक : नेपालय

नेपालको अर्थतन्त्रलाई समग्र रूपमा बुझ्न चाहने पाठकका लागि सुजीव शाक्यको ‘अर्थात् अर्थतन्त्र : नेपाली इलम र उद्यमको यात्रा’ महत्वपूर्ण पुस्तक हो। यो पुस्तक पहिलोपटक २०७५ मा प्रकाशित भएको थियो।

अहिले यसको दोस्रो संस्करण पनि उपलब्ध छ। नेपालयको विवरणअनुसार दोस्रो संस्करण २०२५ मा प्रकाशित भएको हो। पुस्तकले नेपालको अर्थतन्त्रलाई अर्थशास्त्रका सूत्रबाट मात्रै हेर्दैन। कृषि, जलविद्युत्, पर्यटन, सेवा, निजी क्षेत्र, उद्यम, व्यापार, रेमिट्यान्स र आर्थिक परिवर्तनका विभिन्न पक्षलाई जोडेर नेपालको आर्थिक यात्रालाई बुझाउने प्रयास गर्छ।

पृथ्वीनारायण शाहको समयदेखि नेपालको अर्थतन्त्रले लिएका बाटा र परिवर्तनसम्मका विषय पुस्तकमा समेटिएको प्रारम्भिक प्रकाशनसम्बन्धी विवरणमा उल्लेख छ। नेपालको अर्थतन्त्रबारे बिल्कुलै नयाँ पाठकले यही पुस्तकबाट सुरुवात गर्न सक्छन्।

‘अर्थदृष्टि’ : नेपाल किन आर्थिक रूपमा अगाडि बढ्न सकेन ?

लेखक : मनिकर कार्की
शीर्षक : ‘अर्थदृष्टि : अल्पविकासको अर्थ–राजनीति’
प्रकाशक : इन्डिगो इन्क

नेपालको अर्थतन्त्रलाई अझ गहिरो र आलोचनात्मक दृष्टिले बुझ्न चाहने पाठकका लागि ‘अर्थदृष्टि’ उपयोगी पुस्तक हो।

२०८२ मा प्रकाशित यो पुस्तक नेपालको आर्थिक विकासको स्वरूप, समाज र अर्थतन्त्रको चरित्र, आर्थिक इतिहास, समकालीन अर्थतन्त्र, संरचनागत समस्या, न्यून उत्पादकत्व र नीतिगत कमजोरीजस्ता विषयमा केन्द्रित छ।

लेखकले नेपालको विद्यमान आर्थिक संरचना परिवर्तन गरी उत्पादन, प्रविधि, निर्यात र राज्य–निजी क्षेत्र–समुदायबीचको साझेदारीमा आधारित वैकल्पिक अर्थतन्त्रको आवश्यकता औँल्याएका छन्।

नेपालको आर्थिक समस्या ‘पैसा नभएको समस्या’ हो कि यसको पछाडि संरचनागत कारण पनि छन् भन्ने बुझ्न चाहने पाठकले यो पुस्तक पढ्न सक्नेछन ।

‘नेपालको सेयर बजार’ : सेयर बजारको पहिलो पाठ

लेखक : रवीन्द्र भट्टराई
प्रकाशक : एसआरसिएस

सेयर बजारमा प्रवेश गर्न चाहने तर ए’सेयर आखिर के हो ?’ भन्ने प्रश्नबाट सुरु गर्ने पाठकका लागि ‘नेपालको सेयर बजार’ सबैभन्दा व्यवहारिक सुरुवाती पुस्तकहरूमध्ये एक हो।

पुस्तकमा सेयर के हो, सेयर बजार कसरी चल्छ, सेयर कसरी बाँडफाँट हुन्छ, कारोबार कसरी हुन्छ, मूल्य किन घटबढ हुन्छ, कस्तो कम्पनीमा लगानी गर्ने, डिम्याट खाता के हो र नेप्से परिसूचक के हो भन्ने प्रश्नको उत्तर समेटिएको छ।

यो पुस्तक अहिले ११औँ संस्करणमा उपलब्ध छ।यो लामो समयदेखि नेपाली पाठकले प्रयोग गर्दै आएको लगानीसम्बन्धी पुस्तक हो।सेयर बजारमा पहिलोपटक प्रवेश गर्न चाहने व्यक्ति हरुले पढ्न सक्नेछन ।

‘सेयरबाट करोडपति’ : बिक्रीबाट प्रमाणित लोकप्रियता

लेखक : रवीन्द्र भट्टराई
प्रकाशक : फाइनप्रिन्ट

नामले नै धेरैको ध्यान तान्ने पुस्तक हो, ‘सेयरबाट करोडपति’। तर , यसको लोकप्रियताको एउटा महत्वपूर्ण सार्वजनिक प्रमाण पनि भेटिन्छ।

२०७३ मा पुस्तक बजारमा आएको केही समयमै पहिलो पाँच हजार प्रति एक हप्तामै बिक्री भएपछि दोस्रो संस्करण निकालिएको प्रकाशकलाई उद्धृत गर्दै खबरहरु सन्चारमाध्यामम प्रकाशित भएको थियो । हाल यसको छैटौँ संस्करण उपलब्ध रहेको पुस्तक विवरणमा देखिन्छ।

पुस्तकमा लेखकले सेयर बजारलाई बुझेर अध्ययन गर्ने, सानो पुँजीबाट पनि लगानीको सम्भावना खोज्ने र निरन्तर अध्ययनलाई लगानीको आधार बनाउने दृष्टिकोण प्रस्तुत गरेका छन्। सेयर बजारमा पैसा मात्र नभइ दीर्घकालीन सम्भावना खोज्न चाहने पाठकका लागि यो पुस्तक धेरै नै उपयोगी हुनेछ।

‘सेयरको आधारभूत विश्लेषण’ : कम्पनी किन्ने कि सेयर मात्र ?

लेखक : रवीन्द्र भट्टराई
प्रकाशक : एसआरसिएस

सेयर बजारमा प्रवेश गरिसकेपछि अर्को प्रश्न आउँछ, ‘अब कुन कम्पनी किन्ने ?’ यही प्रश्नको वरिपरि केन्द्रित छ ‘सेयरको आधारभूत विश्लेषण’।

पुस्तकले वासलात, नाफा–नोक्सान विवरण तथा कम्पनीको वित्तीय अवस्थाका आधारमा सेयर सस्तो छ कि महँगो भन्ने मूल्यांकन कसरी गर्ने भन्ने विषयमा केन्द्रित हुन्छ।

दीर्घकालीन लगानीका लागि उपयोगी हुने गरी तयार गरिएको पुस्तकको चौथो संस्करण २०८१ मा प्रकाशित भएको विवरण छ। कम्पनीको नाम वा हल्लाको भरमा भन्दा पनि वित्तीय विवरण हेरेर लगानी गर्न सिक्न चाहनेले पढ्न सक्नेछन ।

‘सेयर सूत्र’ : सम्पत्ति बनाउने रणनीति

लेखक : रवीन्द्र भट्टराई
प्रकाशक : बुकहिल

२०८१ मा प्रकाशित ‘सेयर सूत्र’ सेयरबाट सम्पत्ति निर्माण गर्ने रणनीतिमा केन्द्रित पुस्तक हो। पुस्तकमा बेन्जामिन ग्राहमको मूल्य–आधारित लगानी सोच, Margin of Safety, कम्पाउन्डिङ, जोखिम व्यवस्थापन र रुपैयाँको औसत लागतजस्ता अवधारणालाई सेयर लगानीसँग जोडेर प्रस्तुत गरिएको छ।

यसको मूल सन्देशलाई सरल भाषामा भन्नुपर्दा सेयर किन्नु र सम्पत्ति बनाउनु एउटै कुरा नभइ सही कम्पनी, सही मूल्य, समय र अनुशासनबीचको सम्बन्ध बुझ्नुपर्छ भन्ने हो ।

‘बैंकिङ जिज्ञासाहरू’ : तपाईंको पैसा बैंकभित्र गएपछि के हुन्छ ?

लेखक : रवीन्द्र भट्टराई

नेपालको अर्थतन्त्र बुझ्न सेयर बजार मात्र पढेर पुग्दैन। बैंकिङ प्रणाली नबुझे नेपालको वित्तीय प्रणालीको ठूलो हिस्सा छुट्छ।

‘बैंकिङ जिज्ञासाहरू’ बैंक कसरी चल्छ, निक्षेप, कर्जा, ब्याजदर तथा वित्तीय संस्थासँग सम्बन्धित आधारभूत जिज्ञासा बुझ्नका लागि उपयोगी पुस्तकका रूपमा लिन सकिन्छ।

रवीन्द्र भट्टराईका प्रकाशित कृतिहरूको सूचीमा बैंकिङसँगै बिमा जिज्ञासाहरू, कमोडिटिज तथा डेरिभेटिभ जिज्ञासाहरू, Investment Management, Capital Structure Management र Financial Institutions and Markets समेत रहेका छन्।

बैंकमा पैसा राख्ने मात्र भन्दा पनि बैंकले त्यो पैसा कहाँ लगानी गर्छ भन्ने बुझ्न चाहनेले यो पुस्तक पढ्न सकेछन ।

‘जीवन बीमा’ : जोखिमलाई आर्थिक रूपमा व्यवस्थापन गर्ने पाठ

लेखक : रवीन्द्र भट्टराई

अर्थतन्त्रमा बीमाको भूमिका धेरै मानिसले सेयर वा बैंकको तुलनामा कम चर्चा गर्छन्। तर, परिवारको आर्थिक सुरक्षा र जोखिम व्यवस्थापनमा बीमा महत्वपूर्ण वित्तीय उपकरण हो।

रवीन्द्र भट्टराईको ‘जीवन बीमा’ले जीवन बीमाको आधारभूत अवधारणा बुझ्न सहयोग गर्छ।लेखकका प्रकाशित पुस्तकहरूको सूचीमा जीवन बीमासँगै बिमा जिज्ञासाहरू पनि समावेश छन् ।

बीमा किन गर्ने, बीमा र बचतबीच के फरक छ तथा जोखिम व्यवस्थापन कसरी गर्ने भन्ने बुझ्न चाहनेले यो पुस्तक पढ्न सक्नेछन ।

‘वित्तीय स्वतन्त्रता’ : पैसा कमाउनु मात्र पर्याप्त छैन

लेखक : रवीन्द्र भट्टराई
प्रकाशन : एसआरसिएस

अर्थतन्त्र बुझ्ने क्रममा अन्ततः प्रश्न आफ्नै जीवनमा आइपुग्छ,’मैले कमाएको पैसा कहाँ जान्छ ?’ यही प्रश्नको वरिपरि ‘वित्तीय स्वतन्त्रता’ केन्द्रित छ।

पुस्तकमा आर्थिक अनुशासन, बचत, दीर्घकालीन सोच, लगानी, चक्रवृद्धि, विविधीकरण, व्यक्तिगत बजेट, निष्क्रिय आम्दानी र चाँडै लगानी सुरु गर्ने विषयलाई सरल भाषामा प्रस्तुत गरिएको छ।

यो पुस्तक व्यक्तिगत वित्त बुझ्न चाहने पाठकका लागि अर्थतन्त्रबाट आफ्नो जीवनतर्फ जाने एउटा पुल बन्न सक्छ।

‘धनको बाटो’ : दसैँमा पढ्न सकिने सबैभन्दा नयाँ पुस्तक

लेखक : रवीन्द्र भट्टराई
प्रकाशन : एसआरसिएस

यदि दसैँ बिदाका लागि अहिलेको समयसँग जोडिएको नयाँ पुस्तक खोज्ने हो भने ‘धनको बाटो : थोरैबाट धेरै’ पनि सूचीमा पर्न सक्छ।

हालचालै मात्र बजारमा आएको यो पुस्तक बचत, खर्च, लगानी, कम्पाउन्डिङ, समय र आर्थिक अनुशासनलाई आर्थिक स्वतन्त्रताको यात्रासँग जोडेर प्रस्तुत गरिएको छ।

त्यसैले ‘अहिले के पढ्ने ?’ भन्ने प्रश्नमा यो पुस्तक दसैँका लागि समसामयिक छनोट बन्न सक्छ।