२० आश्विन २०८३, मंगलबार

ब्याजदर घटेपछि घरजग्गा कारोबार ५ वर्षकै उच्च, उपत्यकाका काँठ क्षेत्रमा बढ्यो क्रेताको चासो



पाँच वर्षको सुस्ती चिर्दै घरजग्गा कारोबारमा उत्साहजनक छलाङ, भदौमा ३७ हजारभन्दा बढी लिखत पारित हुँदा बजार क्रमशः लयमा फर्किने संकेत।

काठमाडाैँ । पछिल्लो पाँच वर्षदेखि लगातार दबाबमा रहेको नेपाली घरजग्गा बजारले बिस्तारै आफ्नो लय समात्न थालेको छ। विगतका वर्षहरूको सुस्तीलाई चिर्दै भदौ महिनामा कारोबारको ग्राफ उकालो लागेको छ।

गत वर्षको तुलनामा यस अवधिमा घरजग्गा कारोबारमा करिब छत्तीस प्रतिशतले वृद्धि भएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार यस वर्षको भदौमा देशभर ३७ हजार चार सय सत्तरीभन्दा बढी घरजग्गाका लिखत पारित भएका छन्।

यो संख्या पछिल्ला पाँच वर्षका भदौ महिनाहरूमध्ये सबैभन्दा धेरै हो। गत वर्षको भदौमा २७ हजार चार सय ९४ लिखत मात्र पारित भएका थिए।

कारोबारमा देखिएको यो वृद्धिलाई व्यवसायीहरूले बजार क्रमशः चलायमान हुन थालेको शुभ संकेतका रूपमा अर्थ्याएका छन्। यद्यपि, बजार अझै पनि कोभिडअघिको वा सन् २०२१ को उच्च विन्दुमा भने पुगिसकेको छैन। २०७८ सालको भदौमा करिब ७० हजार घरजग्गा किनबेच भएका थिए। हालको कारोबार त्यसको तुलनामा लगभग आधा मात्र हो।

तर, २०७९ देखि २०८२ सालसम्मका भदौ महिनाहरूमा कारोबार २७ हजारदेखि ३५ हजारको हाराहारीमा मात्र सीमित रहेको थियो। यस वर्ष देखिएको उकालो ग्राफले घरजग्गा व्यवसायीमा नयाँ किसिमको उत्साह जगाएको छ।

कित्ताकाटको उल्झन र स्थानीय तहको सुस्तता

बजार केही चलायमान बने पनि नीतिगत जटिलताहरू भने अझै पूर्ण रूपमा हल भइसकेका छैनन्। नेपाल जग्गा तथा आवास विकास महासंघका पदाधिकारीहरूका अनुसार कित्ताकाटको समस्या ज्युँका त्युँ रहेसम्म यो सुधार दिगो हुन सक्नेमा शंका छ।

हालको कानुनी व्यवस्था अनुसार वर्षमा एकपटक मात्र कित्ताकाट गर्न पाइन्छ। नयाँ आर्थिक वर्ष सुरु भएपछि साता र महिनाहरूमा केही समय कारोबार बढे पनि दीर्घकालीन रूपमा जग्गा कारोबारलाई सहज बनाउन कित्ताकाटको गाँठो फुकाउनै पर्ने देखिन्छ।

नापी विभागका अनुसार देशभरका सात सय त्रिपन्न स्थानीय तहमध्ये चार सय दस वटाले मात्र जग्गाको वर्गीकरण कार्य टुङ्ग्याएका छन्। अझै पनि तीन सय त्रिपन्न स्थानीय तहले वर्गीकरणको काम पूरा गरेका छैनन्।

विशेषगरी सहरी र बजारउन्मुख क्षेत्रमा कृषि र गैरकृषि भूमि छुट्याउने विषयमा विवाद हुँदा वर्गीकरणको काम अड्किएको छ। जसले गर्दा ती क्षेत्रमा वर्षमा एकपटक मात्र कित्ताकाट गर्न पाइने बाध्यता कायम छ र कारोबारको दायरा पनि सीमित बन्न पुगेको छ।

स्थिर मूल्यले बढायो उपभोक्ताको रुचि

पछिल्लो समय घरजग्गा कारोबारतर्फ क्रेताहरूको आकर्षण बढ्नुको पछाडि बैंक तथा वित्तीय संस्थाको घटेको ब्याजदर र स्थिर रहेको जग्गाको मूल्य प्रमुख कारण मानिएको छ। विगत पाँच वर्षदेखि लगातार घट्दो क्रममा रहेको घरजग्गाको मूल्य पछिल्ला दुई-तीन वर्षयता भने स्थिर देखिएको छ।

यसैबीच, बैंकहरूको ब्याजदर पनि घटेर लगभग सस्तो विन्दुमा पुगेको छ। यसले ऋणको दबाबमा रहेका पुराना कारोबारीहरूलाई ठूलै राहत दिएको छ भने बाध्यात्मक बिक्रीको अवस्थालाई पनि कम गराएको छ।

मूल्य अब अझै घट्छ भन्ने प्रतीक्षामा रहेका अन्तिम खरिदकर्ताहरू पनि अब बजारमा सक्रिय हुन थालेका छन्। बजारमा मूल्य थप तल जाने सम्भावना नदेखिएपछि र बैंकको ब्याजदर सहज भएपछि कित्ता काट र खरिदबिक्रीमा चासो बढेको हो।

व्यवसायीहरूका अनुसार ठूला विकासकर्ताभन्दा पनि साना घरजग्गा कारोबारीहरूमा अहिले बढी सक्रियता देखिएको छ। एउटै जग्गा अवलोकन गर्न धेरै मानिस पुग्न थालेका कारण केही स्थानमा बैना गर्नेहरूले प्राथमिकता पाउने अवस्था समेत बन्न थालेको छ।

काँठ क्षेत्रमा बढी चहलपहल

अहिलेको घरजग्गा कारोबार मुख्यतया काठमाडौं उपत्यकाभन्दा बाहिर र उपत्यकाभित्र पनि चक्रपथ बाहिरका काँठ क्षेत्रमा केन्द्रित रहेको छ। प्रतिआना १० लाखदेखि २० लाख रुपैयाँसम्म पर्ने काँठ क्षेत्रका जग्गाहरूमा मानिसहरूको विशेष चहलपहल बढेको छ।

त्यसैगरी, २० लाखदेखि ३० लाख रुपैयाँसम्म मूल्य पर्ने क्षेत्रमा पनि खरिदकर्ताको चासो उस्तै छ। चक्रपथभित्र जग्गाको मूल्य निकै आकाशिएको र कम मूल्यमा पाउन मुस्किल भएका कारण व्यवसायी र आम उपभोक्ता दुवै तुलनात्मक रूपमा सस्तो र सुलभ क्षेत्रतर्फ आकर्षित भएका छन्।

भदौ महिनामा ३७ हजारभन्दा बढी लिखत पारित भएकोमा असोजको पहिलो पन्ध्र दिनमै कारोबार बीस हजार नाघिसकेको छ। यही गति कायम रहेमा असोज महिनाभरमा कारोबार ४० हजारको हाराहारीमा पुग्ने अनुमान गरिएको छ।

यद्यपि, भूमि व्यवस्थापन विभागका अधिकारीहरू कारोबारको संख्या ह्वात्तै बढ्दैमा बजार पूर्ण रूपमा स्वस्थ भइसकेको मान्न तयार छैनन्। छोटो अवधिएमा धेरै नाफा कमाउने उद्देश्यले सट्टेबाजी गर्ने प्रवृत्ति फेरि बढेमा बजार जोखिममा पर्न सक्ने चेतावनी पनि विशेषज्ञहरूले दिएका छन्।