विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा नुवाकोटमा प्रभातफेरि कार्यक्रम सम्पन्न
नुवाकोट। विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा नुवाकोटमा प्रभातफेरि कार्यक्रम सम्पन्न भएकाे छ। नेपाल स्टक हाउस प्रालि (ब्रोकर नम्बर १४) को आयोजना तथा बैंक, वित्तीय संस्था एवं बीमा कर्मचारी क्लब, नुवाकोटको सह-आयोजनामा यो संयुक्त कार्यक्रम सञ्चालन गरिएको हो।
‘आफ्नो भविष्यमा लगानी आजै सुरक्षित गर्नुहोस्’ भन्ने मूल नाराका साथ सुरू भएकाे उक्त प्रभातफेरि कार्यक्रमको समुद्घाटन नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले गरेका थिए।
सर्वसाधारणमा सेयर बजार र वित्तीय साक्षरता जगाउने उद्देश्यले आयोजित यस कार्यक्रममा नुवाकोटमा रहेका विभिन्न बैंक, वित्तीय संस्था, बीमा कम्पनी तथा इन्भेस्टमेन्ट कम्पनीहरूका कर्मचारी एवं प्रतिनिधिहरूको उत्साहजनक र सक्रिय उपस्थिति रहेको थियो।
वित्तीय साक्षरता जगाउनुका साथै, भर्खरै आएको विनाशकारी बाढीका कारण मारमा परेका स्थानीय लगानीकर्ताहरूलाई पुनः आफ्नो व्यापार व्यवसायमा फर्किएर काम गर्न थप हौसला र उत्प्रेरणा मिलोस् भन्ने विशेष उद्देश्यसहित यस कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएका छन्।















