आज दिनभर झरी, कहिलेदेखि हुन्छ मौसममा सुधार ?
काठमाडौँ। देशका अधिकांश स्थानमा आज दिनभर वर्षा हुने र यो क्रम शुक्रवारसम्म जारी रहने भएको छ। शनिवारदेखि मौसममा क्रमशः सुधार हुने नेपाल मौसम विज्ञान विभागले बताएको हो।
हाल पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको संयुक्त प्रभावका कारण देशका अधिकांश स्थानमा वर्षा भइरहेको र आज दिनभर झरी पर्ने मौसमविद् रोजन लामिछानेले जानकारी दिए।
उनले भने, “अधिकांश स्थानमा अहिले मेघगर्जनसहित वर्षा भइरहेको छ । आज दिनभरी वर्षा हुने र रातिदेखि केही सुधार हुनेछ भने शुक्रबार दिउँसो पुनः पानी पर्ने सम्भावना छ । शनिवारदेखि भने मौसममा सुधार आउनेछ।”
मौसम विभागका अनुसार आज पूर्वी क्षेत्रमा तुलनात्मक रूपमा कम वर्षा भए पनि बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज सबैभन्दा धेरै वर्षा अर्घाखाँचीको सिमलपानी केन्द्रमा ५८ दशमलव २ मिलिमिटर मापन भएको छ । यो वर्षा भारी हो ।
हाल काठमाडौँ उपत्यकासहित बागमती, लुम्बिनी गण्डकी प्रदेशका, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।

















