२५ आश्विन २०८३, आइतबार

बडादशैँको उल्लास: आज घटस्थापना, घर–घरमा विधिपूर्वक राखिँदै छ जमरा



बडादशैँको पहिलो दिन आज विधिपूर्वक घटस्थापना गरी घर–घरमा जमरा राखिँदै छ भने उपत्यकासहित देशैभरका शक्तिपीठहरूमा माता दुर्गाको आराधना गर्ने भक्तजनहरूको घुइँचो लागेको छ।

काठमाडाैँ । शरद ऋतुको आगमनसँगै प्रकृतिका हरियाली छाएको छ, गाउँघरदेखि सहरसम्म दसैँको बेग्लै सुवास र उमङ्ग फैलिएको छ। नेपालीहरूको महान् सांस्कृतिक पर्व बडादसैँ आजदेखि आधिकारिक रूपमा सुरु भएको छ।

नेपाली जनजीवनमा विशेष महत्त्व राख्ने यस पर्वको पहिलो दिन आज बिहानैदेखि घर–घरमा विधिपूर्वक दियो, कलश एवम् गणेशसहित ‘देवी’ स्थापना गरी ‘घटस्थापना’ गरिँदै छ।

हिन्दू सनातन संस्कृति अनुसार घरका पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गा भवानीको आह्वान गरी नौ दिनसम्म चल्ने विशेष पूजा आराधनाको आरम्भ गरिन्छ।

आज बिहानै नित्यकर्म समाप्त गरी नजिकैको पवित्र नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पवित्र पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ रोप्ने गरिन्छ। लोकसंस्कृतिमा यसलाई ‘जमरा राख्ने’ अति पवित्र कार्यका रूपमा लिइन्छ।

स्थान अनुसार जाैमा कसैले गहुँ, कसैले मकै त कसैले दुबै अन्नका बीज मिसाएर जमरा छर्ने गर्छन् । यो जमराले दशैँको टीकाको दिन विशेष आशीर्वाद र प्रसादको रूपमा अर्थ राख्छ।

शुभ साइतः ११ बजेर ४७ मिनेट

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज घटस्थापनाका लागि बिहान ११ बजेर ४७ मिनेटको समयलाई उत्तम साइत भनेर निर्धारण गरेको थियो। राजकीय जमरा घरहरूमा सोही साइतमा घटस्थपना गर्ने चलन छ । तर सबैले जमरा राख्न पाैने १२ बजेसम्म कुर्दैनन् र कुर्न बाध्यता पनि छैन ।

विहान जमरा राखेर मात्रै खाना खानेहरूले प्रातःकालकाे सूर्याेदयपश्चात् ङटस्थपना गर्छन् । घरघरमा शङ्ख, डमरू, मृदंग बजाएर र कतिपयले भरूवा बन्दुक पड्काएर शक्तिकी अधिष्ठात्री महाकालीकाे स्वागत गर्छन् । याे उत्सव नेपाली सेनाले पनि विशेष रूपमा मनाउँछ ।

तथापी, यस साल घटस्थापनाकाे दिन चित्रा नक्षत्र र वैधृति याेग परेका कारण घटस्थापना गर्नुअघि यी नक्षत्र र याेगकाे शान्ति गरेरमात्रै घटस्थापना गर्नु शास्त्रसम्मत रहेकाे समितिले प्रकाशित गरेकाे साइत तालिकामा उल्लेख छ ।

यसैबीच, कतिपय नेपाली परिवारमा शुक्लपक्षको चन्द्रोदय भएपछि मात्रै जमरा राख्ने आफ्नै किसिमको मौलिक परम्परा पनि छ। यसरी राखिने जमरा ९ रातमा पूर्ण रूपमा तयार हुने भएकाले यसैलाई नवरात्र मान्नेहरू पनि उत्तिकै छन्। उनीहरूले भने द्वीतीय तिथीको साँझ आकाशमा चन्द्रमा उदाएपछि मात्रै ‘जून हेरेर’ जमरा राख्ने गर्दछन्।

यसरी चन्द्राेदयपश्चात् जमरा राख्नेहरूका लागि भाेलि २६ गते जमरा राख्ने साइत छ । यद्यपि, जमरा जहिले राखिए पनि आजैदेखि नवरात्रको विधिवत आरम्भ भइसकेको छ।

नवदुर्गा पूजाका लागि चहलपहल

आजदेखि नौ दिनसम्म देवीको आराधना गरी जमरा पुजिन्छ भने दशाैँ दिन अर्थात् विजयादशमीमा नवदुर्गा भवानीकाे प्रसाद मानेर त्यही जमरा लगाउने र आशीर्वाद लिने गरिन्छ।

नवरात्र भनेकाे रातमा विशेष पूजा गर्ने शाक्त परम्पराकाे पद्धति हाे । नवरात्रको यो पवित्र अवधिमा देवीका विभिन्न नौ वटा स्वरूपहरूको विशेष पूजा गरिन्छ:

  • पहिलो दिन: शैलपुत्री
  • दोस्रो दिन: ब्रह्मचारिणी
  • तेस्रो दिन: चन्द्रघण्टा
  • चौथो दिन: कुष्माण्डा
  • पाँचौँ दिन: स्कन्दमाता
  • छैटौँ दिन: कात्यायनी
  • सातौँ दिन: कालरात्रि
  • आठौँ दिन: महागौरी
  • नवौँ दिन: सिद्धिदात्री

माता आदिशक्ति महामायाका यी नौ वटा स्वरूपलाई नै ‘नवदुर्गा’ भनिएको छ।

धेरैले सामूहिक रूपमा टोलटोलमा तथा देवीका प्रसिद्ध मन्दिरहरूमा समेत घटस्थापना गरी जमरा राख्ने गर्दछन्। आजदेखि नौ दिनसम्म महाकाली, महालक्ष्मी र महासरस्वती माताको विशेष आराधना गर्ने शास्त्रीय विधान छ।

शक्तिपीठहरूमा दर्शनार्थीको घुइँचो

घटस्थापनाको यो दिनसँगै उपत्यका र देशभरका देवी मन्दिर एवम् शक्तिपीठहरूमा दर्शनार्थीहरूको विशेष घुइँचो लाग्ने गर्दछ।

राजधानीको प्रसिद्ध गुहेश्वरी, दक्षिणकाली, भद्रकालीसहित यहाँका चार भगवती (पलाञ्चोक भगवती, नक्साल भगवती, शोभा भगवती र नालास्थित उग्रचण्डी भगवती), काठमाडौँ र भक्तपुरका तुलजा भवानीका साथै देशभरका विभिन्न देवी मन्दिरहरूमा बिहानैदेखि भक्तजनहरू पुगेर दर्शन गर्ने र परिक्रमा गर्ने क्रम जारी छ।

यसका साथै, हाम्रो सांस्कृतिक इतिहास बोकेका गोरखा दरबार, नुवाकोट दरबार र हनुमानढोका दरबारजस्ता शाहकालीन ऐतिहासिक दरबारहरूमा पनि परम्परागत विधिविधान र निष्ठापूर्वक जमरा राख्ने चलन सदियाैँदेखि चल्दै आएको छ, जसले दशैँको ऐतिहासिक र राजकीय महिमालाई अझ प्रगाढ बनाएको छ।