२२ आश्विन २०८३, बिहिबार

लगातार दोहोरो अंकमा लाभांश दिँदै सांग्रिला डेभलपमेन्ट बैंक, कस्तो छ पछिल्ला वर्षको लाभांश वितरण ?



काठमाडौँ। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको २२औँ वार्षिक साधारणसभा बिहीबार काठमाडौँको गैरीधारास्थित एलिस रिसेप्सनमा सम्पन्न भएसँगै आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित लाभांश वितरण हुने भएको हो।

साधारणसभाले बैंकको हाल कायम चुक्ता पुँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५०५ रुपैयाँको ४ प्रतिशत अर्थात् १४ करोड ९३ लाख ६२ हजार ७४० रुपैयाँ बराबरको बोनस सेयर तथा ६.५२६३ प्रतिशत अर्थात् २४ करोड ३६ लाख ९७ हजार १०२ रुपैयाँ बराबरको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको हो। कुल लाभांश रकम करिब ३९ करोड ३० लाख रुपैयाँ बराबर हुन्छ।

बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी बढेर ३ अर्ब ८८ करोड ३४ लाख ३१ हजार २४५ रुपैयाँ ७५ पैसा पुग्नेछ। पछिल्लो समय बैंकको नाफा, खुद ब्याज आम्दानी तथा सञ्चालन नाफामा सुधार देखिएसँगै लाभांश वितरण क्षमता पनि बलियो बनेको देखिन्छ।

२२औँ वार्षिक साधारणसभाबाट नयाँ सञ्चालक समिति

साधारणसभाले आगामी चार वर्षका लागि ६ सदस्यीय नयाँ सञ्चालक समिति समेत निर्विरोध चयन गरेको छ। संस्थापक सेयरधनीका तर्फबाट उज्ज्वल सत्याल, सुशीलकाजी बानियाँ र श्याम कुमार शर्मा तथा सर्वसाधारण सेयरधनीका तर्फबाट विष्णु प्रसाद ढकाल, कृष्ण प्रसाद रेग्मी र भावना अग्रवाल सञ्चालकमा चयन भएका छन्।

नवनिर्वाचित सञ्चालक समितिको बैठकले उज्ज्वल सत्याललाई सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ।

साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण, लेखापरीक्षक नियुक्ति, प्रबन्धपत्र संशोधन, मर्जर तथा प्राप्तिलगायतका प्रस्तावसमेत पारित गरेको छ।

यस्तो छ पछिल्लो ५ वर्षको लाभांश वितरण

सांग्रिला डेभलपमेन्ट बैंकको पछिल्ला पाँच आर्थिक वर्षको लाभांश इतिहास हेर्दा बैंकले बोनस सेयरसँगै नगद लाभांशलाई समेत निरन्तरता दिएको देखिन्छ। आर्थिक वर्ष २०७८/७९ मा बैंकले ८.५३ प्रतिशत बोनस सेयर र ०.४५ प्रतिशत नगद लाभांश गरी कुल ८.९८ प्रतिशत लाभांश वितरण गरेको थियो। त्यसपछिको आर्थिक वर्ष २०७९/८० मा ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश गरी कुल ५.२६ प्रतिशत लाभांश दिएको थियो।

त्यसैगरी आर्थिक वर्ष २०८०/८१ मा बैंकको लाभांश ३.६५ प्रतिशत बोनस सेयर र ०.१९ प्रतिशत नगद लाभांश गरी कुल ३.८४ प्रतिशत मा सीमित भएको थियो। आर्थिक वर्ष २०८१/८२ मा भने बैंकले लाभांशमा सुधार गर्दै ५ प्रतिशत बोनस सेयर र ५.३६ प्रतिशत नगद लाभांश गरी कुल १०.३६ प्रतिशत वितरण गरेको थियो।

यसैबीच आर्थिक वर्ष २०८२/८३ का लागि बैंकले ४ प्रतिशत बोनस सेयर र ६.५२६३ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६३ प्रतिशत लाभांश पारित गरेको छ। यसरी हेर्दा बैंकको लाभांश पछिल्ला दुई वर्षमा उल्लेख्य रूपमा बढेको देखिन्छ।

आम नागरिकको प्रगाढ विश्वास र भरोसाले गर्दा साग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएम मार्फत सेवा प्रवाह गर्दै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको सांग्रिला डेभलपमेन्ट बैंक, आगामी दिनमा सेवालाई अझ विस्तार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरेको छ ।