८ कार्तिक २०८३, आइतबार

खल्तीमा पैसा टिक्दैन? अपनाउनुहोस् यी स्मार्ट सूत्र



कमाउने बेला छ, तर हातमा पैसा कहिल्यै टिक्दैन? चिन्ता नलिनुहोस्! दैनिक जीवनका साना बानीमा सुधार र स्पष्ट वित्तीय लक्ष्यको सास्तीबाट मुक्ति पाउनुहोस्। जान्नुहोस्, व्यक्तिगत रकम व्यवस्थापनका ११ सुनौलो नियम जसले तपाईंको भविष्य सुरक्षित मात्र बनाउँदैन, परिवारमा खुसी पनि छाउनेछ।

काठमाडाैँ । दैनिक जीवनमा हामी बिहान उठेदेखि बेलुकासम्म अनेकौँ वस्तुहरूको खरिदबिक्री गरिरहेका हुन्छौं। तर, के हामीले कहिल्यै सोचेका छौँ- हाम्रो भविष्य कति सुरक्षित छ?

भविष्यप्रति सचेत भएर आफ्नो आम्दानी र खर्चको सन्तुलन मिलाउनु नै वास्तविक ‘व्यक्तिगत रकम व्यवस्थापन’ हो।

आज अधिकांश मानिसहरूको गुनासो हुन्छ, “हातमा पैसा त आउँछ, तर कहाँ जान्छ पत्तै पाइँदैन।” यसको मुख्य कारण हो- योजनाबिनाको खर्च र बढ्दो खर्चालु जीवनशैली।

यदि तपाईं पनि आफ्नो आर्थिक अवस्थालाई सुदृढ बनाउन चाहनुहुन्छ भने, अब ढिलाइ गर्नु हुँदैन। व्यक्तिगत वित्तीय व्यवस्थापनका ती अचूक सूत्रहरू, जसले तपाईंको जीवन शैली बदल्न सक्छ।

किन जरुरी छ व्यक्तिगत रकम व्यवस्थापन?

जिन्दगीमा पैसा नै सबथाेक हाेइन । तर पनि धेरै कुराको समाधान पैसाबाटै हुन्छ। त्यसैले पैसा सर्वेसर्वा त हाेइन, तर महत्वपूर्ण चाहीँ हाे । त्यसैले पैसकाे उपयाेग कसरी गर्ने भनेर एउटा व्यवस्थित ढाँचा बनाउनु जरूरी हुन्छ । व्यक्तिगत रकम व्यवस्थापन गर्न पर्नुका मुख्य कारणहरू यस्ता छन्:

  • आफ्ना सपना र आवश्यकता पूरा गर्न: भविष्यमा चाहिने ठूला खर्च वा इच्छा गरिएका वस्तु खरिद गर्न प्रशस्त पैसा जम्मा गर्न सकिन्छ।
  • परिवारको सुरक्षा: आफ्नो र आफ्नो परिवारको आर्थिक संकटका बेला सहजै हेरचाह गर्न यो अति आवश्यक छ।
  • आर्थिक स्वतन्त्रता: “पैसा नभएको कारणले” आफूले चाहेको वस्तु वा सेवाबाट वञ्चित हुनुपर्ने बाध्यताको अन्त्य हुन्छ।

व्यक्तिगत वित्तीय व्यवस्थापनका ११ नियम

आफ्नो अर्थतन्त्र बलियो बनाउन यी नियमहरू पालना गर्नैपर्छ:

१. वित्तीय लक्ष्यहरू निर्धारण गर्ने: भविष्यको स्पष्ट खाका बनाउने। कहाँ कति खर्च गर्ने भनेर याेजना बनाउने ।

२. आफ्नो स्रोत र साधनमा बाँच्ने: देखासिकी गरेर अनावश्यक ऋणको भारी नबोक्ने। “घाँटी हेरेर हाड निल्न” सिक्ने ।

३. ऋणको सदुपयोग र समयमै भुक्तानी: ऋण लिँदा सही ठाउँमा प्रयोग गर्ने र भाखा कहिल्यै ननाघेको राम्रो हुन्छ। समयमै ऋण तिर्ने, “बाेलिकाे पक्का” बन्ने ।

४. खर्च गर्न सतर्कता अपनाउने: पैसा खर्च गर्नुअघि एकपटक गम्भीर भएर सोच्ने। के त्याे सामान किन्नै पर्ने हाे ? के त्याे चिज खानै पर्ने हाे ? के त्यहाँ जानै पर्ने हाे ? के त्याे खर्च गर्नै पर्ने हाे ? नगरे के हुन्छ ? एक पल्ट मनमनै प्रश्न गरी जवाफ खाेज्ने ।

५. लगानी र प्रतिफलको तुलना गर्ने: आफूले गरेको लगानीबाट कति फाइदा भयो हिसाब राख्ने। नाफा नाेक्सानकाे हिसाब नगरी भावुक बन्ने काेसिस नगर्ने ।

६. समय र चक्रवृद्धि ब्याजको असर बुझ्ने: समयसँगै पैसाको मूल्य घट्ने र चक्रवृद्धि ब्याजले कसरी असर पार्छ भन्ने हेक्का राख्ने।

७. जोखिम विविधीकरण गर्ने: लगानी गर्दा जोखिमको आँकलन गरी आफ्नो सम्पत्तिलाई विभिन्न क्षेत्रमा विविधीकरण गर्ने।

८. बचत गर्ने बानी बसाल्ने: सानै भए पनि नियमित रूपमा बचत गर्ने संस्कार बढाउने।

पैसा व्यवस्थापन गर्ने बानी कसरी बसाल्ने?

  • वित्तीय लक्ष्य बनाउनुहोस्: ५ वर्षपछि घर बनाउने योजना होस् वा अर्को महिना तिर्नुपर्ने किस्ता, यसको पूर्व अनुमान गरेर तालिका बनाउनुहोस्। यसले तपाईंलाई आजको भोलि नगद जोहो गर्ने झन्झटबाट बचाउँछ।
  • पारिवारिक छलफल गर्नुहोस्: आगामी महिना परिवारलाई चाहिने वस्तुहरूको सूची बनाउनुहोस् र अनुमानित खर्चको अनुमान लगाउनुहोस्। चर्को ब्याजमा ऋण लिएर कहिल्यै लक्ष्य नपुराउनुहोस्, यसले मनको शान्ति खोस्छ।
  • नियमित समीक्षा गर्नुहोस्: हप्ता वा दस दिनमा आफ्नो आम्दानी र खर्चको तालिका दाँज्नुहोस्। यदि कुनै लक्ष्य पूरा भएन भने निराश नभई आफ्नो आँट र जाँगर बढाउनुहोस्।

अत्यधिक खर्च गर्ने बानीबाट कसरी मुक्ति पाउने?

अहिलेको महँगी र आधुनिक जीवनशैलीमा धेरैको साझा समस्या अत्यधिक खर्च हो। यसलाई नियन्त्रण गर्न यी उपाय अपनाउन सकिन्छ:

  • प्रतिज्ञा लिनुहोस्: आफ्नो खर्च गर्ने बानी सुधार गर्न आफैँसँग दृढ संकल्प लिनुहोस्।
  • बजारमा खोजमेल गर्नुहोस्: कुनैपनि अत्यावश्यक वस्तु किन्दा बजारमा राम्ररी बुझेर मात्र किन्नुभयो भने अनावश्यक महँगीबाट बच्न सकिन्छ।
  • डिजिटल र विलासी बानी कटौती: सेलफोनमा अनावश्यक कुराकानी घटाउने, बालबालिकालाई अनावश्यक खर्च गर्ने बानीबाट टाढा राख्ने र लामो समयसम्म टिक्ने टिकाऊ वस्तुमा लगानी गर्ने बानीले ठूलो रकम बचाउँछ।
  • पारिवारिक एकता र तर्क, झगडा होइन: परिवारका ठूला आर्थिक लक्ष्यहरूमा कसको कति योगदान हुने भन्ने विषयमा वादविवाद होइन, अर्थपूर्ण संवाद र छलफल गर्नुहोस्।

पैसा कमाउनु एउटा कला हो भने त्यसलाई जोगाउनु र सदुपयोग गर्नु अनुशासन हो। आजैदेखि सानो-सानो बचत र योजनाबद्ध खर्चको बानी बसाल्नुहोस्, भविष्य आफैँ उज्ज्वल बन्नेछ!