सिटिजन्स क्यापिटलको २० औँ साधारणसभा, दियो १३ प्रतिशत नगद लाभांश
काठमाडौं । सिटिजन्स क्यापिटलको २०औँ साधारण सभा कम्पनीको कार्यालय डिल्लीबजारमा सम्पन्न भएको छ ।
साधारण सभाले आ.व.२०८२/८३ को मुनाफाबाट १३% नगद लाभांश बाँड्ने प्रस्ताव पारित गरेको छ ।
वार्षिक साधारण सभामा छलफलका लागि प्रस्तुत गरिएका प्रस्तावहरूमा आ.व. २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहित २०८३ आषाढ मसान्तको वासलात, नाफा–नोक्सानको हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू पारित गरेको छ ।
साथै, आ.व. २०८३/८४ को लागि लेखापरिक्षण कार्य गर्नका लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण तथा संस्थाको नियमावली अनुसार गरिएको सञ्चालकको नियुक्ति अनुमोदन गरेको छ ।
सिटिजन्स बैंक इन्टरनेशनलको सहायक कम्पनीको रूपमा रहेको सिटिजन्स क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सामूहिक लगानी कोषको व्यवस्थापन, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक, लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा, धितोपत्र प्रत्याभूतिकर्ता, शेयर रजिस्ट्रार तथा डिम्याट खाता लगायत लगानीकर्तासँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न पुँजी बजार सम्बन्धी कार्यहरू सञ्चालन गर्दै आइरहेको छ ।
यस कम्पनीमा कर्मचारी सञ्चय कोष तथा प्रतिष्ठित उद्योगी–व्यवसायीहरूको समेत लगानी रहेको छ भने कम्पनीको अध्यक्षमा राजेन्द्र लाल श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृतमा सविर बादे श्रेष्ठ रहेका छन् ।
साथै, काठमाडौं उपत्यका बाहिर रहेका लगानीकर्ताहरूलाई पुँजी बजारमा प्रत्यक्ष रूपमा सहभागी भई लगानी गर्न सहज पहुँचको आवश्यकता रहेको वर्तमान अवस्थामा, सिटिजन्स क्यापिटलले सिटिजन्स बैंक इन्टरनेशनलका देशभरका विभिन्न शाखा कार्यालयहरू मार्फत विभिन्न सेवाहरू समेत उपलब्ध गराउँदै आएको छ ।
देशभर रहेका लगानीकर्ताहरूलाई पुँजी बजार तथा व्यवस्थित लगानी सेवामा सहज पहुँच प्रदान गर्नुका साथै दीर्घकालीन तथा अनुशासित लगानी संस्कारको विकासमा समेत योगदान पु¥धाउने उद्देश्य कम्पनीले लिएको छ ।















