अमेरिकामा वाग्ले र बाङ्गाबीच भेटवार्ता, बाढीपछिको पुनर्निर्माणमा विश्व बैंकले सहयोग गर्ने
काठमाडौं। अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच अमेरिकाको वासिङ्टन डीसीमा उच्चस्तरीय भेटवार्ता भएको छ। उक्त भेटवार्तामा विश्व बैंकका अध्यक्ष बाङ्गाको निमन्त्रणामा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका अर्थमन्त्री वाग्ले र अध्यक्ष बाङ्गाबीच नेपालको पुनर्निर्माण, आर्थिक सुधार तथा सामाजिक संरक्षणलगायत विषयमा छलफल भएको हो।
अर्थमन्त्री वाग्लेले हालै रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माण, बृहत् आर्थिक सुधार तथा बिमा एवं सामाजिक संरक्षणका लागि करिब १ अर्ब अमेरिकी डलर बराबरको स्रोत परिचालनबारे छलफल गरेका थिए।
विश्व बैंकका अध्यक्ष बाङ्गाले नेपालमा बाढी विपद्बाट भएको क्षतिप्रति दु:ख व्यक्त गर्दै पुनर्निर्माणमा विश्व बैंकले उल्लेख्य सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। नयाँ सरकारले नीतिगत तथा संस्थागत सुधारका लागि चालेका कदमको प्रशंसा गर्दै उनले पूर्वाधारमा लगानी विस्तार र स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिएका छन्।
अध्यक्ष बाङ्गाले एसियाली विकास बैंक (एडीबी) र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) लगायत विकास साझेदारसँग समन्वय गरी नेपालको प्राथमिकताका क्षेत्रमा संयुक्त लगानी विस्तार गर्न विश्व बैंकले नयाँ पहल गर्ने जानकारीसमेत दिएका छन्।
नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनका अनुसार पछिल्लो तीन दशकमा विश्व बैंकका अध्यक्ष र नेपालका अर्थमन्त्रीबीच भएको यो पहिलो प्रत्यक्ष द्विपक्षीय भेटवार्ता हो।
भेटवार्तामा विश्व बैंकका उपाध्यक्षद्वय जहानस जट र जुनेद अहमदलगायत उच्च पदस्थ अधिकारीहरूको सहभागिता थियो।















