इन्धनको मूल्य आकाशिँदा विद्युतीय कारतर्फ आकर्षण : बेलायती बजारमा इभी बिक्री उच्च
काठमाडौँ। विश्वभर पेट्रोलियम पदार्थको मूल्यमा भइरहेको लगातारको वृद्धिका कारण सवारी साधन प्रयोगकर्ताहरूले वैकल्पिक ऊर्जातर्फ चासो दिन थालेका छन्। पारम्परिक इन्धनका गाडी चलाउन महँगो पर्दै गएपछि विशेष गरी युरोपेली देशहरूमा उपभोक्ताहरूको आकर्षण तीव्र गतिमा विद्युतीय कार (इभी) तथा पर्यावरणमैत्री सवारी साधनहरूतर्फ केन्द्रित हुन थालेको हो।
जलवायु परिवर्तनका मुद्दाहरूमा विश्वव्यापी रूपमा बढ्दो सचेतना र सरकारहरूले इन्धनबाट चल्ने सवारी साधनको प्रयोगमा लगाउँदै गरेका प्रतिबन्ध तथा कानुनी नियमहरूले पनि उपभोक्ताहरूलाई इभी खरिद गर्न बाध्य र उत्साहित दुवै बनाउँदै लगिरहेको छ।
बेलायतमा नयाँ कार बिक्री ७ वर्षयताकै उच्च
यसैबीच बेलायतमा नयाँ कारको बिक्री सेप्टेम्बरमा उल्लेख्य रूपमा बढेको छ। नयाँ कार दर्ता लगातार १० महिनादेखि बढिरहेको छ। सेप्टेम्बरको बिक्री सन् २०१७ यताकै सबैभन्दा धेरै भएको छ।
सेप्टेम्बरमा बेलायतमा ३ लाख ५० हजार ५३६ नयाँ कार दर्ता भए। यो अघिल्लो वर्षको सेप्टेम्बरभन्दा १२ प्रतिशत बढी हो। विद्युतीय र अन्य विद्युतीकृत कारको बिक्रीले बजार बढाउन ठूलो भूमिका खेलेको छ। यस्ता कारले कुल नयाँ कार दर्ताको ५८.४ प्रतिशत हिस्सा ओगटेका छन्।
प्लग–इन हाइब्रिड कारको दर्ता ५५.५ प्रतिशतले बढेको छ। त्यस्तै, ब्याट्रीबाट चल्ने विद्युतीय कारको बिक्री ३६.३ प्रतिशतले बढेर ९९ हजार २०१ थान पुगेको छ।
बेलायतमा अहिले विद्युतीय कारका १७८ वटा नमुना बिक्रीका लागि उपलब्ध छन्। सन् २०२३ यता यस्ता कारका विकल्प दोब्बरभन्दा बढी भएका छन्। बढ्दो कारका विकल्प र महँगो इन्धनका कारण मानिसहरू विद्युतीय कारतर्फ आकर्षित भइरहेको बताइएको छ।















